प्रेलस स्याङ्जाद्वारा नेपाली प्रगतिशील साहित्य लेखनविषयक अन्तर्क्रिया - EDUCATION NEWS NEPAL

अपडेट

Saturday, May 16, 2026

प्रेलस स्याङ्जाद्वारा नेपाली प्रगतिशील साहित्य लेखनविषयक अन्तर्क्रिया



स्याङ्जा, जेठ २ गते । प्रगतिशील लेखक सङ्घ स्याङ्जाले नेपाली प्रगतिशील साहित्य लेखनविषयक अन्तर्क्रिया कार्यक्रम शनिवार वालिङमा सम्पन्न गरेको छ ।

प्रगतिशील लेखक सङ्घ स्याङ्जाका अध्यक्ष अनन्त अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा प्रलेस, गण्डकी प्रदेशका अध्यक्ष प्रा.डा. यदुनन्दन उपाध्यायले ‘नेपाली प्रगतिशील साहित्य लेखन’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका उपाध्यायले नेपाली साहित्यमा प्रगतिशील लेखनको अवस्थाका बारेमा चर्चा गरेका थिए । सो कार्यपत्रमाथि प्रलेस, गण्डकीका पूर्वअध्यक्ष गण्डकीका यादवराज उपाध्यायले टिप्पणी गरेका थिए । यसै गरी, “स्याङ्जा जिल्लामा प्रगतिवादी साहित्यको उद्भव र विकास” विषयमाथि विशिष्ट अतिथि एवं माक्र्सवादी चिन्तक वरिष्ठ साहित्यकार त्रिलोचन ढकालले कार्यपत्र प्रस्तुत गरे । उक्त कार्यपत्रमाथि विशिष्ट अतिथि एवम् प्रलेस गण्डकीका सचिवालय सदस्य बाबुराम सुवेदीले टिप्पणी गरेका थिए । प्रस्तुत कार्यपत्रमाथि उठेका जिज्ञासा र प्रश्नमाथि कार्यपत्र प्रस्तुतकर्ताद्वयले थप स्पष्ट पारेका थिए ।

कार्यक्रममा पुष्पलाल अध्ययन प्रतिष्ठान स्याङ्जाका अध्यक्ष चक्रबहादुर पराजुली, नेपाली लेखक सङ्घका केन्द्रीय सचिव मिलन समीर र स्रष्टा ध्रुवप्रसाद शर्मा पगेनी, जेष्ठ कम्युनिस्ट सदस्य सूर्यप्रसाद खनाल र सूर्यबहादुर पौडेलले आफ्नो धारणा राखेका थिए ।

कार्यपत्रको प्रस्तुतिसहित सिर्जना वाचनसमेत निर्दिष्ट गरिएको कार्यक्रममा स्रष्टाहरू लीलाम्बर ढुङ्गाना, सुलभ खनाल, दमकला बगाले, भविश्वर पङ्गेनी, सनतकुमार गैह्रे, चण्डिकाप्रसाद भट्टराई, हिमालयजङ बानियाँ, श्रीराम ढकाल, वसन्त खनाल, कमल बगाले, ढालबहादुर केसी, द्रोणराज काफ्लेलगायतले आफ्नो उत्कृष्ट सिर्जना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा मातृका अर्याल, मधुसूदन आचार्य, शोभाकान्त पौडेल, यमकान्त खनाल, गोपाल जिटी, सरिता अर्याल, दीपक पोख्रेल, सन्तोष तिमिल्सिना, खुमकुमारी उपाध्याय, सुष्मा भण्डारी श्रेष्ठ, लालबहादुर थापालगायतको उपस्थित रहेको थियो ।

प्रगतिशील लेखक सङ्घ, स्याङ्जाका उपाध्यक्षसमेत रहेका युवा स्रष्टा शम्भु अर्यालको स्वागत मन्तव्यसँगै सुरू भएको कार्यक्रमको सहजीकरण प्रलेस स्याङ्जाका सदस्य श्यामप्रसाद ढुङ्गानाले गरेका थिए ।