२५६९ औं बुद्ध जयन्तीको अवसरमा कुमुदिनी होम्समा धर्मदेशना र नैतिक शिक्षा

 


पोखरा, २८ वैशाख । पोखराको गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयले २५६९ औं बुद्ध जयन्तीको अवसरमा विद्यालयमा धर्मदेशना र नैतिक शिक्षाका कुराहरु समेटिएका विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

धर्मदेशनाका लागि भिक्षु धज्जवन्तोले विद्यार्थीहरुलाई सफलता मात्रे नभई उत्कृष्टता हासिल गर्नका लागि, पढाइमा अब्बल बन्नका लागि एकाग्रता हुनुपर्ने, चञ्चलतालाई हटाउनु पर्ने विधिका बारेमा प्रयोगात्मक ध्यानसहित फाइदा हुने कुराहरु व्यक्त गरे । उनले भने, ‘बुद्धले आफ्नो जीवनकालमा मानवजातिलाई “सके राम्रो गर, नसके नराम्रो नगर” भनेर सन्देश दिएर जानुभयो । जो अहिले पनि र भोलिका लागि पनि उत्तिकै शिरोपर र मनन् गर्नुपर्ने कुरा हो ।’

भिक्षु धज्जवन्तोले साँच्चिकै मानव बन्नका लागि बुद्धले दिएका पञ्चशिलका कुराहरुले समग्र मानवजातिको कल्याणका सुरक्षाकवच भएको बताए । भने, ‘मानव भएपछि प्राणीको हिंसा नगर्ने शिक्षा ग्रहण गर्नुपर्छ । चोरी गर्दिन भन्ने शिक्षा ग्रहण गर्नुपर्छ । म व्यभिचार गर्दिन भन्ने शिक्षा ग्रहण गर्नुपर्छ । मैले चुरोट रक्सी, गाँजा आदि लागूपदार्थ सेवन गर्दिन भन्ने शिक्षा ग्रहण गर्नुपर्दछ । बुद्धका यी पञ्चशीलका पाँच कुराहरुलाई सदा ख्याल राखेर अगाडि बढ्न विद्यार्थीलाई आग्रह गर्दै भिक्षु धज्जवन्तोले भने, त्यसपछि तपाईँ जिन्दगीमा सफलताका सिंढीहरुमा चढिरहनुहुने छ ।’

कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखे, सञ्चालक मीना पालिखे, सहप्राचार्य मुकेशकुमार अधिकारी, मावि गणित शिक्षक मनबहादुर भुजेल, शिक्षक सुरेन्द्र सदिच्छालगायतको उपस्थिति रहेको थियो । सो अवसरमा भिक्षु धज्जवन्तेले विद्यालयमा वृक्षरोपण गरेका थिए ।

धागोबिना चङ्गाको उडान संभव छ त ? : चिन्तामणि योगी

धागोबिनाको चङ्गाको के काम ? चङ्गालाई सयौं माइल उड्नु छ भने उसको सहारा धागो नै हो । धागोबिना चङ्गाको उडान सम्भव छैन । धागो बलियो जरा हो तर नाम कमाइरहेको हुन्छ चङ्गाले ।

चङ्गा मस्तसँग नाचिरहेको हुन्छ । चारैतिर फन्को मारेर उडिरहेको हुन्छ । चङ्गाको त्यो उडानलाई देखेर वाह वाह भन्नेहरको ताँती लाग्छ । फोटो खिच्ने र रमाउनेहरुको लर्को लागेको हुन्छ । तर त्यो सबैको सहारा भनेको धागो नै हो ।

आइतबार काठमाडौंबाट पोखरा आएका बिख्यात गुरु चिन्तामणि योगीले धागोको कथासार सुनाइरहेका थिए पोखरा गैह्रापाटनमा रहेको यस क्षेत्रको प्रतिष्ठित विद्यालय कुमुदिनी होम्समा ।

विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले विद्यार्थीलाई किताबी ज्ञान मात्रै नभई उत्कृष्टता हाँसिल गर्नका लागि तालिम गोष्ठी, सेमिनार, मोटिभेसन, उत्प्रेरणा जगाउने कार्यक्रमहरु चाहिने भएकोले निरन्तरता दिइरहेको बताए ।

उनका अनुसार बिहानको पहिलो सेसनमा २५६९ औं बुद्ध जयन्तीको अवसरमा विद्यालयमा धर्मदेशना कार्यक्रम गरेको र सोहि सन्दर्भमा गुरु चिन्तामणीलाई निम्त्याएको बताए ।

योगी भन्दै थिए, ‘जबसम्म विद्यार्थीले धागोलाई चिन्न सक्दैनन्, बुझ्न सक्दैनन्, चिन्न सक्दैनन्, मनन् गर्न सक्दैनन् र हरदिन आदरभाव प्रस्तुत गर्न सक्दैनन् उनीहरुको भविष्य बन्न सक्दैन ।’

धागो भनेका आमा बाबा हुन् । धागो भनेका शिक्षक हुन्, गुरुहरु हुन् र हुजुर बा र हजुर आमाहरु हुन् । के उनीहरुबिना हामी चल्न सक्छौं ? उनीहरुलाई पर सारेर अगाडी बढ्न सक्छौं ? उनीहरु भएर नै त हामीले संसार देखेका हौं । शिक्षक र शिक्षासेवीहरु भएर नै त शिक्षाको उज्यालोको मार्गमा हिँड्न पाएका छौं । के उनीहरुबिनाको संसार सम्भव छ त ? त्यसैले जिन्दगी जति रमाउनु छ, प्रगति गर्नु छ, नाच्नु छ जाे संसारलाई नै जित्नु छ भने हरपल धागोरुपि आमा बाबा र गुरुहरुलाई सम्मान गर्नुपर्छ ।

धागो टुटेको चङ्गाको हालत के हुन्छ ? हुरी बतास लाग्दा हालत के हुन्छ ? यसका बारेमा हामी जानकार नै छौं योगीले भने ।

कक्षा ८, ९ र १० का विद्यार्थीका लागि नैतिक शिक्षाका कुराहरु गर्न आएका गुरु चिन्तामणीले जहिले पनि ध्यान लगाएर काममा तल्लिन हुनुपर्ने बताए । ध्यानले सुन्ने, हेर्ने, पढ्ने, लेख्ने, आफैंले आफ्नो मूल्याङ्कन गर्ने, इमान्दार बन्ने, बोल्नु पहिले प्रयोग गरिने शव्दहरुको ख्याल गर्ने, मोबाईल ग्याजेटहरुलाई टाढै राख्ने, खुसी हुने, सकारात्मक बन्ने र सहयोगी भावना भएको हुनुपर्नेमा जोड दिए ।

आफ्ना कुराहरुको बिट मार्दै गर्दा गुरु योगीले दोहोर्याएर भने, मातृ देवो भव, पितृ देवो भव, आचार्य देवो भव र गुरु देवो भव । यी कसैको मन कहिल्यै नदुखाउने मान्छे नै सर्वश्रेष्ठ हुन्छ । यिनीहरुको मन दुखाएर कहिल्यै गद्दारीको कर्म गर्नुहुँदैन ।

Post a Comment

Previous Post Next Post