पोखरा, असार ७ गते । पोखरामा आइतवार पाठ्यक्रमसम्बन्धी प्रबोधीकरण सम्पन्न भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको आयोजना, शिक्षा तालिम केन्द्र, गण्डकी प्रदेशको संयोजन तथा ब्रिटिस काउन्सिलको सहयोगमा आयोजित प्रबोधीकरणमा प्रधानाध्यापक क्षमता विकास तालिम पाठ्यक्रम, शिक्षक-प्रशिक्षक तालिम पाठ्यक्रमलगायतबारे सहजीकरण गरिएको थियो ।
शिक्षा
तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले समयानुकूल प्रधानाध्यापकको
क्षमता विकाससम्बन्धी तालिमको पाठ्यक्रम परिवर्तन गरिएको जानकारी दिए । उनले अब
विद्यालयबाट प्रधानाध्यापकलाई बाहिर नराखी धेरै समय विद्यालयमा आधारित मोडुलमा
तालिम सञ्चालन गरिने बताउँदै ३० कार्यदिनको तालिममा ४ मोडुलमा व्यवस्थापन गरिएको
बताए । अबका प्रधानाध्यापक अरूलाई काम लगाउने नभई हरेक सिपमा स्वयम् दक्ष
हुनुपर्नेमा न्यौपानेको जोड थियो ।
केन्द्रकै
प्राविधिक अधिकृत चिनाकुमारी निरौलाले शिक्षक पेसागत विकास र सक्षमता विकासका लागि
आउँदै गरेको पाठ्यक्रमले नयाँ आयाम थप्ने दाबी गरिन् । उनले सहपाठी मेन्टरिङ,
शिक्षक-प्रशिक्षक तालिमलगायतका विषयमा सहजीकरण गरेकी थिइन् ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइ, कास्कीका प्रमुख लोकनाथ आचार्यले प्रबोधीकरणले सामग्री खोजेर अध्ययन गर्न प्रेरणा दिएको धारणा राखे । उनले विद्यालयको विकासका लागि प्रधानाध्यापक र शिक्षकहरूको उत्तिकै भूमिका रहने बताउँदै ससाना कुरामा सुधार गर्दै अगि बढे सामुदायिक विद्यालयको उन्नति सम्भव रहेको बताए ।
शिक्षा
तालिम केन्द्र, गण्डकी प्रदेशका निमित्त प्रमुख दीपेन्द्र परियारको स्वागत तथा
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका शाखा अधिकृत नगेन्द्रप्रसाद दाहालको
सञ्चालनमा भएको कार्यक्रममा गण्डकी प्रदेशका शिक्षक, प्रधानाध्यापक, प्रशिक्षक, रोस्टर
प्रशिक्षक, स्थानीय तहका शिक्षा शाखा प्रमुख, शिक्षा विकास तथा समन्वय एकाइका
प्रमुखहरूको सहभागिता रहेको थियो ।

