अक्षरयात्राको २०६औँ शृङ्खला सम्पन्न

 


पोखरा । पोखराबाट सञ्चालित साहित्यिक अभियान अक्षरयात्राको २०६ औँ शृङ्खला शनिवार सम्पन्न भएको छ ।

पर्यटन साहित्यको अवधारणा लिई “जीवन र जगत्‌को यथार्थबोधका लागि अक्षरयात्रा” भन्ने मूल मन्त्रसहित २०६२ साल असारदेखि गजल सन्ध्या र नवनीत साहित्य सागरद्वारा सञ्चालित कार्यक्रमको सो शृङ्खला पोखरा-५, मालेपाटनमा अवस्थित मनकामना मन्दिरको परिसरमा सम्पन्न भएको हो ।

कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पुष्पराज बरालले ‘धार्मिक सांस्कृतिक संस्थाहरू र साहित्यकारहरूले गर्ने कामको अन्तर्वस्तु भनेको देशको भाषा, संस्कृति र साहित्यको संरक्षण एवम् विकास भएकोमा जोड दिए । विभिन्न ठाउँमा गई कार्यक्रम गर्नु प्रशंसनीय काम भएको र दुई दशकदेखि निरन्तर कार्यक्रम गर्नु आफैँमा चुनौती भएको” भन्दै उनले अक्षरयात्राको प्रशंसा गरे । यात्राका परिकल्पनाकारमध्येका एक लक्ष्मण थापाले विभिन्न ठाउँमा गई तत्स्थानमा सिर्जना गरिएका रचनाहरू वाचन गर्ने यस कार्यक्रमले सर्जकहरूलाई पनि नयाँ विषयवस्तु प्राप्त हुने र ती ठाउँहरूको पनि प्रचार हुने भएकाले यस यात्राले पर्यटकीय प्रवर्धनमा पनि मदत पुग्ने बताए ।

कार्यक्रममा नेपाली लेखक सङ्घ, गण्डकीका अध्यक्ष डा. ईश्वरमणि अधिकारी, नेपाली लेखक सङ्घ, कास्कीकी अध्यक्ष रीता अधिकारी ‘ऋतु’, श्रीराम अधिकारी गोर्जे, ढाकामोहन बराल, लक्ष्मी देवकोटा, शोभाकान्त गौडेल, त्रिलोचन सापकोटा, चित्रप्रसाद बराल, रामप्रसाद पौडेल, मेघनाथ कुँवरलगायतले रचना वाचन गरेका थिए ।

गजल सन्ध्याका सदस्य माधव खतिवडा र मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पुष्पराज बरालको संयुक्त अध्यक्षतामा भएको सञ्चालन गजल सन्ध्याका सचिव त्रुपकले गरेका थिए ।

Post a Comment

Previous Post Next Post