विद्यार्थीको हितलाई ध्यानमा राखेर क्याम्ब्रिजले अष्ट्रेलियामा सेवा वविस्तार गरेको छ – शिशिर सिंखडा

प्रकाशित मिति :2019-04-05 06:38:46

 

शिशिर सिंखडा, शैक्षिक परामर्श क्षेत्रमा आठ वर्षदेखि सक्रिय युवा हुन् । क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीका संस्थापक निर्देशक सिंखडा झापाबाट सुरु भएको क्याम्ब्रिजलाई अष्ट्रेलियासम्म पु¥याउन जोडतोडले लागेका छन् । पछिल्लो समय उच्च शिक्षाका लागि अष्ट्रेलिया जाने विद्यार्थीको संख्या दिन प्रतिदिन बढ्दो छ । प्राविधिक विषयको उच्च शिक्षा अध्ययन गर्न अष्ट्रेलिया विश्वभरका विद्यार्थीको डेस्टिनेसन हो । यसमा नेपाली विद्यार्थी पनि आकर्षित नहुने कुरै भएन । यहि सन्दर्भमा सिंखडासँग गरिएको कुराकानीको संक्षेपः

आजकल के गर्दै हुनुहुन्छ ?
क्याम्ब्रिजलाई अष्ट्रेलियामा व्यवस्थित गर्ने, यहाँबाट गएका विद्यार्थीलाई सहजीकरण गर्ने, नयाँ विद्यार्थीहरुमा स–साना कुराले समस्या निम्ताउने भएकोले उनीहरुलाई काउन्सेलिङ्ग गर्दै आफ्नो शाखा व्यवस्थापन गर्ने कार्यमा लागेको छु ।

पछिल्लो समय अष्ट्रेलिया जाने विद्यार्थीलाई केही समस्या आयो, खासमा देखिएको समस्या के थियो ?
अष्ट्रेलियाको एआईबीटी कलेजमा केही समस्या आएको थियो । त्यहाँ नर्सिङ कोर्ष अध्ययनरत विद्यार्थीको हकमा देखिएको समस्यालाई अलि बढाइचढाइ गरेर मिडियाबाजी गर्ने काम मात्र भएको मेरो बुझाइ छ । शैक्षिक परामर्श व्यवसाय गर्दै जाँदा कहिले काँही यस्ता समस्याहरु आउने गर्छन् । त्यसलाई ग्रहण गर्दै विद्यार्थीको सर्वोत्तम हितमा काम गर्नुपर्छ । एआइविटीको समस्या समाधानका लागि पहल भइरहेको छ र, समस्या हल हुन्छ ।

एआइविटीको जस्तै समस्या अरुबेला पनि देखिन्छन्, शैक्षिक परामर्श क्षेत्र आफ्नो उद्देश्य भन्दा बाहिर गएर काम गर्न थालेको हो ?
त्यसरी भनि हाल्न मिल्दैन, लामो समयदेखि यो व्यवसायमा आहुती दिएकाहरुको ठूलो योगदान छ । विकशित देशलाई नेपाली बजारमा ल्याउन जुन किसिमको भूमिका निर्वाह गरिएको छ त्यो चानचुने संघर्षबाट भएको छैन ।

यहाँ एउटा पक्षलाई मात्र दोष दिएर हुँदैन । जुन विद्यार्थी उच्च शिक्षाका लागि विदेश जाँदैछ उ सबै विषयमा जानकार हुनुपर्छ । र, शैक्षिक परामर्शदाताले पनि आफ्नो मर्यादा र कर्तब्यमा रहेर शैक्षिक परामर्श गरेको खण्डमा यस्ता समस्या कमै आउँछन् । अभिभावकले पनि छोराछोरीको मात्र कुरा नसुनि आफैं अग्रसर भएर पर्याप्त जानकारी हासिल गर्ने हो भने यस्ता दुर्घटनाबाट बच्न सकिन्छ ।

वैधानिकता नपाएकै कलेजमा विद्यार्थी भर्ना हुँदा भविष्यमा समस्या आईपर्छ भन्ने तपाईहरुलाई थाहा थिएन ?
एआइविटी कलेजले आधिकारिक रुपमै अफर लेटरमा सबै कुरा खुलाएको थियो । एनमेकबाट अनुमति पाउनका लागि कानुनी प्रक्रियामा रहेको जानकारी गराएको थियो । एनमेकले आवेदन स्विकृत नगरेपछि मात्र समस्या आएको हो । एआइविटीको समस्या समाधानका लागि पहल भइरहेकोले पुनः त्यहि कुरालाई कोट्याएर हिँड्नु भन्दा अब यस्ता केसमा सजग भएर काम गर्दा उपयूक्त हुन्छ ।

अब यस्ता समस्यामा नपर्न विद्यार्थीले के के कुरामा ध्यान दिनुपर्छ ?
एउटा विद्यार्थी १२ कक्षा पास गरेपछी विदेश जाने योजना बनाउँदा उसमा अलिकती सहि र गलत छुट्याउने क्षमता हुन्छ । अहिले सामाजिक सञ्जालले विश्वलाई हत्केलामा (इन्टरनेट) ल्याई दिएको छ । शैक्षिक परामर्श दाताले दिने भन्दा बढि ज्ञान विद्यार्थीले इन्टरनेटको माध्यमबाट हासिल गर्न सक्छन् । एक क्लिक गर्ने बित्तिकै जुनसुकै देशको कलेज, विश्वविद्यालयका बारेमा सूचना प्राप्त गर्न सक्छन् । त्यसलाई सदुपयोग गरेर शैक्षिक परामर्श ब्यवसायीले भनेका कुरालाई समेत भेरिफाइ गरेर अघि बढे यस्ता समस्याबाट जोगिन सकिन्छ ।

नेपाली विद्यार्थीहरु उच्च शिक्षाका लागि विदेश किन जाने गर्छन् ?
यसका तीनरचार वटा कारण छन् । अरुको देखासिकी, पारिवारिक, आर्थिक अवस्था, अभिभावकको करकापले विद्यार्थीमा विदेशप्रतिको मोह छ । सँगै हाम्रो देशको आर्थिक, सामाजिक, राजनीतिक अवस्थाले पनि प्रभाव पारेको छ । विद्यार्थीले पढ्न चाहेको विषयका कलेज र विश्वविद्यालय नेपालमा कठिन रुपमा प्राप्त हुन्छन् ।

प्रयोगात्मक शिक्षण विधि एकदमै कम छ । पढिसकेपछि उचित रोजगारी र अवसर पनि नभएकोले केहि समय विदेश गएर उच्च शिक्षा हासिल गरुँ, हातमा सिप र सर्टि्फिकेट लिएर भविष्य सुरक्षित गरुँ भन्ने सोचले पनि विद्यार्थी विदेश गएका छन् । विज्ञान र प्रविधिको युगमा इतिहास र पौराणिक विषयमात्र अध्ययन गर्दा विद्यार्थीले कसरी विश्वसँग प्रतिष्पर्धा गर्न सक्छ ?

तपाईले भन्न खोज्नु भएको नेपालको शिक्षा ठीक भएन, त्यहि भएर विद्यार्थी विदेश अध्ययनका लागि जानुपर्छ ?
नेपालको मात्र नभएर विश्वकै विद्यार्थीहरु विभिन्न देशमा अध्ययनका लागि जान्छन् । नेपालको शैक्षिक अवस्था २० वर्ष अघिको कथा र इतिहासमा सीमित छ । यहाँको शिक्षाले विद्यार्थीलाई भोलिको दैनिक जीवन जिउन सहज हुने सिप दिइरहेको छैन ।
मेरो बाबु, काकाले जुन विषय पढ्नु भयो अहिले हामीले त्यहि परिवेशको विषय पढिरहेका छौं । भन्नुको मतलब, हाम्रो शिक्षा समय अनुसार परिस्कृत भएन । विज्ञान र प्रविधिको युगमा इतिहास र पौराणिक विषयमात्र अध्ययन गर्दा विद्यार्थीले कसरी विश्वसँग प्रतिष्पर्धा गर्न सक्छ ?
यति भनिरहँदा नेपालमा मेडिकल शिक्षाको गुणस्तरीयतालाई भने हामीले स्वीकार गरेको अवस्था पनि छ । मेडीकल शिक्षामा इण्डिया, बंगलादेश, भुटान लगायत देशबाट विद्यार्थी अध्ययनका लागि नेपाल आएका पनि छन् । तर, नेपालको विकासका लागि त मेडिकल शिक्षा मात्र राम्रो भएर पुग्दैन । हरेक विषयमा विदेशी विद्यार्थीलाई नेपालमा पढ्ने वातावरण, पूर्वाधार र पाठ्यक्रम बन्नुपर्छ ।
इण्डियामा २०२५ सम्ममा शैक्षिक क्षेत्रमा विश्वका विद्यार्थी भित्राउने रणनीति बनाए जस्तै नेपालमा पनि बनाउनु पर्छ । चाइनाले जस्तै २०३० सम्ममा विश्वका विद्यार्थीहरुलाई आफ्नो देशको शिक्षा प्रणालीमा आकर्षित गर्नका लागि बनाएको योजना जस्तै हाम्रो मुलुकमा बन्नु पर्छ । अनी मात्र, नेपाली विद्यार्थी विदेश जान रोकिन्छन् । हामीले दक्ष जनशक्ति उत्पादनमा राज्यले नगरेको काम गरिरहेका छौं ।

विद्यार्थीलाई विदेश जान प्रेरित गर्ने शैक्षिक परामर्श क्षेत्रले कसरी दक्ष जनशक्ति उत्पादनमा टेवा पु¥याइ रहेको छ ?
प्लस टु गरेको विद्यार्थी कुन चाँही दक्ष जनशक्ति हो ? उसले त फाउण्डेशन खोजी रहेको हुन्छ । त्यो विद्यार्थीलाई उनीहरुको शैक्षिक, आर्थिक अवस्था हेरेर परामर्श दाताले बाटो देखाउने काम गर्दछ । हामीले भोलिको उज्वल भविष्यको सपना देखेका विद्यार्थीलाई सहि गोरेटो प्रदान गरिरहेका छौं ।
नेपालबाट जति विद्यार्थी विदेश गएका छन् तिनीहरुले प्राविधिक सिप सिकिरहेका छन् जुन, नेपाल जस्तो विकासोन्मुख देशका लागि अपरिहार्य छ । भोली त्यो विद्यार्थीले विदेशमा हासिल गरेको ज्ञान र सिपलाई स्वदेशमा उपयोग गर्ने वातावरण भयो भने त्यसले देश निर्माणमा ठूलो टेवा पुग्छ । अहिले हामीसँग दक्ष जनशक्ति नहुँदा विदेशबाट महंगोमा जनशक्ति ल्याउनु परिरहेको छ । त्यसलाई रोक्न पनि नेपाली युवाहरु उच्च शिक्षाका लागि विदेश जानु आवश्यक छ ।

पढ्न भनेर विदेशिएका युवाहरु उतै सेटल भएर मातृभूमीलाई विर्सिएको कुरा चै कहाँ गयो नी ?
हो, यो विषय राज्यको दायित्व हो । राज्यले स्वदेशमै गुणस्तरीय शिक्षा, रोजगारीको अवसर र सुरक्षित भविष्यको ग्यारेण्टी गरिदिएको भए लाखौं खर्चेर युवाहरु विदेश जानुपर्ने अवस्था आउँदैनथ्यो । विदेशिएका नेपालीलाई पनि स्वदेशमा फर्कने वातावरण त राज्यले बनाउनु पर्ने हैन ? खै लगानीको सुरक्षा ? खै रोजगारीका अवसर ? सरकारसँग त विदेशिएका नेपाली विद्यार्थी कुन देशमा कुन विषय अध्ययन गरिरहेका छन् त्यसको समेत रेकर्ड छैन । आफ्नो परिवार, बाबुआमाबाट विछोडिएर विदेशको संस्कार र संस्कृतिमा घूलमिल हुन कुनैपनि विद्यार्थीलाई रहर छैन ।

नेपालबाट गएका विद्यार्थीहरुले विदेशमा कस्तो प्रकारको दक्षता हासिल गर्न सक्छन् ?
यहाँबाट गएका जति विद्यार्थीहरु छन् उनीहरुले आइटी सेक्टरमा धेरै राम्रो गरिरहेका छन् । मल्टी नेशनल कम्पनीहरुमा विद्यार्थीहरुले धेरै प्रगती गरेका छन् । मेडिकल क्षेत्रमा पनि धेरै राम्रो गरेको पाईन्छ । ट्राभल्स एण्ड टुरिजम पढिरहेकाले राम्रो गरेका छन् । एउटै विषयमा भन्दा पनि विदेशको शिक्षा प्रयोगात्मक र प्राविधिक विषय हुने भएकोले सबै क्षेत्रमा राम्रो छ ।

नेपालमा कस्ता जनशक्ति आवश्यक छन् र, ती विदेशमा पढेका विद्यार्थीले पछी नेपाल आएर रोजगार पाउने अवसर छ की छैन ?
सरकारले विदेश अध्ययनका लागि गएका नेपाली विद्यार्थीहरुलाई स्वदेश आउने वातावरण निर्माण गरे तिनीहरुले राष्ट्र निर्माणमा ठूलो टेवा दिन्छन् । र, विदेशमा जुनसुकै विषय अध्ययन गरेपनि स्वदेशमा आएपछि उ बेरोजगार बस्नुपर्ने अवस्था छैन ।
नेपाल अहिले विकासको पथमा बामे सर्दैगर्दा सबभन्दा पहिले सडक, पुल, भवन निर्माणमा ध्यान दिनुपर्छ । जति पनि सिभिल ईन्जिनियरिङ्ग पढ्न गएका विद्यार्थी छन् तिनलाई नेपालमा ल्याउने वातावरण सरकारले बनाउनु पर्छ ।
आईटी, म्यानेजमेण्ट, नर्सिङ्ग, इन्जिनियरिङ्ग, एभिएसन हरेक विषय नेपालका लागि आवश्यक छ ।

उच्च शिक्षाका लागि वर्षेनी हज्जारौं विद्यार्थी विदेशिँदा अरबौं नेपाली रुपैंया पनि विदेशिएको छ, त्यसको अनुपातमा कम रेमिट्यान्स भित्रनुको कारण के हो ?
एकदम महत्वपूर्ण प्रश्न हो, विदेशी मुलुकको नीतिनियम अनुसार नेपालबाट जति पनि विद्यार्थीलाई पैसा पठाईन्छ त्यो बैंक मार्फत जान्छ । हुण्डीबाट, व्यक्तिको पकेट वा सुटकेसमा हालेर चोर बाटो अपनाएर जाँदैन ।
तर, उताबाट विद्यार्थीले पैसा नेपाल पठाउँदा चोर बाटो अर्थात हुण्डीबाट पैसा पठाउँछन् । कतिले त्यहिँ रहेका आफन्तलाई पैसा दिने अनी नेपालमा तिनका आफन्त मार्फत पैसा लिने गर्छन् । यती हुँदा पनि जति पैँसा बाहिर गएको छ त्यसको तीन गुणा पैसा नेपाल भित्रिएको छ । हुण्डीबाट पैसा आउने बाटो बन्द गर्ने हो भने अहिलेको १० गुणा पैसा नेपाल भित्रिन्छ ।
देशको आर्थिक अवस्था बलियो बनाउन सरकारले एउटा बलियो संयन्त्र र निती नियम बनाउन आवश्यक छ । शैक्षिक परामर्शमा व्यवसाय भन्दा धेरै छाता संगठन खुल्नु भएन । पदको लोभले संगठन फुटाउने, अर्को खोल्ने परिपाटी पनि दुर्भाग्य हो ।

शैक्षिक परामर्श क्षेत्रमा देखिएका विक्रिति कम गर्न राज्य र निजी क्षेत्रले के गर्नुपर्छ ?
कुनैपनि पेशा राम्रो नराम्रो हुनुमा व्यक्तिको बिचार र आचरणमा भर पर्छ । यहाँ १५–२० वर्षदेखि जिवन अर्पण गर्ने इमान्दार ब्यक्ति छन् र, गलत नियत राखेर काम गर्नेहरु पनि छन् । पत्रकारिता क्षेत्रमा पनि यो समस्या छ नी ! डाक्टरलाई भगवानको दोस्रो रुप भनिन्छ । तर, त्यहि भगवानले विरामीको पेटमा कैची, कपास छोडेको, गलत उपचार गरेको उदाहरण पनि छन !

हरेक क्षेत्रमा समस्या छ । त्यसलाई मर्या्दित, जिम्मेवार बनाउने काम राज्यको हो ।

राज्यले कानुन मात्र बनाएर भएन, त्यसलाई इमान्दारपूर्वक पालना गराउनु पर्यो । सानो ठूलो सबै तहको व्यक्तिलाई सम्मान व्यवहार गर्नुपर्यो । शैक्षिक परामर्श क्षेत्रमा काम गर्नेले दुईरचार पैंसाको लोभमा नफसी ईमान्दार भएर सहि ढंगको परामर्श दिए यस्ता विकृती आफैं निवारण भएर जान्छन् ।
पछिल्लो समय क्याम्ब्रिजले के गरीरहेको छ ?
अहिले क्याब्रिजको नेपालमा काठमाडौंको बागबजारमा प्रमुख कार्यालय छ । शाखा कार्यालय नयाँ बानेश्वर, बनेपा पनि छ । ललितपुरमा पनि शाखा कार्यालयको व्यवस्थापनहरु भईरहेको छ । चितवन, पूर्वमा ईलाम, बिर्तामोड, दमक, ईटहरी, विराटनगर, धरान यी नेपालको प्रमुख सहरहरुबाट हामीले विद्यार्थी अभिभावकलाई दक्ष तथा मान्यता प्राप्त काउन्सलरबाट सेवा प्रदान गरिरहेका छौं ।

आगामी दिनहरुमा एउटा नेपालीले विदेशमा गएर पनि काम गर्न सक्छ भन्ने उदाहरण पेश गर्नका लागि अष्ट्रेलियाको सिड्नीको ससेक्स स्ट्रिटमा कार्यालय स्थापना गरेका छौं । केहि महिना पछी अष्ट्रेलियाको मेलवर्न, क्यावेरा, डार्विन, पर्थ, एडिलेडमा पनि शाखा बिस्तार गर्दैछौं ।
यसका अलावा क्याम्ब्रिजलाई विश्व बजारमा लाने उद्देश्यको साथ कलेजको रुपमा रुपान्तरण गर्ने विषयमा समेत गृहकार्य भइरहेको छ ।

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

जनताका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन अनिवार्य गर्ने जनप्रतिनिधिका सन्तान २० किमि टाढाका निजी विद्यालयमा

काठमाडाैं/१२ बैशाख-आफ्ना दुई सन्तान निजी विद्यालयमा पढाउँदै आएका पोखरा महानगरपालिकाका एक वडाध्यक्षले सरकारी विद्यालयमा छोराछोरी

परीक्षाफल सार्वजनिक, नतिजा सहित

काठमाडौं/१२ बैशाख– त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले स्नाकोत्तर तह भौतिक शास्त्र प्रथम वर्ष

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE