पोखरा । गण्डकी साहित्य सङ्गम, पोखराले गोकुल वाङ्मय पुरस्कार २०८२ वरिष्ठ प्रगतिवादी साहित्यकार मोहनविक्रम सिंहलाई प्रदान गर्ने भएको छ ।
शोभाकान्त
गौडेलको संयोजकत्वमा गठित सल्लाहकार डा. कृष्णराज अधिकारी र प्रगतिशील लेखक सङ्घ,
गण्डकी प्रदेशका अध्यक्ष डा. यदुनन्दन उपाध्यायसमेत तीन जनाको समितिले सर्वसम्मत
सिफारिस गरेअनुरूप करिब ६ दशकदेखि प्रगतिवादी साहित्यका फाँटमा निरन्तर साहित्य
साधना गर्दै आएका स्रष्टा एवम् द्रष्टा सिंहलाई पुरस्कार प्रदान गर्ने निर्णय
गरेको छ । उक्त पुरस्कार ९७ औं गोकुल जयन्तीको अवसर पारेर यही जेठ ९ गते शनिवारका
दिन पोखरामा विशेष समारोहका साथ हस्तान्तरण हुने बताइएको छ ।
सङ्गमले
समाजवादी यथार्थवाद र सामन्तवाद–साम्राज्यवादविरोधी प्रगतिशील तथा देशभक्त
साहित्यिक धारामा साधना गर्ने स्रष्टा–द्रष्टाहरुलाई प्रेरणा, प्रोत्साहन एवम् सम्मान गर्न २०५२ सालदेखि राष्ट्रिय तहमा रु.
४० हजार रहेको ‘गोकुल वाङ्मय पुरस्कार’ र क्षेत्रीय तहमा रु. २० हजार नगद रहेको
‘गण्डकी वाङ्मय पुरस्कार’ एक /एक वर्ष बिराएर प्रदान गर्दै आएको छ ।
१९९२
सालमा प्युठानको ओखरबोटमा जन्मेका मोहनविक्रम सिंहका ‘प्युठानको किसान समस्या र
सङ्घर्ष’ (राजनीतिक पुस्तक, २०११), ‘इन्क्लाव जिन्दावाद’ (कविता सङ्ग्रह, २०१७), ‘युग
बोल्छ’ (गीति नाटक, २०३४), ‘विश्व कम्युनिस्ट आन्दोलनको सङ्क्षिप्त इतिहास (२०३८), ‘गङ्गा–काबेरी एक्सप्रेस’ (लामो कविता, २०४०), ‘झिमरुक
नदी र चिबे चराको कथा’ (खण्डकाव्य, २०४२), ‘विचार, विवेचना र विश्लेषण’ (समालोचना, २०४२),‘आदि
विद्रोह’ (खण्डकाव्य, २०४२), ‘बाह्र मई (नाटक, २०४६), ‘महिला
मुक्तिको महान गाथा (समालोचना, २०४८), ‘कामरेड जलजला’ (उपन्यास, २०८१) लगायतका पुस्तकहरु प्रकाशित छन् ।
उक्त
गोकुल वाङ्मय पुरस्कारद्वारा यसभन्दा पहिले केवलपुरे किसान— २०५२, खगेन्द्र सङ्ग्रौला— २०५४, गोविन्द भट्ट— २०५६, श्यामप्रसाद शर्मा— २०५८, रमेश विकल— २०६०, निनु चापागाईँ— २०६२, मोहन वैद्य (चैतन्य)— २०६४, आनन्ददेव भट्ट— २०६६, घनश्याम ढकाल— २०६८, मोदनाथ प्रश्रित— २०७०, हरिहर खनाल— २०७२, जीवन शर्मा— २०७४, डा. ऋषिराज बराल– २०७८ र ईश्वरचन्द्र ज्ञवाली– २०८०
पुरस्कृत भइसकेको जानकारी संस्थाका सचिव नारायण मरासिनीले दिएका छन् ।
