धारा आविमा भण्डारीद्वारा पोसाक र स्टेसनरी वितरण - EDUCATION NEWS NEPAL

अपडेट

Monday, May 18, 2026

धारा आविमा भण्डारीद्वारा पोसाक र स्टेसनरी वितरण

 


पोखरा । पोखरा-१९, चुरुङ्गास्थित धारा आधारभूत विद्यालयमा अध्ययनरत ६० जना विद्यार्थीहरूलाई विद्यालय पोसाक तथा स्टेसनरी वितरण गरिएको छ ।

जनप्रकाश बहुमुखी क्याम्पस, पोखरा–२९ का क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तथा नेपाल शिक्षक सङ्घ र ट्रेड युनियन काङ्ग्रेस, कास्कीका पूर्वअध्यक्ष विजयराज भण्डारीले व्यक्तिगत खर्चमा सामग्री वितरण गरेका हुन् ।

नवप्रभात माध्यमिक विद्यालय, पोखराका पूर्वप्रधानाध्यापकसमेत रहेका समाजसेवी भण्डारीले आफ्नो सानो सहयोगले विद्यार्थीहरूमा पढाइप्रति लगनशीलता र उत्साह अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधवप्रसाद गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका सल्लाहकार तथा नेपाल सरकारका पूर्वउपसचिव दयाराम गौतमले स्वागत मन्तव्य राख्दै शिक्षाको विकासका लागि सबै सरोकारवालाहरू सक्रिय हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पृथ्वीनारायण क्याम्पस, पोखराको स्नातकोत्तर कार्यक्रमअन्तर्गत अङ्ग्रेजी विभागका संयोजक प्रा. डा. पितृराज बास्तोला तथा लक्ष्मीआदर्श माध्यमिक विद्यालय, पोखराका विद्यालय व्यवस्थापन समितिका सदस्य एवम् सामाजिक अभियन्ता मोहकुमार बास्तोलाले शुभकामना दिएका थिए ।

यसै गरी, ट्रेड युनियन काङ्ग्रेस, कास्कीका वरिष्ठ उपाध्यक्ष तथा शान्ति आधारभूत विद्यालयका प्रधानाध्यापक मनिराम  कडेलले कार्यक्रमको संयोजन तथा व्यवस्थापन गर्दै सहयोगदाता भण्डारीको योगदान र व्यक्तित्वबारे प्रकाश पारेका थिए । कडेलले भण्डारीले यसअगि पनि पोखराका विभिन्न विद्यालयहरूमा महत्त्वपूर्ण सहयोग गर्दै आएको उल्लेख गरे । भण्डारीले त्रिभुवनशान्ति माध्यमिक विद्यालय (पोखरा–३०) मा रु. २ लाख, लक्ष्मी आदर्श माध्यमिक विद्यालय (पोखरा–२७) मा रु. १ लाख, सिर्जना बहिरा माध्यमिक विद्यालय (पोखरा–२६) मा रु. १ लाख, रत्नशोभा माध्यमिक विद्यालय (पोखरा–२८) मा रु. १ लाख तथा शान्ति आधारभूत विद्यालय (पोखरा–३०) मा रु. १ लाखको अक्षयकोष स्थापना गरेका थिए ।

यसै वर्ष भण्डारीले अन्य विद्यालयहरूमा पनि पोसाक तथा स्टेसनरी वितरण गरेका थिए । रूपा गाउँपालिकास्थित माईमैदान आधारभूत विद्यालय र कल्प आधारभूत विद्यालय तथा माछापुच्छ्रे गाउँपालिकाको बाराही आधारभूत विद्यालयका ३० जना विद्यार्थीहरूलाई पनि विद्यालय पोसाक प्रदान गरिएको जानकारी कार्यक्रममा दिइएको थियो ।

कार्यक्रममा समाजसेवी विष्णु बास्तोला, शिक्षक अभिभावक सङ्घका अध्यक्ष ढाकामोहन बास्तोला, विद्यालयका प्रधानाध्यापक लक्ष्मण गौतमलगायतले धन्यवाद ज्ञापन गरेका थिए ।