अग्रज शिक्षासेवी नन्दप्रसाद अधिकारीको निधन

 


अनुराग अधिकारी

पोखरा ११ भाद्र अग्रज वामपन्थी नेता नन्दप्रसाद अधिकारीको सोमबार ८८ वर्षको उमेरमा निधन भएको छ ।

गत केही महिनादेखि उहाँ पार्किन्सन रोगबाट थलिनुभएको थियो । उहाँको हिजो आफ्नै निवास पोखरा ३१ सुन्दरीडाँडामा निधन भएको हो । हिजो नै उहाँको पार्थिव शरीरलाई सतीघाटमा दाहसंस्कार गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । वि. सं. १९९४ साल माघ १३ गते पिता दण्डपाणि अधिकारी र माता छलीमाया अधिकारीको छोराका रूपमा बेगनासमा जन्मनुभएको थियो । 

अधिकारीले २०१३ र १४ सालमा किसान सङ्गठन निर्माण गर्दै सामन्तवादविरोधी आन्दोलनमा सहभागी बन्नुभयो । अध्ययनका क्रममा बनारसमा रहँदा पुष्पलाल श्रेष्ठ, बलराम उपाध्याय, चन्द्रनाथ खनाललगायतका नेताहरूको समीपमा रहेर कम्युनिस्ट आन्दोलनमा लाग्नुभएका अधिकारी नेपाल फर्केपछि पनि शिक्षण पेसामा आबद्ध हुँदै शिक्षकहरूको हक हितका लागि भएका आन्दोलनमा नेतृत्वदायी भूमिका खेल्नुभएको थियो । ब्रह्मरूपा माध्यमिक विद्यालयका संस्थापक प्रधानध्यापक, नेकपा एमाले, गण्डकी प्रदेशका सल्लाहकार एवम् पोखरा महानगरपालिका वडा नम्बर ३१ का मेलमिलापकर्ता नन्दप्रसाद अधिकारी दर्जनौं सामाजिक तथा धार्मिक संस्थामा रहेर काम गर्नुभएको थियो । अधिकारीका श्रीमती, चार छोरा र दुई छोरी रहेका छन् ।

 

Post a Comment

0 Comments