पोखरा, वैशाख १३ गते । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान, पोखराले वैशाखको नियमित मासिक कार्यक्रमअन्तर्गत 'यौन नैतिकता : समाजशास्त्रीय विवेचना' विषयक छलफल कार्यक्रम शनिवार पोखरामा सम्पन्न गरेको छ । वरिष्ठ स्त्रीरोग विशेषज्ञ डाक्टर चण्डिका पण्डितको प्रमुख अतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा डा. रामचन्द्र बरालको मुख्य प्रस्तुति रहेको थियो ।
प्रमुख अतिथि डाक्टर
पण्डितले हाम्रा यौन क्रियाकलापले समाजमा विकृति फैलाएन र कसैलाई हानि गरेन भने
त्यो नै यौन नैतिकता हुने धारणा राखे । पछिल्लो समय मानिसले दिमागको राम्रो उपयोग
गरेको भए पनि विवेक हराउँदै गएकोतर्फ उनले चिन्ता व्यक्त गरे । मानिस हरेक क्षेत्र
र क्रियाकलापमा नैतिकवान् बनेपछि उसका यौन क्रियाकलाप पनि स्वतः नैतिकवान् हुने उनको
तर्क थियो ।
कार्यक्रमका मुख्य
प्रस्तोता डा. बरालले नैतिकता भन्ने कुरा मनोगत नभएर विज्ञानसम्मत् भएको जिकिर गरे
। कुनै पनि नतिजा सही हुनका लागि नतिजा प्राप्तिका लागि गरिएका कर्महरू पनि सही
हुनुपर्छ भन्ने उनको ठहर थियो । यौन क्रियाकलापका सन्दर्भमा पनि यही नियम लागु
हुने बरालले बताए । यौन क्रीडासम्बन्धी प्रक्रियाको शुद्धताले कृष्ण जस्ता पात्र
पनि जन्मिएका र प्रक्रियामा त्रुटि हुँदा दुर्योधन जस्तो पात्र जन्मिएको सन्दर्भ
उल्लेख गर्दै मानव जीवनमा प्रक्रियागत शुद्धताको महत्त्वपूर्ण भूमिका हुने उनको
तर्क थियो । हाम्रो सनातनी परम्परा र पूर्वीय धर्मशास्त्रले सगोत्री विवाह र
विवाहपूर्व यौनसम्पर्क गर्ने कार्यलाई वर्जित गरेको कुरा उल्लेख गर्दै उनले मानव
सभ्यताको विकासमा सनातनी परम्परा सर्वोत्कृष्ट रहेको बताए ।
कार्यक्रममा शिव थापा, वसन्त चालिसे, डा. लक्ष्मीशरण अधिकारी, डा. भूमिराज बस्ताकोटी, कमलराज पौडेल, वेदहरि तिमिल्सिना र कृष्णप्रसाद तिमिल्सिनाले प्रस्तोताको प्रस्तुतिमाथि
जिज्ञासा राखेका थिए ।
संस्थाका अध्यक्ष सुरज
पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हरिराज पौडेलले कविता वाचन गरेका थिए ।
उपाध्यक्ष डा. श्रीधर न्यौपानेले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको
सञ्चालन सचिव डा. पिताम्बर पौडेलले गरेका थिए । कार्यक्रम सम्पन्न गर्न आवश्यक
आर्थिक व्यवस्थापनमा कार्यसमिति सदस्य वसन्त चालिसे, आजीवन
सदस्य दीपेन्द्रराज रेग्मी, एसेन्ट एजुकेसनल इन्स्टिच्युटका
प्रोप्राइटर कमलराज पौडेलले सहयोग गरेका थिए ।
