पोखरा, जेठ १७ गते । नेपाल
रेडक्रस सोसाइटी, कास्कीको आयोजना तथा जुनियर रेडक्रस
सर्कल, शीतलादेवी सामुदायिक माध्यमिक विद्यालयको व्यवस्थापनमा ४३
औँ जिल्लास्तरीय जुनियर/युवा
तथा ३२ औँ शिक्षक नायक गोष्ठी आइतवार सम्पन्न भएको छ ।
जेठ १६ र १७ गते गरी दुई दिनसम्म सञ्चालन भएको गोष्ठीमा
कास्कीका ११० ओटा सर्कलले भाग लिएका जुनियर/युवा सर्कल संयोजक तथा रेडक्रस, कास्कीका
उपमन्त्री डिल्लीराम बरालले जानकारी दिए । शीतलादेवी जुनियर रेडक्रस सर्कलका
अध्यक्ष सार्थक पौडेलको अध्यक्षतामा भएको समापन कार्यक्रममा गण्डकी प्रदेश सरकारका
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भीम कार्कीले रेडक्रसले राष्ट्रको भावी
नेतृत्व तयार पारिरहेको बताए । नैतिकता, अनुशासन, विधि
र प्रविधिको ज्ञान र सिप हासिल गर्दै अगि बढेमा युवा पुस्ताले देशको नेतृत्व गर्दा
आजको भन्दा राम्रो हुने विश्वास व्यक्त गर्दै मन्त्री कार्कीले सामाजिक विभेदलाई
अन्त्य गर्नका लागि सचेत भएर अगि बढ्नुपर्नेमा जोड दिए । मानवसेवामा लाग्नु
सबैभन्दा पवित्र कार्य भएकाले विद्यार्थीहरूलाई त्यसतर्फ मार्गदर्शन गर्ने कुरामा
रेडक्रसको विशेष योगदान रहेको कार्कीको भनाइ छ ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, कास्कीकी
अध्यक्ष उर्मिला भण्डारीले रेडक्रसले अनेकौँ अप्ठ्याराहरूका बाबजुद जुनियर तथा
युवाहरूलाई आत्मनिर्भरता र सेवाभावसम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी
दिइन् ।
सो अवसरमा उत्कृष्ट शिक्षक नायकका रूपमा छोरेपाटन मावि, जुनियर
रेडक्रस सर्कलका शिक्षक नायक युवराज सुवेदीलाई सम्मान गरिएको थियो । त्यसै गरी
उत्कृष्ट सर्कलका रूपमा शिवशक्ति मावि, जनप्रिय मावि र बाराही
माविका जुनियर रेडक्रस सर्कल तथा रेडक्रस राखी उपशाखा र रेडक्रस उपशाखा वडा नम्बर
१२ लाई सम्मान गरिएको थियो ।
सो अवसरमा शिक्षक नायक र विद्यार्थीहरूका लागि दुई दिनसम्म
विभिन्न सत्रहरू सञ्चालन गरिएका थिए । शिक्षामा एआईको प्रयोगका सम्बन्धमा शिक्षा
तालिम केन्द्र, गण्डकी प्रदेशका रोस्टर प्रशिक्षकहरू
खेमराज पौडेल, रुपिन्द्र प्रभावी, श्रीकान्त
पौडेल तथा धर्मेश जयसवालले सहजीकरण गरेका थिए । मानसिक व्यवस्थापनसम्बन्धी भक्तराज
रसाइलीले, रेडक्रस गतिविधिबारे डिल्लीराम बरालले, रक्तदानसम्बन्धी
अर्जुन ज्ञवालीले, मानवसेवामा युवाहरूको अनुकूलनबारे
प्रिन्सा रेग्मीले सहजीकरण गरेका थिए । त्यसै गरी साइबर अपराध, विद्यालय
स्वास्थ्य र मनोपरामर्श, विपद् तथा फोहोरमैला
व्यवस्थापनबारे यमुना केसी, मोहन खड्का, सूर्यप्रसाद
तिमिल्सिनालगायतले सहजीकरण गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बाबुराम अधिकारीले
कार्यक्रम आयोजनासम्बन्धी अनुभव सुनाउँदै धन्यवाद ज्ञापन गरेका थिए । यसअगि
कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले गरेका थिए ।
उनले विद्यार्थी जीवनबाट नै रेडक्रस जस्तो स्वयम्सेवी संस्थामा लागेर सेवाकर्ममा
लागेका विद्यार्थी देखेर आफूलाई खुसी लागेको बताए । समाजमा विद्यमान विसङ्गति
हटाउन पनि यस्ता कार्यक्रम आवश्यक रहेको भन्दै सभामुख धितालले मानव स्रोत नै
सबैभन्दा ठुलो कुरा भएको बताए । कार्यक्रममा रेडक्रस, कास्कीका
मन्त्री सन्तोष अधिकारी, पूर्वअध्यक्ष डण्डराज
शर्मा, पोखरा महानगरपालिका, वडा नम्बर १२ की सदस्य
शान्ति कोइराला, विद्यालयका शिक्षक नायक रामचन्द्र
अधिकारीलगायते बोलेका थिए । सो अवसरमा विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रमसमेत
प्रस्तुत गरेका थिए ।
सोही अवसरमा १० बुँदे घोषणापत्र जारी गरिएको छ । घोषणापत्र
लेखन कार्यदलका संयोजक रेडक्रस, कास्कीका सदस्य श्रीकान्त
पौडेलले जुनियर तथा युवा रेडक्रस सर्कललाई सिर्जनशील बनाउनका विभिन्न कार्यक्रम
गर्ने जानकारी दिए । विद्यालयलाई सुरक्षित र बालमैत्री शिक्षण केन्द्रका रूपमा
विकास गर्नका लागि जुनियर रेडक्रसका सदस्यहरूले भूमिका खेल्नेलगायतका बुँदा समेटिएको
संयोजक पौडेलले जानकारी दिए ।
‘मानवताका लागि एकबद्ध
होऔँ’ भन्ने मूल नाराका साथ रेडक्रसले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ
।
