१० पढ्दै, छाड्दै

प्रकाशित मिति :2018-03-19 05:00:14

काठमाडौँ — सरकारले दुई वर्षदेखि कक्षा १० मा अनुत्तीर्ण हुने प्रणाली खारेज गरेर ग्रेडिङबाट नतिजा सार्वजनिक गर्न सुरु गर्‍यो ।

सरकारको नीतिगत कमजोरीका कारण पछिल्ला दुई वर्षमा परीक्षामा सहभागी विद्यार्थी संख्याको झन्डै २० प्रतिशत कक्षा १० भन्दा माथिल्लो कक्षामा प्रवेशै गर्न सकेका छैनन् । उनीहरू कहाँ गए ? उनीहरूको अध्ययन कस्तो हुँदैछ भन्ने अध्ययनसमेत हुन सकेको छैन । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले भर्ना नभएका विद्यार्थी कहाँ गए भनेर अध्ययन गर्नुपर्ने देखिएको बताए । ‘विगतमा भर्ना हुने योग्यता नपुगेपछि एक्जाम्टेडमा एसएलसी दिन आउँथे । दुई वर्षयता एक्जाम्टेडमा परीक्षा दिनेको संख्या पनि कम छ,’ उनले भने, ‘कक्षा १० पछि बाहिरिएका विद्यार्थी कहाँ छन् ? के गर्दै छन् ? किन बाहिरिए ? खोज्नुपर्ने जरुरी देखियो ।’शिक्षामन्त्रीदेखि कर्मचारीसम्मले यो प्रणालीमा कोही पनि फेल नहुने हल्ला चलाए । परीक्षा दिएका सबैले पढ्न पाउने प्रचार गर्न पनि भ्याए । तर, त्यसयता विद्यार्थी र शिक्षक दुवैमा पठनपाठनप्रति विगतमा भन्दा बढी ‘अल्छीपन’ देखिएको छ । त्यसको असरसमेत देखिन थालेको छ ।

विगतमा हरेक विषयमा ३२ अंक ल्याएपछि मात्रै माथिल्लो कक्षामा भर्ना हुने व्यवस्था थियो । फेल हुने विद्यार्थी मौका र एक्जाम्टेड परीक्षामा मेहनत गरेर पास हुन्थे । अनि अर्को कक्षा भर्ना हुन्थे । ग्रेडिङ भएपछि नपढे पनि ११ भर्ना हुन पाउने भन्ने प्रचारले विद्यार्थीमा गलत मनस्थिति विकास भएको विज्ञहरू बताउँछन् । १० कक्षामा परीक्षा दिएकामध्ये हरेक वर्ष आधा लाख विद्यार्थी कक्षा ११ मा भर्ना नभएको पाइएको छ । २०७२ मा परीक्षा दिएकामध्ये ९.७२ र गत वर्ष परीक्षा दिएकामध्ये ९.८२ प्रतिशत विद्यार्थी १० कक्षाबाटै बाहिरिए । परीक्षा नियन्त्रण कार्यालयका अनुसार ०७२ को १० कक्षाको परीक्षामा ४ लाख ५२ हजार ८ सय ८१ विद्यार्थी सहभागी थिए । तीमध्ये कक्षा ११ मा ३ लाख ५१ हजार ९ सय ६२ जना भर्ना भए ।

त्यही वर्ष ३७ हजार ९ सय ५१ जना विद्यार्थी सीटीईभीटीमा प्राविधिक शिक्षा अध्ययन गर्न भर्ना भएको तथ्यांक छ । साधारण र प्राविधिक धार दुवैमा गरी ०७३ मा ३ लाख ८९ हजार विद्यार्थी मात्रै भर्ना भए । त्यस वर्ष परीक्षा दिएकामध्ये ०७३ मा एक्जाम्टेडमा १८ हजार ९ सय ९ विद्यार्थी सहभागी भए । दुवै धारमा भर्ना हुने र एक्जाम्टेड दिनेको संख्या जोडदा ४४ हजार ५३ विद्यार्थीले अघिल्लो कक्षामा प्रवेश नपाएको देखिन्छ ।

त्यस्तै, गत वर्ष परीक्षा दिएकामध्ये ४५ हजार ६ सय ३१ विद्यार्थी कक्षा १० बाटै बाहिरिएका छन् । ०७३ को एसईईमा ४ लाख ६४ हजार विद्यार्थीले परीक्षा दिएकोमा राष्ट्रिय परीक्षा बोर्डमा कक्षा ११ पढ्न ३ लाख ५४ हजारको मात्रै रजिस्ट्रेसन भएको छ । सीटीईभीटीतर्फ ४० हजार भर्ना भए । गत वर्ष परीक्षा दिएकामध्ये यसपालि २४ हजार ५१ विद्यार्थीले एक्जाम्टेड परीक्षा दिँदै छन् । यो वर्ष पनि १० कक्षामा परीक्षा दिएकामध्ये ४५ हजार ६ सय ४१ विद्यार्थी अध्ययन गर्न गएनन् ।

‘सिकाइ कमजोर भएकालाई पनि सरकारले फेल उल्लेख नभएको सर्टिफिकेट भिडाएको छ । तर, पढ्न जाँदा भर्नाको मापदण्ड पुग्दैन,’ शिक्षाविद् प्रा. मनप्रसाद वाग्लेले भने, ‘फेरि परीक्षा दिऊँ, सुधार गर्न सक्ने हिम्मत हुँदैन । सरकारले कमजोर विद्यार्थीलाई थप पीडित बनायो ।’ राज्यले फेल होइन भन्दा पनि पढ्न जाने योग्यता नपुगेर विद्यार्थी अलपत्र परेको उनले बताए । यस्ता विद्यार्थी बिरक्तिएर धेरैजसो खाडीतिर गएको हुन सक्ने उनले अनुमान गरे । ‘स्वदेशमै हुने पनि समाजमा अवसर नपाएर विकृत कार्यमा लाग्न सक्छन्,’ उनले भने । १० कक्षाबाट अगाडि जाने ढोका बन्द गर्नुको मुख्य कारण सरकारले ल्याएको तयारीबिनाको ग्रेडिङ भएको उनको आरोप छ ।

‘पहिला हरेक विषयमा ३२ नम्बर ल्याउनै पथ्र्यो । विद्यार्थीले मेहनत गर्थे । फेल भए अर्को वर्ष मेहनत गरेर पास गर्थे । विद्यार्थीबीच प्रतिस्पर्धा हुन्थ्यो,’ उनले भने, ‘अहिले जसरी नि भर्ना लिइहाल्छ भन्ने नकारात्मक सन्देशले विद्यार्थीमा पढ्नुपर्छ भन्ने सोच घट्दै गयो ।’

ग्रेडिङले शिक्षा प्रणाली सुधार भएको देखाए पनि शैक्षिकस्तर र विद्यार्थीको सिकाइ खस्किएको वाग्लेको टिप्पणी छ । ‘मेहनत गर्ने विद्यार्थीले पनि कक्षा ११ भर्ना हुन पाइहालिन्छ भन्दै पढाइमा मेहनत गर्न छाडेका छन्,’ उनले भने, ‘कमजोर विद्यार्थीलाई पनि यस्तो व्यवस्थाले झन् कमजोर बनायो ।’ विगतमा पारिवारिक कारणले विद्यालय छाडे पनि पछिल्ला दुई वर्षयता शिक्षा मन्त्रालयको प्रणालीगत त्रुटिका कारण पढ्नबाट वञ्चित भएको उनको दाबी छ । सरकारले फेल भन्ने शब्द नै हटाएपछि योग्य विद्यार्थीले पनि अध्ययनमा कम रुचि देखाउन थालेको उनले बताए ।

एक्जाम्टेड दिने न्यून
अंकका आधारमा नतिजा सार्वजनिक हुँदा एक्जाम्टेड परीक्षा दिनेको संख्या एक लाख ४० हजारभन्दा बढी हुने गथ्र्यो । परीक्षा नियन्त्रण कार्यालयका अनुसार ०७० मा १ लाख ४६ हजार, ०७१ मा १ लाख ४५ हजार, ०७२ मा १ लाख ५९ हजारले एक्जाम्टेड परीक्षा दिएका थिए । ग्रेडिङबाट नतिजा आउन थालेपछि ०७३ मा १८ हजार र ०७४ मा २४ हजारले मात्र एक्जाम्टेड परीक्षा दिएका छन् ।

छात्रा परीक्षार्थी बढी
पछिल्लो ४ वर्ष १० कक्षाको परीक्षा दिनेमा छात्रभन्दा छात्रा बढी छन् । ०७० मा परीक्षा दिनेमा छात्राभन्दा छात्र ५ हजार बढी थिए । तर, ०७१ देखि छात्राकै संख्या बढी छ । यस वर्ष पनि नियमिततर्फ परीक्षा दिने ४ लाख ५२ हजार विद्यार्थीमध्ये २ लाख २१ हजार छात्र छन् भने २ लाख ३० हजार छात्रा छन् । अघिल्लो वर्ष पनि छात्रको तुलनामा छात्रा ३ हजार बढी थिए । परीक्षा दिने छात्रा बढी भए पनि सिकाइ स्तरमा भने छात्रा नै कमजोर रहेको पाइएको छ । यस वर्ष एक्जाम्टेडमा परीक्षा दिने २४ हजारमध्ये छात्र ९ हजार र छात्रा १४ हजार छन् । यसले पनि छात्राको सिकाइ कमजोर भएको देखाउँछ ।

प्राविधिक धार अध्ययन गर्नेमा भने छात्र बढी छन् । नियन्त्रक रेग्मीका अनुसार यस वर्ष प्राविधिक धारबाट एसईई दिने ८ हजार ७ सय ३४ विद्यार्थीमध्ये छात्र ५ हजार ३ सय र छात्रा ३ हजार ३ सय छन् । गत वर्षको तथ्यांक पनि यस्तै छ । गत वर्ष ३ हजार ६ सय ५७ जनाले परीक्षा दिएकोमा २ हजार २ सय छात्र, १ हजार ४ सय छात्रा थिए ।

साभारः कान्तिपुर

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

बालिका विद्यालयमै असुरक्षित

काठमाडौं/५ असोज–कञ्चनपुरको कृष्णपुर नगरपालिका १ की ६ वर्षीय बालिका आफू अध्ययनरत विद्यालयमा बलात्कृत भएकी छिन्

एलएलबी पहिलो वर्षमा छुट भर्ना, असोज ५ गतेदेखि १५ गतेसम्म समय

काठमाडाैं/ ४ भदाै -एलएलबी पहिलो वर्षमा भर्ना हुनका लागि प्रवेश परीक्षा नदिएकाहरूले पनि पाउने भएका

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE