पोखरा, जेठ ९ गते । कास्कीको मादी गाउँपालिकाले शिक्षकहरूका लागि सञ्चार तथा सूचना प्रविधिसम्बन्धी तालिम प्रदान गरेको छ ।
५
दिनसम्म सञ्चालन भएको तालिममा मादी गाउँपालिकाभित्रका आधारभूतदेखि माध्यमिक
तहसम्मका ४८ जना शिक्षकहरूको सहभागिता रहेको थियो । जेठ ५ देखि ९ गतेसम्म सञ्चालित
तालिमको समापनका अवसरमा मादी गाउँपालिकाका अध्यक्ष देवीजङ गुरुङले आजका शिक्षक प्रविधिमैत्री
हुनैपर्नेमा जोड दिए । आजका विद्यार्थी जन्मिँदैमा प्रविधिसँगै जन्मेकाले तिनलाई
पढाउने शिक्षकहरू अझ तिखारिनुपर्ने गुरुङको भनाइ थियो । मादीका शिक्षकहरूको क्षमता
विकासका लागि गाउँपालिकाले सधैँ प्रयास गर्ने प्रतिबद्धता जनाउँदै उनले सिक्ने
कुरामा उमेर बाधक नबन्ने धारणा राखे ।
शिक्षा,
युवा तथा खेलकुद शाखाका प्रमुख खगेन्द्र लामिछानेले आजका विद्यार्थीलाई प्रविधियुक्त
सिकाइ अनिवार्य रहेको बताए । गाउँपालिकाभित्रका सबै विद्यालयमा आवश्यक प्रविधिको
व्यवस्था गरेको जनाउँदै लामिछानेले शिक्षक अब प्रविधिमैत्री नबने विद्यार्थीको
सिकाइमा नकारात्मक असर पर्ने विचार राखे ।
वडा
नम्बर ५ का वडाअध्यक्ष हुमनाथ अधिकारीको अध्यक्षतामा भएको समापन कार्यक्रममा सहायक
शिक्षा अधिकृत भगवान् पौडेल, सहभागीहरू सुनीता गुरुङ र हिमाल पौडेलले पनि आफ्ना भनाइ
राखेका थिए ।
तालिममा
शिक्षा तालिम केन्द्र, गण्डकी प्रदेशका रोस्टर प्रशिक्षकहरू रुपिन्द्र प्रभावी,
खेमराज पौडेल र कीर्तिराज ढकालले पावरप्वाइन्ट, एक्सेल, एआई, माइक्रोसफ्ट वर्ड,
गुगल एप्लिकेसनहरू, इमेल, इन्टरनेट, महत्त्वपूर्ण शैक्षिक वेबसाइटहरूबारे सहजीकरण
गरेका थिए ।
