नेपाली भाषा शिक्षक परिषद्‌को अध्यक्षमा लम्साल - EDUCATION NEWS NEPAL

अपडेट

Saturday, February 15, 2025

नेपाली भाषा शिक्षक परिषद्‌को अध्यक्षमा लम्साल

 


पोखरा, फागुन ३ गते । नेपाली भाषा शिक्षक परिषद्, कास्कीको अध्यक्षमा सूर्यप्रसाद लम्साल सर्वसम्मत चयन भएका छन् । शनिवार पोखरामा सम्पन्न परिषद्‌को आठौँ अधिवेशनबाट लम्सालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा विक्रम पौडेल, उपाध्यक्षमा इन्दिरा सुवेदी सापकोटा, महासचिवमा शिवहरि सुवेदी, सचिवमा शशी शिशिर ढुङ्गाना र कोषाध्यक्षमा हरिप्रसाद शर्मा चयन भएका छन् । यस्तै सदस्यहरूमा सावित्री पहारी, भावना लामिछाने, रत्नाकुमारी विश्वकर्मा, झलकनाथ आचार्य, अमृत पौडेल, होमनाथ भट्टराई, ध्रुवबन्धु रिजाल, प्रेमनारायण ढकाल र पोष्टराज सुवेदी रहेका छन् ।

उपप्राध्यापक डा. बोधराज ढकालको संयोजकत्वमा लोकचन्द्र खनाल र दिनेश सापकोटा सदस्य रहेको निर्वाचन समितिले नवनिर्वाचित कार्यसमितिको घोषणा गरेको थियो ।

परिषद्‌का अध्यक्ष डिल्लीराम अर्यालको अध्यक्षतामा यसअघि सम्पन्न उद्‌घाटन सत्रमा प्रमुख अतिथि प्रा. डा. देवीप्रसाद गौतमले नेपाली भाषामा देखिएका समस्या समाधानाका लागि सबैभन्दा बढी जिम्मेवार शिक्षकवर्ग नै रहने धारणा राखे । प्रयोक्ता नै भाषाको मानक स्थापना गर्ने पहिलो कारक तत्त्व भएको भन्दै गौतमले भाषावैज्ञानिक अध्ययनलाई आधार मानेर भाषाको विकासमा लाग्नुपर्नेमा जोड दिए ।

सो अवसरमा नेपाली भाषाका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै प्रा. डा. रामनाथ ओझालाई सम्मान गरिएको थियो । अधिवेशनको बन्दसत्रमा महासचिव शिवहरि सुवेदीको प्रगति प्रतिवेदन र कोषाध्यक्ष इन्दिरा सापकोटाको आर्थिक प्रतिवेदन पारित गरिएको थियो । कार्यक्रममा सल्लाहकार माधवशरण उपाध्याय, पुण्यप्रसाद शर्मा, डा. यमनाथ तिमिल्सना, डोलराज अर्याल, हिसान, कास्कीका अध्यक्ष दिवाकर जैसीप्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतमनेपाली भाषा शिक्षक परिषद् म्याग्दीका अध्यक्ष रमेश पौडेल, एन प्याब्सन कास्कीका सचिव प्रेमराज अधिकारी, गणित शिक्षा परिषद्का अध्यक्ष डिल्लीराम अधिकारीसामाजिक अध्ययन मञ्च कास्कीका अध्यक्ष गोविन्द काफ्लेलगायतले शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन महासचिव शिवहरि सुवेदी र सचिव नारायण पराजुलीले गरेका थिए ।

नेपाली भाषा अध्यापन गराउने शिक्षकहरू सङ्गठित भई भाषाको संरक्षण, भाषा शिक्षणमा गुणस्तर वृद्धि र विद्यार्थीमा निहीत प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले २०६६ मा संस्था स्थापना भएको परिषद्का हाल पर्वत, म्याग्दी र तनहुँमा शाखा विस्तार भएका निवर्तमान अध्यक्ष डिल्लीराम अर्यालले जानकारी दिए ।



No comments:

Post a Comment