कमला श्रेष्ठ,
तनहुँ । तनहुँको भिमाद नगरपालिकामा इम्युन कमी भएका बिरामीहरूको पहिचान तथा जीवन सहजतासम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
प्राइमरी
इम्युनोडिफिसियन्सिस एन्ड इन्बर्न एरर्स इनिसिएटिभको आयोजनामा भएको कार्यक्रममा नेपालकै
एक मात्र प्रतिरक्षा तथा बाल बाथरोग विशेषज्ञ डा. धर्मागत भट्टराईले इम्युन कमी
भएका बिरामीहरूको पहिचानका लागि परीक्षण महँगो पर्ने र लाक्षणिक उपचारमा जोड दिइने
हुनाले पहिचान कम हुने गरेको बताए । उनले रोगको मूल जरामा नगई वर्तमानमा देखिएको
कुरालाई मात्रै सतही उपचार गरेर रोग निको हुन नसक्ने बताए । पटक पटक कुनै लक्षण
देखिएमा इम्युन कमी भएको शङ्का गर्नुपर्ने बताउँदै डा. भट्टराईले इम्युनको कमी
भएका बिरामीको पहिचान भएपछि पनि उपचार महँगो र जटिल भएकाले राज्यले सहयोग
गर्नुपर्ने धारणा राखे ।
कार्यक्रमका प्रमुख
अतिथि भिमाद नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुनले स्वास्थ्यका क्षेत्रमा
यस्ता कार्यक्रम निकै महत्त्वपूर्ण भएको बताउँदै आफूले पनि इम्युनसम्बन्धी नयाँ
कुरा जानकारी पाएको बताए ।
संस्थाका अध्यक्ष
सन्दिप पौडेलले पटक पटक कुनै रोगको लक्षण दोहोरिएमा इम्युन कमी भएको अनुमान गरी
जाँचका लागि पठाउनुपर्ने धारणा राखे । उनले रहेक व्यक्तिको जीवन महत्त्वपूर्ण हुने
बताउँदै १/२ जनाको मात्र जीवन रक्षा भयो भने पनि उपलब्धि ठान्नुपर्ने अवस्था रहेको
बताए ।
कार्यक्रममा भिमाद प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर, स्वास्थ्यकर्मी, शिक्षक, कर्मचारी र सर्वसाधारणको सहभिगता रहेको थियो । कार्यक्रमको सञ्चालन सुरज लम्सालको सञ्चालनमा भएको कार्यक्रममा भिमाद प्राथमिक स्वास्थ्य केन्द्रका डा. सुदन अधिकारीले स्वागत गरेका थिए । विश्व PI सप्ताहका अवसरमा कार्यक्रम आयोजना गरिएको हो । हरेक वर्ष अप्रिल २२ देखि २९ सम्म PI सप्ताह मनाउने गरिन्छ ।
Post a Comment