बालेनकै बाटोमा धनराज, पोखराले दियो विद्यालय सञ्चालन गर्न निर्देशन (विज्ञप्तिसहित)



पोखरा । पोखरा महानगरपालिकाले विद्यालयहरू पूर्ववत् सञ्चालन गर्न निर्देशन दिएको छ ।

शिक्षक महासङ्घद्वारा काठमाडौँकेन्द्रित आन्दोलन जारी रहेको परिप्रेक्ष्यमा महानगरका मेयर धनराज आचार्यद्वारा आज जारी गरिएको  प्रेस विज्ञप्तिमा ‘शिक्षण सिकाइका क्रियाकलापहरू पुर्ववत् रूपमा नियमित सञ्चालन गर्न सरोकारवाला सबैमा महानगरपालिका निर्देशन गर्दछ’ भनिएको छ ।

यसअघि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले विद्यालय नखोल्नेलाई कारबाही गर्ने बताएका थिए 

सङ्घीय संसद्‌मा दर्ता भएको शिक्षा विधेयकमा १७ बुँदे असहमति राख्दै नेपाल शिक्षक महासङ्घले आह्वान गरेको प्रदर्शनमा देशभरका शिक्षकहरू काठमाडौँको माइतीघर मण्डलामा भेला भएर नाराजुलुस गरिरहेका छन् । आज दोस्रो दिन पनि बिहान ११ बज्दानबन्दै माइतीघरमण्डलमा जम्मा भएका शिक्षकहरूले माइतीघरदेखि बानेश्वरसम्म सडक प्रदर्शन गरे । विद्यालय बन्द गरेर काठमाडौँ उत्रिएका शिक्षकहरूले आफ्नो माग पूरा नभएसम्म नफर्किने बताएका छन् । शिक्षक महासङ्घले ट्रेड युनियनको अधिकार दिनुपर्ने, प्रधानाध्यापकको नियुक्ति शिक्षक सेवा आयोगबाट हुनुपर्ने, सरुवा, बढुवा र कारबाहीको अधिकार स्थानीय तहलाई दिन नहुने, निवृत्तिभरण तथा पेन्सनको लागि अस्थायी सेवा अवधिको पनि गणना हुनुपर्ने माग गरेका छन् । महासङ्घले राहत दरबन्दीका शिक्षक, साविक उच्च माविका शिक्षक, अस्थायी र करार शिक्षक, बाल विकास कक्षाका शिक्षक, विशेष शिक्षा र प्राविधिक धारका शिक्षकलाई आन्तरिक परीक्षाबाट स्थायीको व्यवस्था गर्नुपर्ने, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना गरी स्थायी प्रक्रियामा लैजानुपर्नेलगायत माग अघि सारेको छ ।

हेर्नुहोस् विज्ञप्तिको पूर्ण पाठः

नेपाल सरकारद्वारा हालै सङ्घीय संसद्‌मा दर्ता गरेको सङ्घीय शिक्षा ऐन २०८० प्रति असहमति जनाउँदै शिक्षकहरूद्वारा घोषित आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालयहरूमा नियमित पठनपाठन बन्द भएकोप्रति पोखरा महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।

शिक्षकहरूले आफ्नो हकहित र वृत्ति विकासलगायतका सवालमा राख्नुभएको कतिपय मागहरूप्रति स्थानीय सरकारका नाताले पोखरा महानगरपालिका संवेदनशील रहेको छ यद्यपि विद्यालयहरूको नियमित पठनपाठन तथा सिकाइका क्रियाकलापहरूसमेत अवरुद्ध हुने गरी आन्दोलनका कार्यक्रमहरू अगाडि बढाउँदा विद्यार्थीहरूको निर्बाध शिक्षा हासिल गर्न पाउने नैसर्गिक अधिकारको हनन हुन पुगेको छ ।

विद्यालय क्षेत्र शान्ति क्षेत्र भएकाले यसको मर्म, भावना, मूल्य र मान्यतालाई आत्मसाथ गर्दै विद्यार्थीहरुलाई विनाअवरोध पढ्न पाउने अधिकारबाट बञ्चित नगर्न तथा विद्यालयहरूमा नियमित पठनपाठन गराउँदै शिक्षण सिकाइका क्रियाकलापहरू पूर्ववत् रूपमा नियमित सञ्चालन गर्न सरोकारवाला सबैमा महानगरपालिका निर्देशन गर्दछ ।



Post a Comment

Previous Post Next Post