र्‍यान्डममा सत्यम्‌को चर्चा - EDUCATION NEWS NEPAL

अपडेट

Saturday, February 7, 2026

र्‍यान्डममा सत्यम्‌को चर्चा

 


पोखरा, माघ २४ गते । कथाकार लक्ष्मण वियोगीको कथा सङ्ग्रह सत्यम्‌माथि पोखरामा शनिवार चर्चा गरिएको छ ।

र्‍यान्डम रिडर्स सोसाइटीले आफ्नो नियमित कार्यक्रमअन्तर्गत गरेको कार्यक्रममा समालोचक डा. नेत्र एटमले सत्यम्‌को परिचर्चा गरेका थिए । डा. एटमले कथकारले अनुभव र स्मृतिको संयोजन गरेर कथा लेखेकाले कथा जीवन्त बनेको धारणा राखे । कथाकारले अवलोकन, अन्तरक्रिया र अभिलेखलाई सामग्री सङ्कलनको पद्धति बनाउने गरेको बताउँदै त्रिभुवन विश्वविद्यालयका सहप्राध्याकसमेत रहेका एटमले सत्यम्‌का कथामा अवलोकनलाई अधिक महत्त्व दिइएको बताए । कथाले सांस्कृतिक पक्षलाई कथामा समेट्न सक्नु सङ्ग्रहको बलियो पक्ष भएको उनको भनाइ थियो ।

सोसाइटीका अध्यक्ष दीपक पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार सरुभक्तले कथाकार वियोगीका कथाले जनमानसलाई छुने सक्ने सामर्थ्य राख्ने बताए । उनले र्‍यान्डम रिडर्स सोसाइटीले गर्ने बौद्धिक बहसको एउटा सुन्दर शृङ्खलामा सहभागी हुन पाएकामा खुसी व्यक्त गरे ।

कार्यक्रममा कथाकार लक्ष्मण वियोगीले आफूले जीवनका विभिन्न मोडमा देखेका र भोगेका विषषयवस्तुलाई कथामा उतारेको अनुभव सुनाए । उनले कतिपय कथालाई आफूले न्याय गर्न नसेको स्वीकार गर्दै अनुभवलाई कलाको लेपन लगाएर आफूले कथाको स्वरूप तयार पारेको बताए ।  १५ ओटा कथा समेटिएको ‘सत्यम्’ वियोगीको पहिलो कथा सङ्ग्रह हो ।

सोसाइटीका सदस्य खिम लामिछाने काजीको सञ्चालनमा भएको कार्यक्रममा साहित्यकार सरस्वती प्रतीक्षा र सुरज पौडेलले टिप्पणी गरेका थिए ।

सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै पुस्तक वा विषयमाथि परिचर्चा गर्दै आएको छ ।