पोखरा महानगरपालिकाद्वारा प्रस्तुत आव २०८२/८३ को बजेटको पूर्ण पाठ, शिक्षामा के के छन् ? - EDUCATION NEWS NEPAL

अपडेट

Sunday, June 22, 2025

पोखरा महानगरपालिकाद्वारा प्रस्तुत आव २०८२/८३ को बजेटको पूर्ण पाठ, शिक्षामा के के छन् ?



पोखरा महानगरपालिकाको १७ औँ नगरसभा शुभारम्भ भएको छ । नगरसभामा नगर प्रमुख धनराज आचार्यले आगामी आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ, उपप्रमुख मन्जुदेवी गुरुङले बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । 


विकास गतिविधिलाई व्यवस्थित रूपमा सञ्चालन गर्न, निर्वाचनको समयमा गरेका प्रतिविद्धतालाई नतिजामा परिणत गर्दै नागरिकको विश्वास आर्जन गरी समुन्नत पर्यटकीय पोखरा निर्माणको दीर्घकालीन लक्ष्य हासिल गर्ने लक्ष्यका साथ प्रस्तुत नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि रु.८ अरब ३५ करोड १२ लाखको बजेट सभामा प्रस्तुत गरिएको हो । 

सङ्घीय सरकारको सशर्त अनुदानबाट रु.३ अरब १३ करोड १२ लाख अर्थात् ३७.४९ प्रतिशत र आन्तरिक आयबाट रु.५ अरब २२ करोड अर्थात् ६२.५१ प्रतिशत व्यहोर्ने गरी महानगरपालिकाले बजेट ल्याएको हो । 

बजेटको पूर्ण पाठः

पोखरा महानगरपालिका

१७ औँ नगरसभामा पोखरा महानगरपालिकाका उपप्रमुख

श्री मन्जुदेवी गुरुङज्यूबाट प्रस्तुत

आर्थिक वर्ष २०८२।०८३ को

वार्षिक बजेट तथा कार्यक्रम

श्रद्धेय अध्यक्षज्यू,

१.         पोखरा महानगरपालिकाको यस गरिमामय १७ औँ नगरसभामा आर्थिक वर्ष २०८२।०८३ को बजेट     तथा कार्यक्रम प्रस्तुत गर्न उपस्थित भएको छु ।

२.         संघीयता पश्चात् स्थानीय सरकारको दोस्रो निर्वाचन पश्चात् चौँथो वार्षिक बजेट तथा कार्यक्रम             पोखरा महानगरपालिकाको उपप्रमुखको रूपमा प्रस्तुत गर्न पाउँदा गौरवान्वित महसुस गर्दै राजनीतिक         आन्दोलनका क्रममा इतिहासका विभिन्न कालखण्डमा राष्ट्रका नाममा सहादत प्राप्त गर्नुभएका           ज्ञात÷अज्ञात शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

३.         नेपालको संविधानको धारा २३० बमोजिम प्रस्तुत गर्न लागिएको राजश्व र व्ययको अनुमानलाई             संघीयताको जग मजबुत पार्ने, नागरिकलाई सरकारको अनुभूति दिलाउने र समुन्नत पर्यटकीय             पोखरा निर्माणको अभियानमा अगाडि बढ्ने प्रभावकारी कदमलाई प्रस्थान विन्दुको रूपमा प्रस्तुत             गरेको छु ।

४.         समुन्नत पर्यटकीय पोखराको दीर्घकालीन ध्येय र सोच बमोजिम लक्ष्य पूरा गर्न नागरिकको विकास             प्रतिको चाहना पुरा गर्दै सबल, सुसंस्कृत र सभ्य सहर निर्माण गर्ने हाम्रो अभीष्ट रहेको छ ।

६.         आगामी आर्थिक वर्ष २०८२।०८३ को बजेट तर्जुमा गर्दा नेपालको संविधान, नेपालको दीर्घकालीन         विकास लक्ष्य, सोह्रौँ योजना, पोखरा महानगरपालिकाको दीर्घकालीन सोच, महानगरपालिकाको          दोस्रो पञ्चवर्षीय योजना, मध्यमकालिन खर्च संरचना, नीति तथा कार्यक्रम, कार्यपालिका तथा            नगरसभा सदस्यहरू, महानगरपालिकाका विज्ञ सल्लाहकारहरू, राजनीतिक दल, नागरिक समाज         एवं विभिन्न क्षेत्रका सरोकारवालाहरूबाट प्राप्त सुझावलाई मुख्य मार्गदर्शनका रूपमा लिएको छु ।

सभाध्यक्षज्यू,

७.         पोखरा महानगरपालिकाको चालु आर्थिक वर्षको आर्थिक स्थितिको विश्लेषण, नीति र कार्यक्रम   प्रस्तुत गरिसकिएको छ । अव म यस सम्मानित सभामा चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमको  कार्यान्वयन समीक्षा प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

८.         चालु आर्थिक वर्षका लागि पोखरा महानगरपालिकाबाट रु.७ अरब ५१ करोड ३२ लाख ८३ हजार     बजेट विनियोजन भएकोमा ज्येष्ठ मसान्त सम्म ४ अरब १६ करोड ५२ लाख ६४ हजार खर्च भई             सुरु विनियोजनको ५५.४३ प्रतिशत खर्च भएको छ । आर्थिक वर्षको अन्त्यसम्ममा ७५ प्रतिशत खर्च हुने संशोधित अनुमान गरेको छु ।

९. चालु आर्थिक वर्षमा विनियोजित रकम मध्ये आन्तरिक स्रोतबाट रु.१ अरब ५५ करोड ५१ लाख ४० हजार आन्तरिक राजश्व सङ्कलन गर्ने लक्ष्य लिइएकोमा ज्येष्ठ मसान्तसम्म रु.९६ करोड ७३ लाख ५४ हजार सङ्कलन भई लक्ष्यको तुलनामा ६२.२० प्रतिशत प्रगति भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.७० प्रतिशतले बढी हो ।

१०       महानगरको भूगोल, जनघनत्व, सार्वजनिक सम्पत्तिको संरक्षण, फोहोरमैला व्यवस्थापन, मापदण्ड             संरक्षण, अवैध संरचना नियन्त्रण, बजार अनुगमन लगायतका कार्यहरू संघीय सरकारको स्वीकृत             दरबन्दीबाट पुरा गर्न सम्भव नभएकाले महानगरपालिकाले चालु आर्थिक वर्षमा कार्य बोझ र कार्य             चापका आधारमा तर्जुमा गरेको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण O&M, २०८१ नगरसभाबाट       स्वीकृत भई प्रदेश किताब खानामा पद दर्ताको प्रक्रियामा रहेको छ । आगामी आ.वदेखि सङ्गठन            तथा व्यवस्थापन सर्वेक्षणले तोकिदिएको सीमाभित्र रही जनशक्ति व्यवस्थापनका कार्यहरू सुरु       गरिनेछ।

११.      महानगरपालिकामा कार्यरत कर्मचारीहरूको समयानुकूल ज्ञान, सीप र दक्षता बढाउन चालु आ.व.मा            महानगरको महाशाखा/शाखा तथा वडाहरूमा कार्यरत विभिन्न तहका कर्मचारीहरूलाई प्रशिक्षण             प्रदान गरिएको छ । 

१२.      सेवा प्रवाहको अत्यधिक चाप वडा कार्यालयहरूमा रहने गरेको तथ्यलाई आत्मसात् गरी महानगरका         ३१ वटा वडा कार्यालयहरू आफ्नै व्यवस्थित भवनबाट सेवा प्रवाह भइहरेको छ । सेवा प्रवाह र विकास निर्माण कार्यमा वडा कार्यालयहरूलाई साधनस्रोतयुक्त, जिम्मेवार र अधिकार सम्पन्न बनाउँदै लगिएको छ ।

१३.      विपद् व्यवस्थापन कार्यमा संलग्न विभिन्न वडाका सामुदायिक विपद् स्वयं सेवक र महानगरमा             कार्यरत नगर प्रहरी समेतलाई सामुदायिक विपद् स्वयंसेवक तालिम प्रदान गरिएको छ ।             महानगरपालिका विपद् व्यवस्थापन कोषमा विनियोजित रकमबाट विपद्मा परेका नागरिकहरूलाई             राहत वितरण गर्नुका साथै विप्बाट क्षतिग्रस्त पूर्वाधारहरू निर्माण गरिएको छ ।

१४.      चालु आवमा नगर सभा र नगर कार्यपालिकाबाट ३ वटा ऐन र १ निर्देशिका निर्माण भएको छ ।             न्यायिक समितिमा चालु आवमा ६७ वटा मुद्दा दर्ता हुन आएकोमा अघिल्लो आ.व.बाट दायित्व सरी       आएका समेत गरी ८८ वटा विवादहरू फैसला भएको छ ।

१५.      सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण र बजार अनुगमन तथा नियन्त्रण कार्य             प्रभावकारी रूपले कार्यान्वयन गर्न आवश्यक बजेट व्यवस्था गरिएको छ ।

१६.      चालु आर्थिक वर्षमा पूर्ण खोप सुनिश्चितता, एच.पी.भी.खोप अभियान, घर घरमा नसर्ने रोग             सम्बन्धी रोगहरूको स्किनिङ्ग सम्पन्न गर्नुका साथै स्थानीय स्तरमा विभिन्न रणनीति तथा             कार्यविधिहरूको निर्माणले संस्थागत मजबुतीको आधार निर्माण गरेको छ ।

१७.      स्वास्थ्य क्षेत्रको मानसिक स्वास्थ्य रणनीति, शिशुवा अस्पताल व्यवस्थापन समिति कार्यविधि,             आर्थिक खर्च सञ्चालन निर्देशिका, स्वास्थ्य अनुसन्धान, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको    प्रोत्साहन कार्यविधि, विद्यालय नर्स कार्यक्रम कार्यविधि लगायत नीतिगत दस्ताबेजहरू निर्माण   गरिएको छ ।

१८.      विभिन्न स्वास्थ्य संस्थाको भवन निर्माण सम्पन्न भई हस्तान्तरण गरिएको छ । निजी मेडिकल             कलेजहरूको सहकार्यमा थप स्थानमा सेवा विस्तार गरिएको छ । सेवा प्रवाह र गुणस्तर सुधारका             लागि नियमित मातृ शिशु सेवा, ख्क्ष्ब् स्क्रिनिङ, सुरक्षित गर्भपतन, क्षयरोग उपचार, मानसिक             स्वास्थ्य परामर्श सेवा र चार वटा स्वास्थ्य संस्थामार्फत स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी रूपमा             सञ्चालन गरिएको छ ।

१९.      नवजात शिशु मृत्युदर ५ प्रति हजारमा झरेको छ, जुन राष्ट्रिय लक्ष्यभन्दा उत्कृष्ट हो । यद्यपि मातृ मृत्युदर ११९ प्रति लाख जीवित जन्ममा पुगेको छ । यो विगत तीन वर्षको तुलनामा बढ्दो देखिएकाले विशेष ध्यान दिन आवश्यक छ ।

२०.      विश्व बैङ्कको सहयोगमा निर्माणाधीन तालचोक–बेगनास ताल सडक, शिशुवा शिसाघाट र बाघमारा–          पुँडीटार सडक आगामी आ.व. भित्र सम्पन्न हुने चरणमा रहेका छन् ।

२१.      चालु आ.वमा ३१ कि.मी.पक्की सडक, १४ कि.मी.कच्ची सडक निर्माण सम्पन्न भएको छ ।             लामाचौर–माछापुच्छ्रे सडकको अकला खण्डसम्म सडक विस्तार गरी अस्फाल्ट गरिएको छ ।             साझादेखि तिबेटीयन क्याम्प सडक र बिपी मार्ग स्तरोन्नति गर्ने कार्य, ढल्केपुल–सिलिङ्गे सडक,             काफलघारी–सुर्केमैदान सडक, बुढीबजार खराने सुर्केमैदान सडक जस्ता रणनीतिक महत्वका             सडकहरू सम्पन्न हुने चरणमा रहेका छन् ।

२२.      हाँडीखोला पुल, खुइतेखोला पुल, खुँदिखोला पुल पहिलो, खुँदिखोला पुल दोस्रो, ठुलो मझुवा पुल       गरी पाँच वटा मोटरेवल पुल निर्माण सम्पन्न भई फिर्केपुल पहिलो, फिर्के खोला राधाकृष्ण मार्ग             दोस्रो आगामी आ.व.मा सम्पन्न गर्ने गरी कार्य भइरहेको छ ।

२३.      चालु आवमा वडा नं.५,,१७, २७ र ३१ का वडा भवनहरू सम्पन्न भएका छन् । वडा नं.४             बहुउद्देश्यीय भवन, मानव सेवा आश्रम भवन, विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय भवन, गण्डकी बहु प्राविधिक शिक्षालय भवन, दमकल र नगर प्रहरी भवन निर्माण कार्य सम्पन्न भएका छन् ।             सशस्त्र प्रहरी बल म्ष्बकतभच च्ष्कप च्भमगअतष्यल दगष्मिष्लन र पोखरा घर निर्माणको कार्य             अन्तिम चरणमा रहेका छन् ।

 

२४.      चैनपुर–सातमुहाने सहलगानी खानेपानी आयोजना र ओखले खानेपानी आयोजना सम्पन्न भएका             छन् । कृष्ति निर्मल पोखरी–भरतपोखरी सहलगानी खानेपानी आयोजना र लामागाउँ खानेपानी             आयोजना निर्माणको चरणमा रहेका छन् ।

२५.      आपतकालिन अवस्थामा लैङ्गिक हिंसाबाट प्रभावित, मनोसामाजिक समस्या लगायत विभिन्न             जोखिमपूर्ण अवस्थामा रहेका महिला, बालिका तथा किशोरीहरू समेत ८५ जनाको उद्धार, राहत             तथा पुनस्र्थापनासँगै  न्यायमा पहुँच अभिवृद्धि गरिएको छ । दशै प्रकारका अपाङ्गता भएका             व्यक्तिहरूलाई लक्षित गरी अपाङ्गता मैत्री कार्यक्रमहरू सञ्चालनमा ल्याइएका छन् । चालु आ.व    मा १९४ जना अपाङ्गता भएका व्यक्तिहरूलाई परिचयपत्र वितरण गरिएको छ ।

२६.      महानगर माता र महानगर पिताको रूपमा ज्येष्ठ नागरिकहरूको सम्मान तथा आवासीय ज्येष्ठ             नागरिक आश्रमहरू र दिवा सेवा केन्द्रहरूलाई आवश्यक सहयोग साथै ज्येष्ठ नागरिक लक्षित             स्वास्थ्य शिविरहरू सञ्चालन गरिएको छ । दलित, जनजाति, लैङ्गिक अल्पसंख्यक तथा सीमान्तकृत         समुदायलाई लक्षित गरी विविध कार्यक्रमहरू सञ्चालन गरिएको छ ।

२७.      नेतृत्व विकास, कानुनी सचेतना, शैक्षिक सहजता जस्ता कार्यक्रमहरूलाई महिला लक्षित गर्दै             महिलाको उद्यमशीलता, व्यावसायिकता र आर्थिक सशक्तीकरण तथा क्षमता विकासको लागि रु.१       करोड ३० लाख बजेट लगानी गरिएको छ । चालु आ.व मा महानगर क्षेत्र भित्रका विपन्न तथा             मध्यम आय भएका ३२ घरपरिवारको आवास निर्माण तथा मर्मत सम्भार कार्यको लागि रु.१             करोड ५० लाख बजेट परिचालन गरिएको छ ।

२८.      नेपालमै पहिलो पटक ३६ वटा कृषि उपजको न्यूनतम समर्थन मूल्य तोकी बजार मूल्य ग्यारेन्टी             सुनिश्चित गर्दै किसान घाटामा नजाने सुनिश्चितताका लागि कुल १,३०,६७८ केजी च्याउ, ,४९३             केजी ब्रोकाउली, ८४,४३३ केजी काउली, २०,९६९ केजी बन्दा, ७२,६८६ केजी गोलभेँडाको             समर्थन   मूल्य ग्यारेन्टी गरिएको छ ।

२९.      कृषि कार्यलाई आधुनिकीकरण गर्न कृषि यान्त्रिकीकरणको लागि १६६ थान हाते ट्र्याक्टरको             वितरण गर्न सम्झौता गरिएको छ । साना र सीमान्त किसानलाई आर्थिक सहयोग पुर्‍याइ परम्परागत          गोरु पालन प्रणाली संरक्षण गर्ने, प्राङ्गारिक खेती बढाउने र स्थानीय अर्थतन्त्र सुदृढ बनाउने उद्देश्यका साथ ५५० हल गोरु पालक किसानलाई रु.५५ लाख प्रोत्साहन वितरण गरिएको छ ।

३०.      अभियान मुखी हिउँदे खेती प्रवद्र्धन कार्यक्रम अन्तर्गत १५०० रोपनीमा गहुँ तोरी बिस्तार गरिएको             छ । सयपत्री फुल प्रवद्र्धन गर्न १ सय ५४ कृषकलाई बिउ वितरण गरिएको छ । चालु आवमा             महानगरको २०० रोपनी क्षेत्रमा तरबुजा खेती बिस्तार गरिएकोमा २०० टन उत्पादन भई करिब २             करोड बराबरको कारोबार भएको छ ।

३१.      किसानहरूलाई सहज र प्रभावकारी सिँचाई सुविधा, बाली सघनतामा वृद्धि, खेती योग्य जमिन             विस्तार र कृषि उत्पादकत्व वृद्धि यस आबमा ४० वटा आयोजना छनौट, १४ वटा प्लास्टिक             पोखरी निर्माणका लागि छनौट भई सञ्चालनको क्रममा रहेका छन् । महानगरको ग्रामीण क्षेत्रमा             उत्पादन भएका तरकारी तथा फलफूलजन्य उत्पादनहरूलाई गाउँमा नै सङ्कलन गरी कृषि एम्बुलेन्स           मार्फत बजार क्षेत्रमा बस्ने उपभोक्ताहरूको घरदैलोसम्म पुर्‍याउने काम गरिएको छ । हालसम्म            करिब १०० टन कृषि उपज सङ्कलन तथा बिक्री वितरण गरिएको छ ।

३२.      पशुपन्छीका लागि ६५ प्रकारका निःशुल्क औषधि वितरण, खोप तथा कृत्रिम गर्भाधान सेवा,             पशुपन्छीमा लाग्ने रोग परीक्षण र नगर क्षेत्रका ५९,५७० पशुको उपचार गरिएको छ । ११,२५७             पशुहरूको रोग निदान गरिएको छ । पशुहरूमा उन्नत नस्लको विकास तथा बिस्तारका लागि             कृत्रिम गर्भाधान सेवा प्रदान गरिएको छ । राष्ट्रिय परोपकार महासंघसँगको साझेदारीमा पोखरा             १४ वाच्छिवुडुवामा गौशाला व्यवस्थापन गरिएको छ । नगर क्षेत्रका १५०० कुकुरलाई रेबिज             विरुद्धको खोप र १५० कुकुरको वन्धाकरण गरिएको छ ।

३३.      बाँझो जमिनमा घाँस प्रवद्र्धनको कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिएको छ । साझेदारीमा             गोठ तथा भकारो सुधार कार्यक्रम अन्तरगत १०० वटा फर्मलाई सहायता प्रदान गरिएको छ । ३             स्थानमा बाख्रा स्रोत केन्द्र र मागको आधारमा यान्त्रीकरणमा सहयोग कार्यक्रम अन्तर्गत ३५ वटा             फर्मलाई सहयोग गरिएको छ ।

३४.      सहकारीहरूको क्षमता विकास कार्यक्रम अन्तर्गत विभिन्न चरणमा क्षमता अभिवृद्धि तालिम सञ्चालन           गरिएको छ । सूचकमा आधारित १०१ सहकारीको अनुगमन पश्चात् आवश्यक सुधारका लागि     सुझाव तथा निर्देशन दिइएको छ । बजार अनुगमनको कार्य प्रभावकारी रूपमा सञ्चालन गरिएको             छ । समस्याग्रस्त २ सहकारीको वित्तीय विश्लेषण गरी कारबाहीको प्रक्रियामा राखिएको छ ।

३५.      व्यवसाय प्रवद्र्धन केन्द्र मार्फत ३२३ जना प्रशिक्षार्थीहरूलाई विभिन्न प्रकारका सीपमूलक तालिमहरू          प्रदान गरिएको छ । स्थानीय उत्पादन तथा प्रोत्साहन कार्यक्रम Make in Pokhara, Made    in Pokhara अन्तर्गत स्थानीय कच्चा पदार्थ वा स्थानीयमा उत्पादन हुने सामाग्रीको लागि लागत    साझेदारी गरिएको छ ।

३६.      पोखरा भ्रमण वर्ष २०२५ घोषणा भई विविध प्रवद्र्धनात्मक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।      पर्यटन प्रबद्र्धनमा सघाउ पुग्ने गरी ड्रागन बोट रेस फेस्टीवल, क्रस कन्ट्री रेस, पोखरा म्याराथन,             अन्तर्राष्ट्रिय योग शिविर, हट एअर बेलुन लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेला महोत्सवहरू             सम्पन्न भएका छन् ।

३७.      साबिक देखीका पुराना नक्साहरूको अभिलेख व्यवस्थित नहुँदा नागरिकलाई पर्न आएको असुविधालाई      ध्यानमा राखी चालु वर्षमा ६९ हजार घर नक्साहरूको डिजिटाइजेसन सम्पन्न भएको छ । चालु   वर्षमा ६ सय भवनहरू‌को अभिलेखीकरण सम्पन्न भएको छ । जग्गा विकास कार्यक्रमलाई व्यवस्थित          गरी राजश्वमा योगदान पुग्ने गरी जग्‌गा विकास मापदण्ड तर्जुमा गरी लागू गरिएको छ ।

३८.      न्यूरोड टेक्टाइल मार्ग, जिरो–विन्ध्यवासीनी टेक्टाइल मार्ग निर्माण प्रकृयामा रहेको छ ।             मुस्ताङ्चोक–राष्ट्रबैक चोक रोड डिभाइडर निर्माण गरिएको छ ।

३९.      लामेआहालमा अस्थायी व्याण्डफिल्ड व्यवस्थापन‌का लागि आवश्यक पूर्वाधार निर्माण लगायत             नियमित कार्यक्रमहरू सञ्चालन भएका छन् । सार्वजनिक निजी साझेदारीमा फोहोरमैला प्रशोधन             केन्द्र नमुनाका रूपमा सञ्चालन गर्ने गरी प्रस्ताव आव्हान भएकोमा प्रस्तावदाता छनौट भएको छ । आगामी आवमा प्रस्तावदातासँग सम्झौता गरी निर्माण प्रक्रिया अगाडि बढाइने छ ।

४०.      प्राविधिक शिक्षाको आवश्यकतालाई मध्यनजर गर्दै पोखरा महानगरद्वारा स्थापित गण्डकी बहुप्राधिक          शिक्षालयको व्यवस्थित सञ्चालन गरिएको छ । शिक्षालयमा डिप्लोमा इन अटोमोवाईल      इन्जिनियरिङ, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, डिप्लोमा इन फार्मेसी, प्रमाणपत्र तह सामान्य चिकित्सा (HA) लगायत ७ वटा विषयका कक्षाहरू सञ्चालन गरिएको छ । कक्षा ८ को  परीक्षालाई व्यवस्थित गरी अन्तर परीक्षा केन्द्र निर्धारण मार्फत परीक्षा सञ्चालन गरी नतिजा  प्रकाशन गरिएको छ ।

४१.      स्थानीय पाठ्यक्रमलाई समय सुहाउँदो बनाउन पाठ्यक्रम परिमार्जन गरी एग्रो टुरिजम र हस्पिटालिटी सम्बन्धी विषयवस्तुहरू थप गर्ने प्रक्रिया अगाडी बढाइएको छ । विगत आ.व. देखि नेपाल सरकारले बजेट मार्फत घोषणा गरेको बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीहरूको पारिश्रमिकमा मासिक रु. ७ हजार थप गरी पारिश्रमिक उपलब्ध गराइएको छ ।

४२.      चालु आर्थिक वर्षमा श्रवण दृष्टिविहीन विद्यार्थीका लागि स्रोत कक्षा सञ्चालनमा ल्याइएको छ ।             अटिजम र बौद्धिक अपाङ्गता भएका विद्यार्थीका लागि स्रोत कक्षा सञ्चालन अन्तिम  चरणमा रहेको    छ । राष्ट्रपति रनिङ् शिल्ड लगायत विद्यालय स्तरीय खेलकुद प्रतियोगिताहरू सम्पन्न गरिएका छन्।

४३.      नगर युवा परिषद् मार्फत नमुना नगरसभा, युवा उद्यमशीलता, युवाहरूको नेतृत्व तथा क्षमता             विकास, कानुनी सचेतना लगायतका प्रशिक्षणमूलक  कार्यक्रमहरू सम्पन्न गरिएका छन् ।

 

 

 

 

 

 

सभाध्यक्षज्यू,

अव म आर्थिक वर्ष २०८२।०८३ को बजेट तथा कार्यक्रमका उद्देश्य तथा प्राथमिकता उल्लेख गर्ने अनुमति चाहन्छु ।

बजेटका उद्देश्यहरुः

Ø पर्यटकीय राजधानी पोखराको पर्यटकीय पूर्वाधारको विकास गर्ने

Ø उत्पादनमुलक व्यावसायिक कृषि प्रणालीको विकास गर्ने

Ø समानुपातिक विकास प्रक्रिया अवलम्बन गर्ने

Ø फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन मार्फत प्रर्दूषण नियन्त्रण गर्ने

Ø सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै उत्पादनशील उपयोग गर्ने

Ø सभ्य, सुसंस्कृत र व्यवस्थित सहरीकरणको विकास गर्ने 

Ø सामाजिक न्याय, लैङ्गिक समावेशीकरण र सहभागितामूलक विकासका माध्यमबाट समतामूलक समाजको निर्माण गर्ने

Ø आधारभूत शिक्षा र स्वास्थ्य सेवाको प्रत्याभूत गर्ने

 

बजेटका प्राथमिकता देहाय बमोजिम तोकिएको छ ।

Ø हरित, उत्थानशील र दिगो पूर्वाधार विकास

Ø पर्यटन प्रवर्धन

Ø वातावरण संरक्षण, सम्वद्र्धन तथा फोहोरमैला व्यवस्थापन

Ø समावेशी, सन्तुलित र समतामूलक विकास

Ø संस्थागत विकास, सुशासन प्रवद्र्धन तथा गुणस्तरीय सेवा प्रवाह

Ø स्वरोजगार, उद्यमशीलता तथा व्यावसायिक कृषि प्रणालीको प्रवद्र्धन

Ø गुणस्तरीय, जबाफदेही र प्रतिस्पर्धी मावनस्रोत विकास

सभाध्यक्षज्यू,

अव म, यो सम्मानित सभा समक्ष आगामी आर्थिक वर्ष २०८२।०८३ को क्षेत्रगत बजेट तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

 

संस्थागत विकास तथा सुशासन तर्फः

४४.      सेवाको पहुँचबाट विमुख ग्रामीण क्षेत्रमा रहेका नागरिकहरूलाई लक्षित गरी ग्रामीण तथा विकट             क्षेत्रमा सम्भाव्य सेवाहरू घरदैलो मै प्रदान गर्ने गरी घुम्ती शिविर सञ्चालन गर्न आवश्यक बजेटको             व्यवस्था मिलाएको छु । महानगरपालिकामा कार्यरत कर्मचारी, जनप्रतिनिधि र सञ्चारकर्मीहरू             समेतको विषयगत क्षेत्रको ज्ञान, सीप र दक्षता अभिवृद्धि गर्न तालिम र प्रशिक्षण कार्यक्रम सञ्चालन           गर्न रु.४० लाख विनियोजन गरेको छु ।

४५.      महानगरबाट प्रवाह गरिने सेवा तथा सुविधाहरू, कर्मचारी र सेवाग्राही बिचको कार्य व्यवहार, सेवा      प्राप्त गर्न लागेको समय, सेवा बापतको मूल्य, परिमाण तथा गुणस्तरका सम्बन्धमा सेवाग्राहीसँग             राय प्रतिक्रिया माग गर्नका लागि सूचकहरूमा आधारित सेवाग्राही सन्तुष्टि फारम भर्न लगाई             प्रतिवेदन लिइने छ । यस कार्यका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।

४६.      महानगरपालिकामा सूचनाको हक सम्बन्धी ऐन २०६४ तथा सूचनाको हक सम्बन्धी नियमावली २०६५   बमोजिम सुशासन प्रवर्धनका लागि सूचना माग गर्ने सरोकारवाला सेवाग्राहीलाई प्राथमिकतापूर्वक             सूचनाहरू उपलब्ध गराइएको छ । चालु आर्थिक सूचनाको हक सम्बन्धी जनचेतना जगाउन आवश्यक           विनियोजन भएको छ ।  

४७.      सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ बमोजिम खरिद प्रक्रियालाई व्यवस्थित,             प्रविधिमैत्री र सरल तथा सरोकारवालाको पहुँचयोग्य बनाउन खरिद कार्यमा संलग्न जनशक्तिलाई             क्षमता विकासको लागि आवश्यक बजेट विनियोजन गरेको छु ।

४८.      विपद् व्यवस्थापन कार्यमा खटिने जनशक्तिहरूको क्षमता विकासका लागि तालिम तथा             अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ । विपद् जोखिम न्यूनीकरण, विपद् पूर्व तयारी, राहत,             उद्धार, प्रतिकार्य र पुन स्थापना लगायतका लागि Rapid Response Team व्यवस्थापनका             गर्न रु.३ करोड २४ लाख विनियोजन गरेको छु ।

४९.      न्यायिक समितिका काम कार्वाहीहरुलाई व्यवस्थित गर्दै महानगरको आवश्यकता बमोजिम आवश्यक           ऐन कानुन निर्माण र मुद्दाको फैसला कार्यान्वयन, सामाजिक मेलमिलापकर्ताहरूको अभिमुखीकरण,   कानुनी सचेतना अभिवृद्धि लगायत कार्यका लागि रु.१ करोड ४४ लाख बजेट विनियोजन गरेको             छ।

५०.      नगर क्षेत्रमा हुने अवैध कार्यहरू नियन्त्रणका लागि कानुन कार्यान्वयनमा महानगरीय प्रहरी बलको             अनुगमन कार्यलाई प्रभावकारी बनाउन प्रहरीहरूको लागि आवश्यक सुरक्षा सामग्री खरिद र दुर्घटना   बिमा कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था मिलाइएको छ ।

५१.      राजश्व परिचालनलाई प्रभावकारी बनाउँदै करको दायरा विस्तार गर्ने नीति बमोजिम सम्पत्ति तथा             मालपोत करको दरमा एकरूपता ल्याउन मालपोत तथा नापी कार्यालयसँग आवश्यक समन्वय             गरिनेछ । भुक्तानी प्रणालीलाई कर सूचना प्रणाली र भू–सूचना प्रणालीमा आबद्ध गर्दै डिजिटल             प्रणाली मार्फत राजश्व भुक्तानी गर्ने व्यवस्था मिलाएको छु ।

५२.      करदाताहरूलाई स्थानीय तहबाट सङ्कलन हुने कर तथा दस्तुरहरूको जानकारी उपलब्ध गराउन कर        सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाएको छु । समयमै कर दाखिला गर्ने             कार्यलाई प्रोत्साहन गर्न सम्पत्ति, मालपोत र व्यवसाय कर पौष मसान्त भित्र दाखिला गरेमा १५             प्रतिशत छुट दिने व्यवस्था मिलाएको छु । युवा उद्यमीले नव प्रवर्तनात्मक व्यवसाय गरेमा थप ५             प्रतिशत छुट दिने व्यवस्था मिलाएको छु ।

५३.      विपत्तिमा परेका परिवार, परम्परागत शैलीका पुराना घरहरू साबिक कै स्थान र शैलीमा निर्माण             गरेमा, अपाङ्गता भएका व्यक्तिले अपाङ्गतामैत्री पहुँचयुक्त घर निर्माण गरेमा नक्सा पास दस्तुरमा             छुट दिने व्यवस्था मिलाएको छु ।

५४.      स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले तोके बमोजिम इजाजत प्राप्त गरी भवन निर्माण कार्य ४ वर्षसम्म निर्माण कार्य सम्पन्न हुन नसकेका भवनहरूको हकमा आर्थिक ऐनले तोकेको विलम्ब शुल्क लिई घर सम्पन्न प्रमाणपत्र दिने व्यवस्था गरिनेछ । नक्सा पास विना निर्माण भएका सबै प्रकारका भवन संरचनाहरूलाई महानगरपालिकाको अभिलेखमा आबद्ध गरी एकीकृत सम्पत्ति कर प्रणालीमा आबद्ध गरिनेछ ।

५५.      राजस्व असुलीलाई प्रभावकारी बनाउन स्थलगत अनुगमन गरी व्यवसाय दर्ता नियमन तथा दण्ड             जरिवाना कार्यान्वयन गर्न राजस्व गस्ती टोली परिचालनको व्यवस्था मिलाइने छ । आन्तरिक आय     विस्तारको लागि नगर क्षेत्र भित्र रहेका पर्यटकीय स्थलहरूलाई महानगर मातहत ल्याई पर्यटन             शुल्क सङ्कलन गर्ने प्रक्रिया अगाडी बढाइने छ ।

५६.      पत्रकारिता क्षेत्रको प्राज्ञिक विकास, सञ्चारको सवलिकरण तथा खोज पत्रकारिता प्रोत्साहन,             सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि र लेखनवृतिका लागि आवश्यक तालिम तथा प्रशिक्षण             कार्यक्रमहरू सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।

            महानगरपालिकाको प्रशासनिक तथा कार्यालय  सञ्चालन र कार्यक्रम सञ्चालनका लागि नगर             कार्यपालिकाको कार्यालय खर्च केन्द्र अन्तरगत रु.९५ करोड विनियोजन गरेको छु ।

स्वास्थ्य तर्फः

५७.      निःशुल्क आधारभूत स्वास्थ्य सेवा महानगर अन्तर्गतका सबै स्वास्थ्य संस्थाहरूबाट  नियमित उपलब्ध             हुँदै आएको छ । सोका लागि ९८ प्रकारका औषधि तथा उपकरणहरू नियमित उपलब्ध गराउने   व्यवस्था मिलाइएको छ । यसका लागि सशर्त तथा  तथा आन्तरिक गरी रु.१ करोड ६ लाख ९३             हजार विनियोजन गरेको छु ।

५८.      आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक जनशक्ति तथा स्वास्थ्य संस्थाहरूको व्यवस्थित          सञ्चालनका लागि सशर्त तथा आन्तरिक स्रोतबाट रु.१४ करोड ९० लाख विनियोजन गरेको छु ।

५९.      आगामी आर्थिक वर्षमा जनसंख्याका, भूगोल, महानगरमा उपलब्ध श्रोत तथा समयको परिवर्तनसँगै        महानगरवासीको बढ्दो आवश्यकता परिपूर्ति गर्न हाल कायम स्वास्थ्य संस्थाहरूको स्तरोन्नति,          स्थानान्तरण तथा कटौती गरी स्वास्थ्य सेवालाई सुदृढीकरण गर्ने कार्य आगामी आ.व.मा सम्पन्न   गरिने छ ।

६०.      महिलाहरूमा हुने प्रमुख स्वास्थ्य समस्याहरू जस्तै पाठेघरको मुखको क्यान्सर, गर्भवती तथा सुत्केरी   अवस्थामा हुने जोखिम न्यूनीकरणको लागि गर्भावस्थामा हुने मेडिकल जाँचको  लागि रु.१४ लाख     बजेट व्यवस्था गरेको छु ।

६१.      सशर्त अनुदानमा मातृ तथा नव शिशु कार्यक्रमको  निरन्तरताका लागि रु.२२ लाख १ हजार              विनियोजन गरेको छु ।

६२.      बालबालिका तथा किशोर किशोरीहरूको स्वास्थ्य संवद्र्धन तथा प्रवर्धन गर्न खोप सेवा, पोषण सेवा,     नवजात शिशु तथा बाल्यकालीन रोगहरूको एकीकृत व्यवस्थापन तथा किशोर किशोरी मैत्री स्वास्थ्य सेवाका लागि आवश्यक विनियोजन गरेको छु ।

६३.      दिनानुदिन बढ्दै गएको नसर्ने रोगको प्रकोपलाई कम गर्न समयमा नै रोगको पहिचान गरी उपचारको           दायरामा ल्याउने कार्यका लागि समुदाय स्तरमा विभिन्न स्किनिङ् कायक्रर्महरू सञ्चालन गरिनेछ।           सोका लागि ४० वर्ष माथिका सबै नागरिकहरूको स्क्रिनिङ गर्ने, बृद्धबृद्धा, असक्त, दीर्घरोग लागेका,   असहाय तथा विपन्न नागरिक लक्षित घरघरमा स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गर्न रु.४३ लाख             बजेट व्यवस्था गरेको छु ।

६४.      संघीय सरकारको अनुदानमा मिर्गौला प्रत्यायोजन गरेका, डायलिसिस गराइराखेका, क्यान्सर रोगी             र मेरुदण्डको पक्षघात भएका बिरामीहरूलाई मासिक औषधि उपचार खर्च बापत रु.२ करोड ६८             लाख विनियोजन गरेको छु ।

६५.      स्वास्थ्य बिमा कार्यक्रमको दायरा फराकिलो पारी बढी भन्दा बढी नगरवासीको पहुचं पुर्‍याउन             आवश्यक समन्वय, सहयोग र सहकार्य गरिनुका साथै विपन्न नागरिकहरूले उपचारबाट वञ्चित भई        अकालमा ज्यान गुमाउन नदिन महानगरबाट पहिचान गरिएका विपन्न घरपरिवारलाई परिचय             पत्रका आधारमा बिमा गरिदिने व्यवस्था मिलाइएको छ । सो कार्यका लागि आगामी आ.वमा             रू.३० लाख बजेट विनियोजन गरेको छु ।

६६.      विद्यार्थीहरूको स्वस्थ व्यवहार प्रवद्र्धन गर्दै मेधावी तथा लगनशील जनशक्ति उत्पादनका लागि केही      सामुदायिक विद्यालयहरूमा नमुनाका रूपमा आगामी वर्षदेखि विद्यालय नर्स÷स्वास्थ्यकर्मी  कार्यक्रम            सञ्चालन गर्न रु.२२ लाख ५० हजार बजेट विनियोजन गरेको छु ।

६७.      स्वास्थ्य संस्थाहरूको भवनको मर्मत संहार र स्वास्थ्य सेवा प्रवाहको रेकर्डिङ प्रणाली सबै संस्थामा             डिजिटलाईजेसन गर्न रु.८० लाख विनियोजन गरिएको छ । डेंगी, कोभिड–१९ लगायत सरुवा रोग,         महामारी नियन्त्रण, विपद् व्यवस्थापन तथा प्रतिकार्यका लागि बजेट व्यवस्था गरेको छु ।

६८.      तथ्यमा आधारित योजना निर्माणका लागि तथा महानगरमा रोगको भार तथा त्यसको असर यकिन             गर्न अनुसन्धान गर्ने कार्यका लागि बजेट व्यवस्था गरेको छु । संघीय तथा प्रदेश सरकारसँगको             समन्वयमा तरकारी, फलफूल लगायतका खाद्यपदार्थमा हुने मिसावट तथा विषादी प्रयोगको नियमन र नियन्त्रणका लागि आवश्यक बजेट व्यवस्था गरेको छु ।

६९.      महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई प्रदान गर्दै आएका सेवा तथा सुविधाहरूलाई             निरन्तरता दिइएको छ । ६० वर्ष पुगी अनिवार्य अवकाश हुने स्वयंसेविकालाई प्रोत्साहन स्वरूप             महानगरले रु.५०,००० रकम एकमुस्ट उपलब्ध गराउन रु.१३ लाख विनियोजन गरेको छु ।

७०.      महानगरको एक मात्र आधारभूत अस्पताल शिशुवा अस्पतालमा विशेषज्ञ सेवा बिस्तार गर्न हालै             स्वीकृत सङ्गठन तथा व्यवस्थापन सर्भे बमोजिमका सेवा तथा जनशक्ति थप गरी गुणस्तरीय र             विशेषज्ञ सेवा उपलब्ध गराउन रु.१ करोड २० लाख विनियोजन गरेको छु । ज्येष्ठ नागरिक र गर्भवतीहरूलाई एम्बुलेन्स सेवाका लागि आवश्यक व्यवस्था मिलाएको छु । महानगरको ग्रामीण             भेगमा रहेको जनतालाई लक्षित गरी मुख स्वास्थ्य कार्यक्रम बिस्तार गर्न रु.११ लाख विनियोजन             गरेको छु ।

७१.      आगामी आर्थिक वर्षमा संघीय सशर्त अनुदान रु.१९ करोड ४ लाख र महानगरपालिकाको आन्तरिक           स्रोतबाट स्वास्थ्य सेवामा रु.११ करोड ९८ लाख गरी कुल रु.३१ करोड २ लाख विनियोजन         गरेको छु ।

शिक्षातर्फः

७१.      न्यून वेतन‌मा कार्यरत बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता एवं विद्यालय कर्मचारीहरूका लागि     न्यूनतम तलब सुविधा उपलब्ध गराई मनोबल वृद्धि गरी समग्र शैक्षिक गुणस्तर अभिवृद्धिमा टेवा             पुर्‍याउन रु. ४ करोड ४८ लाख बजेट विनियोजन गरेको छु । महिला शिक्षकहरूको प्रसूति बिदाको             समयमा विद्यार्थीको पठनपाठनलाई नियमित गर्न प्रसूति सट्टा शिक्षकको साबिकको व्यवस्थालाई             निरन्तरता दिएको छु ।

७२.      विद्यालय तहदेखि विभिन्न विधामा उत्कृष्ट खेलाडी उत्पादन गर्ने कार्यमा सघाउ पुर्‍याउने राष्ट्रपति             रनिङ शिल्ड प्रतियोगिता लगायत कार्यक्रमलाई निरन्तरता दिएको छु । नगर क्षेत्रमा आयोजना हुने नगरस्तरीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद गतिविधिहरूमा साझेदारी गर्दै महानगरको   समग्र खेलकुद विकासका लागि रु.१ करोड ५८ लाख विनियोजन गरेको छु ।

७३.      पोखरा प्रज्ञा प्रतिष्ठान पुनर्गठन गरी प्रज्ञा प्रतिष्ठान मार्फत कला, संस्कृति, साहित्य, सङ्गीत, नाट्य             तथा प्राज्ञिक क्षेत्रका विविध कार्यक्रम सञ्चालन तथा विभिन्न विद्यामा उत्कृष्ट कार्य गर्ने             व्यक्ति/व्यक्तित्व/संस्थालाई पोखरेली नवरत्न सम्मान प्रदानका लागि रु. ४० लाख बजेट विनियोजन         गरेको छु ।

७४.      युवालाई राष्ट्र निर्माणमा अभिप्रेरित गरी बिदेसिने क्रमलाई क्रमशः कम गर्दै लैजाने नीति अनुरूप             युवा क्रियाशीलता वृद्धि गर्दै उद्यमशीलता एवं आयआर्जन समेतका युवा लक्षित कार्यक्रम सञ्चालन गर्न सिपमूलक तालीम, Startup कार्यक्रम सञ्चालन गर्न रु.३५ लाख बजेट विनियोजन गरेको छु ।

७५.      ७ वटा प्राविधिक विषयमा अध्ययन अध्यापन भइरहेको गण्डकी बहुप्राविधिक शिक्षालयमा आगामी वर्षदेखि थप २ वटा प्राविधिक विषयहरू थप गरी पठनपाठन सञ्चालन गरिने छ । बहुप्राविधिक             शिक्षालयको समग्र शैक्षिक गतिविधि सञ्चालनका लागि रु.१ करोड ८५ लाख विनियोजन             गरेको छु ।  

७६.      विद्यार्थीको दिवा खाजा कार्यक्रम मार्फत विद्यार्थीको विद्यालय भर्ना र विद्यालय नियमित जान             प्रोत्साहन मिलेको छ । विद्यालय छोड्‌ने दरमा कमी आएकोले आधारभूत तह पूरा गर्ने विद्यार्थी             संख्या वृद्धिको सकारात्मक नतिजा प्राप्त भएको छ । संघीय सरकारबाट प्राप्त स्रोतमा रु.१० थप गरी प्रति विद्यार्थी दिवा खाजा खर्चका लागि रु.४ करोड विनियोजन गरेको छु ।

७७.      विद्यार्थीहरूको पठनपाठन अवस्थाबारे अभिभावकसँग परामर्श गर्न प्रदेश सरकारसँगको साझेदारीमा         अभिभावक शिक्षा एवं विद्यार्थी वृत्ति परामर्श सेवा कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट   व्यवस्था गरेको छु ।

७८.      शिक्षा क्षेत्रका समग्र गतिविधि सञ्चालन गर्न महानगर तर्फ रु.१८ करोड ९५ लाख र संघीय सशर्त             अनुदान तर्फ रु.१ अरब ५४ करोड ३८ लाख ९१ हजार गरी कुल रु.१ अरब ७३ करोड ३३ लाख             ९१ हजार विनियोजन गरेको छु ।

 

सामाजिक विकासतर्फः

७९.      उपप्रमुखसँग महिला कार्यक्रमलाई निरन्तरता दिएको छु । लैङ्गिक हिंसा विरुद्ध पुरुषको ऐक्यबद्धता         कार्यक्रमका लागि रु.१० लाख, महिलाहरूको सीप तथा क्षमता विकास, एकल महिला, एच.आइ.भी       सङ्क्रमित महिला, आमा समूह, टोल विकास संस्थाहरू समेतको लागि रु.५० लाख र वडा नं ३३         मा सञ्चालन हुने प्रादेशिक दीर्घकालीन पुनस्र्थापना केन्द्रको लागि रु.१५ लाख विनियोजन गरेको छु ।

८०.      बालबालिकाको क्षेत्रमा विविध कार्यक्रम सञ्चालन गर्ने गरी रु.४५ लाख, दशै प्रकारका अपाङ्गता          भएका व्यक्तिहरूलाई अपाङ्गतामैत्री कार्यक्रमका लागि रु.५५ लाख र ज्येष्ठ नागरिकहरूलाई लक्षित     गरी रु.२१ लाख छुट्टाएको छु ।

८१.      सडकमा आश्रित तथा सहयोगापेक्षी मानव व्यवस्थापनको लागि मानव सेवा आश्रमलाई रु.१५ लाख,    अन्य सामाजिक क्षेत्रका विविध पक्षहरू समेट्ने गरी रु.४३ लाख, विपन्न तथा मध्यम आय भएका             परिवारको आवास निर्माण तथा मर्मतसंभार कार्यका लागि सहुलियत ब्याजदरमा प्रति व्यक्ति रु.८             लाख परिचालन गर्ने गरी व्यवस्था मिलाएको छु ।

८२.      समग्र सामाजिक विकास (शिक्षा, स्वास्थ्य समेत) का कार्यक्रमहरू सञ्चालन गर्न कुल रु.३८ करोड    ५० लाख विनियोजन गरेको छु ।

पूर्वाधारतर्फः

८३.      महानगर स्तरीय ३५ वटा बहुवर्षिय योजना सम्पन्न गर्न रु.८७ करोड बजेट विनियोजन गरेको छु।             बहुवर्षिय योजनालाई वर्षेभरि बजेट अभाव हुन नदिने गरी चालु वर्षमा नयाँ कार्यक्रम अगाडि             बढाउने व्यवस्था मिलाएको छु ।

८४.      सबै वडाहरूको सन्तुलित विकास गर्ने नीति अनुरूप वडा कार्यालयहरूको पूर्वाधार निर्माण गर्न १             अरब बजेट प्रस्ताव गरेको छु । वडा कार्यालयको प्रशासनिक तथा कार्यालय सञ्चालन तर्फ रु.६             करोड विनियोजन गरेको छु ।

८५.      सहरी सडकहरू स्तरोन्नति गर्ने कार्य कमशः कार्यान्वयन भइरहेको छ । सहरी सडक अस्फाल्ट,             कङ्क्रिट गर्न रु.१५ करोड व्यवस्था गरेको छु ।

८६.      पोखरा महानगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि जग्गा प्राप्ति प्रक्रिया सम्पन्न भई             प्रशासकीय भवन निर्माण कार्यको पहिलो त्रैमासिक भित्र ठेक्का प्रक्रिया अगाडि बढाइनेछ । यसका   लागि रु.२५ करोड विनियोजन गरेको छु ।

८७.      सडक सुरक्षाका लागि रंगरोगन, रेलिङ, ब्यारीकेड समेत कार्यका लागि रु.१ करोड बजेट व्यवस्था             गरेको छु ।

८८.      सडक पूर्वाधारहरूको गुणस्तर कायम गर्न हाल सञ्चालनमा रहेको पूर्वाधार गुणस्तर नियन्त्रण             प्रयोगशालाको स्तरोन्नति गरिनेछ । यसका लागि रु.१ करोड बजेट प्रस्ताव गरेको छु ।

            महानगरपालिकाको पूर्वाधार विकास लागि कुल रु.२ अरब ३३ करोड विनियोजन गरेको छु ।

आर्थिक विकासतर्फः

८९.      पर्यटन, कृषि, उद्योग र ब्यापारः आर्थिक समृद्धिको आधार भन्ने नाराका साथ कृषि उत्पादन             प्रवद्र्धनको लागि कृषि यान्त्रीकरणको लागि रु.३० लाख, उत्पादन सामाग्रीको लागि रु.३० लाख,             स्थानीय पशुपन्छी फारममा उत्पादित मल खरिद तथा ढुवानीको लागि ५० प्रतिशत लागत             साझेदारीको लागि रु.१० लाख, अभियानमुखी हिउँदे खेती प्रवद्र्धन योजनाको लागी रु.१० लाख,    कृषि उपज सङ्कलन केन्द्र र किसान बजार साझेदार बजारमा सङ्कलन भएका उत्पादनमा तोकिएको           न्यूनतम समर्थन मूल्यको १० प्रतिशतका दरले प्रोत्साहनको लागि रु.१५ लाख, चैते धान, सुन्तला बगैँचा व्यवस्थापन, आलु प्रवद्र्धन, तरबुजा खेती, पुष्प खेती, मसला बाली, रैथाने बाली प्रवद्र्धन             कार्यक्रमको लागि रु.१ करोड ८० लाख विनियोजन गरेको छु ।

९०.      पोखरा महानगरपालिकाको भूमि वर्गीकरणको लागि रु.३० लाख, कृषि ऋणमा लाग्ने ब्याजमा ५०       प्रतिशत सहुलियत दिने कार्यक्रमका लागि रु.१५ लाख विनियोजन गरेको छु । पोखरा             महानगरपालिकाभित्र सिँचाइ क्षेत्र विस्तारको लागि रु.५५ लाख विनियोजन गरेको छु । कम्तीमा             १ रोपनी क्षेत्रफलमा कफी खेती गर्नेलाई प्रति बिरुवा वापत ५० रुपैयाँ प्रोत्साहन उपलब्ध गराइ १०       हजार बिरुवा रोपणको लागि रु.५ लाख विनियोजन गरेको छु ।

९१.      आकस्मिक रोगकीरा, प्राकृतिक बिपद् तथा जंगली जनावरबाट हुने क्षति न्यूनीकरण तथा             व्यवस्थापनको लागि रु.१६ लाख, वडा स्तरमा कृषि संजालको समन्वयमा कृषि कार्यक्रम संचालनका         लागि रु.८२ लाख ५० हजार, कृषि बजार व्यवस्थापनको लागि रु.१ करोड २० लाख, कृषि उपजको      व्यावसायिक जोखिम न्यूनीकरण र बजार सुनिश्चितताका लागि न्यूनतम समर्थन मूल्य सुनिश्चित            गर्दै किसानको लगानी सुरक्षित गर्नको लागि रु.५० लाख विनियोजन गरेको छु ।

९२.      उत्पादन स्थलमा सङ्कलन केन्द्र र उपभोग क्षेत्रमा किसान बजार र साझेदार बजार स्थापनाको             लागि रु.२० लाख, ग्रामीण क्षेत्रबाट नियमित उपज सङ्कलन गरी कृषि एम्बुलेन्स मार्फत सहुलियत           दरमा उपभोक्तासम्म पुर्‍याउनको लागि रु.१५ लाख विनियोजन गरेको छु । ताजा उत्पादनको         गुणस्तर कायम राख्न श्री कम्प्लेक्सको साझेदारीमा कोल्ड चेन प्रविधि सहितको बजार सञ्चालनको       लागि रु.१० लाख विनियोजन गरेको छु ।

९३.      पशुजन्य उत्पादनमा वृद्धि, आर्थिक उपार्जन सहितको समृद्धि भन्ने मान्यताका साथ गोठ तथा खोर             सुधार कार्यक्रमको लागि रु.१५ लाख, साझेदारीमा यान्त्रीकरण सहयोगको लागि रु.१० लाख बजेट     विनियोजन विनियोजन गरेको छु । पशुपन्छीको रोग निवारणका लागि निःशुल्क सेवा, खोप तथा             औषधिको व्यवस्थापनका लागि लागि रु.३० लाख विनियोजन गरेको छु ।

९४.      पशुपन्छीपालन व्यवसाय प्रवद्र्धन, पशु नस्ल सुधार, घाँसको आहारा व्यवस्थापन र बाँझो जमिनमा             घाँस खेती विस्तार गर्नको लागि रु.२५ लाख विनियोजन गरेको छु । खसी बोका प्रवद्र्धनको लागि             प्रति केजी रु.२० का दरले उत्पादनको आधारमा प्रोत्साहन सहयोग गर्ने व्यवस्था मिलाएको छु ।

९५.      तपाईँ हाम्रो रहर, स्वच्छ महानगर भन्ने नारालाई सार्थकता दिनेगरी घरायसी फोहर व्यवस्थापन र             कौसी खेतीको लागि रु.७ लाख, पुष्करिणी परोपकार गोकुलधामसँगको साझेदारीमा आधुनिक             गौशाला मार्फत छाडा पशु व्यवस्थापनको लागि रु.३० लाख विनियोजन गरेको छु ।

९६.      सामुदायिक कुकुर नियन्त्रण र दर्ताको लागि माइक्रो चिप्स प्रविधिको प्रयोगको साथै भ्याक्सिनेसन             अभियान सञ्चालन को लागि रु.५ लाख तथा साझेदारीमा कुकुर होस्टेल सञ्चालन को लागि रु.१०    लाख र खाद्य तथा उपभोक्ता सचेतना कार्यक्रमको लागि रु.१० लाख विनियोजन गरेको छु ।

९७.      महानगर र सहकारी, हाम्रो साझेदारी कार्यक्रम अन्तरगत सहकारी क्षेत्रको लागि रु.९२ लाख बजेट             विनियोजन गरेको छु । सहकारीलाई उद्यमशील बनाउन एक सहकारी एक व्यावसायिक उत्पादनमा             जोड दिँदै बजारीकरणमा सहजीकरणको लागि रु.३० लाख विनियोजन गरेको छु । सहकारीको             सूचकमा आधारित अनुगम तथा नियमन तथा समस्याग्रस्त र जटिल अवस्थाका सहकारीहरुको             वित्तीय विश्लेषणको लागि रु.३० लाख विनियोजन गरेको छु ।

९८.      स्थानीय उत्पादन प्रवद्र्धनको लागि मेक इन पोखरा र मेड इन पोखरा ब्रान्डिङको लागि रु.१५ लाख     बजेट विनियोजन गरेको छु । आइडिया मार्ट, नवप्रवर्तनमा आधारित स्टार्टअप उद्यमीलाई प्रोत्साहित          गर्न तथा ऋय(धयचपष्लन क्उबअभरद्यगकष्लभकक क्ष्लअगदबतष्यल ऋभलतभच स्थापना तथा संचालनको लागि रु.४२ लाख विनियोजन गरेको छु ।

९९.      वृद्धिमुखी उद्यमशीलता रोजगार प्रवद्र्धन कार्यक्रम अन्तरगत पढदै कमाउँदै कार्यको लागि घण्टा             अनुसार इन्टर्न परिचालन गर्न श्रम बजारको मागअनुसार सीपयुक्त जनशक्ति तयार तालिमको लागि             रु.६० लाख, रोजगार बैंकलाई निरन्तरता दिदै विभिन्न संघसंस्थाको साझेदारीमा रोजगार मेला             संचालन तथा व्यवसायको प्रणाली सुधारका लागि व्यवसायको हेल्थ चेक अप गर्नको लागि रु.२०    लाख विनियोजन गरेको छु । व्यवसाय प्रवद्र्धन तथा उद्योगक्षेत्रको लागि रु.२ करोड ३० लाख             विनियोजन गरेको छु ।

१००.    पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार,             पर्यटकीय पूर्वाधार विकास र सेवाको गुणस्तर अभिवृद्धि गर्ने कार्यका लागि रु.१ करोड विनियोजन             गरेको छु । प्रकृतिमा हराउनुहोस्, संस्कृतीमा रमाउनुहोस् भन्ने मान्यताका साथ Slow Tourism प्रवर्धन गर्दै बसाइ अवधी लम्बाउने गरी बिभिन्न टुर प्याकेजको विकास गरी पोखरालाई प्राकृतिक,             सांस्कृतिक, साहसिक पर्यटनको सुरक्षित तथा आकर्षक गन्तव्यको रूपमा विकास गर्न लागि रु.५०    लाख विनियोजन गरेको छु ।

१०१.    विभिन्न संघसंस्थाहरूको साझेदारीमा पर्यटन प्रवद्र्धन गर्नका लागि रु.१ करोड ५० लाख, पर्यटन    सम्बन्धित कार्यक्रमहरू, साहासिक खेल, कला, संस्कृति, योग, ध्यान (-Meditation_) लगायतका         सम्मेलनहरूको आयोजना, र प्रकृति पदयात्रा -Nature Walks_ तथा चरा अवलोकन -Bird         Watching_  जस्ता गतिविधिहरू, रोपाईं महोत्सव, आलु महोत्सव, अन्तर्राष्ट्रिय पर्यटन दिवस, खाना महोत्सव, तीज महोत्सव, दाँई मेला लगायतका महोत्सवहरू सञ्चालनको लागि रु.७५ लाख      विनियोजन गरेको छु । महानगरपालिकाको समग्र पर्यटन प्रवद्र्धनका लागि रु.५ करोड ५० लाख            विनियोजन गरेको छु ।

सहरी विकास, पर्यटन, वन तथा वातावरणतर्फः

१०२.    विश्व बैङ्कको सहयोगमा सञ्चालित नेपाल सहरी शासकीय पूर्वाधार आयोजना अन्तर्गत तालचोक–         बेगनास सडक, शिशुवा–शिशाघाट सडक र बागमारा–लामगादि–लामेआहाल–पँुडीटार सडक निर्माण   कार्य सम्पन्न गर्न रु.९२ करोड ४७ लाख विनियोजन गरेको छु ।

१०३.    एसियाली विकास बैङ्कको सहयोगमा सञ्चालित सहरी उत्थानशील तथा जीवनयापन सुधार आयोजना           अन्तर्गत पोखरा ड्रेनेज, सडक, फुटपाथ र स्ट्रिट सुधार, पञ्चासे इको विकास तथा पहुँच मार्ग      निर्माण, पुरानो पोखरा सम्पदा वस्ति संरक्षण, रानीवन इको ट्रेल तथा फेवाताल सुधार कार्यक्रम,             शान्ति वन बोटानिकल गार्डेन, सेती गर्ज (गल्छी) के आई सिंह पुलमा स्काइवाक र पोखरा             अन्तर्राष्ट्रिय विमानस्थलदेखि लेकसाइडसम्मको फास्टट्र्याक निर्माण जस्ता दीर्घकालीन महत्वका            परियोजनाहरू म्एच् तयार गरी सञ्चालन गरिने छन् । जसका लागि रु.३७ करोड २६ लाख     बजेट विनियोजन गरेको छु ।

१०४.    पोखरा महानगरपालिका र सार्वजनिक निजी साझेदारीमा अत्याधुनिक फोहोरमैला प्रशोधन केन्द्र             सञ्चालनको कार्य प्रारम्भ गरिनेछ । पोखरा–३२ लामेआहाल स्थित अस्थायी ल्याण्डफिल्ड साइट     व्यवस्थापन गर्नका लागि रु.३ करोड ९१ लाख बजेट विनियोजन गरेको छु ।

१०५.    पोखरालाई स्वच्छ हराभरा बनाई हरित सहरका रूपमा विकास गर्न ऋभिबल ऋष्तथ न्चभभल ऋष्तथ   परियोजना सञ्चालन गर्दै सहरी वन व्यवस्थापन र वृक्षारोपण तथा संरक्षण अभियानलाई निरन्तरता           दिन रु.१ करोड २० लाख विनियोजन गरेको छु ।

१०६.    मुक्ति क्षेत्र प्रवेशद्वारका लागि रु.१ करोड ४० लाख, फेवा बिच निर्माणका लागि रु.१ करोड ५०             लाख र पुरानो बस्ती संरक्षण (वडा नं.४) का लागि रु.५० लाख विनियोजन गरेको छु । पर्यटकीय             राजधानी पोखराको सार्वजनिक स्थल, चोक, सडकमा उज्यालो पोखरा कार्यक्रम अन्तर्गत जडान             गरिएका सडक बत्तीको विद्युत् महसुल खर्चका लागि रु.७० लाख विनियोजन गरेको छु ।

१०७.    WEB GIS मा आधारित डिजाइन Base Map को तयारी तथा मेट्रिक प्रणालीमा आधारित घर             नम्बर प्रणालीको विकास र स्थापना साथै सामाजिक–आर्थिक विवरणसँग एकीकरण गर्ने कार्यका             लागि रु.३ करोड विनियोजन गरेको छु ।

१०८.    फेवातालको गाईघाट लगायत अन्य क्षेत्रमा माटो निकाल्ने तथा चेकड्याम निर्माण गर्न रु.१ करोड             विनियोजन गरेको छु । तल तलैयामा जम्मा भएको माटो निकाल्नको लागि मसिन -Amphibious Excavator_ खरिद गर्न रु.१ करोड ५० लाख विनियोजन गरेको छु ।

१०९.    सहरी क्षेत्रको मुख्य सडक, सार्वजनिक स्थलहरूको नियमित सरसफाइ तथा बोट बिरुवा गोडमेलका         लागि इगत क्यगचअष्लन मार्फत कार्य गर्न रु.२ करोड ५० लाख विनियोजन गरेको छु । सार्वजनिक         निजी साझेदारीमा कार्यक्रम सञ्चालन गर्न तथा कार्यक्रममा म्याचिङ्ग गर्न रु.३० लाख विनियोजन         गरेको छु ।

११०.    आठ छिमेकी पालिका तथा दुई मितेरी पालिकाकाहरुसँग साझेदारी गरी पर्यटन पूर्वाधार निर्माणका             लागि अनुदानका लागि रु.१ करोड ५० लाख विनियोजन गरेको छु । सहरी विकास पर्यटन, वन             तथा वातावरण तर्फ रु.३८ करोड विनियोजन गरेको छु ।

सभाध्यक्षज्यू,

अव म माथिका नीति तथा  कार्यक्रमहरू कार्यान्वयनका लागि बजेट विनियोजन र स्रोत व्यवस्थापनको अनुमान प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

१११.    आगामी आर्थिक वर्षका लागि बजेटका उद्देश्य तथा प्राथमिकता पूरा गर्न प्रस्तावित कार्यक्रमहरू             कार्यान्वयनका लागि रु.८ अरब ३५ करोड १२ लाख बजेट विनियोजन गरेको छु । उक्त बजेटको             खर्च व्यहोर्ने स्रोतहरूमा संघीय सरकार शसर्त अनुदानबाट रु.३ अरब १३ करोड १२ लाख अर्थात्  ३७.४९ र आन्तरिक आयबाट रु.५ अरब २२ करोड अर्थात् ६२.५१ प्रतिशत बेहोरिने छ ।

११२.    खर्च केन्द्रगत रूपमा नगर कार्यपालिकाको कार्यालय तर्फ रु.९५ करोड अर्थात् १८.१५ प्रतिशत,             सामाजिक विकास तर्फ रु.३८ करोड अर्थात् ७.२८ प्रतिशत, आर्थिक विकास तर्फ रु.१८ करोड             अर्थात् ३.४५ प्रतिशत, वडा कार्यालय तर्फ १ अरब अर्थात् १९.१६ प्रतिशत, पूर्वाधार तर्फ रु.२             अरब ३३ करोड अर्थात् ४४.६४ प्रतिशत, सहरी विकास पर्यटन वन तथा वातावरण तर्फ ३८ करोड    अर्थात् ७.२८ प्रतिशत बजेट प्रस्ताव गरिएको छ ।

११३.    पोखरा महानगरपालिकाको आर्थिक विधेयक २०८२ तथा विनियोजन विधेयक २०८२ सम्मानित             सभामा पेस गरेको छु । आन्तरिक राजश्व परिचालन तर्फ रु.३ अरब २३ करोड ७२ लाख २७             हजार अर्थात् ६१.८६ प्रतिशत रहेको छ । स्थानीय राजश्व बाँडफाँडबाट रु.१ अरब १ करोड १९             लाख १४ हजार अर्थात् १९.३३ प्रतिशत, प्रदेश राजश्व बाँडफाँडबाट रु.४ करोड २८ लाख ७२             हजार अर्थात् ०.८० प्रतिशत, संघीय राजश्व बाँडफाँडबाट रु.३३ करोड ८ लाख ४० हजार अर्थात्             ६.३२ प्रतिशत, संघीय समानिकरण अनुदानबाट रु.५२ करोड ८७ लाख अर्थात् १०.१० प्रतिशत,             प्रदेश समानिकरण अनुदानबाट रु.८ करोड १५ लाख ४६ हजार अर्थात् १.५९ प्रतिशत बेहोरिनेछ।

 

राजश्व प्रशासन सुधारः

११४.    राजस्व प्रशासनको क्षमता अभिवृद्धि गरी कर प्रणालीलाई चुस्त, सरल, प्रविधि र करदातामैत्री             बनाउँदै व्यवसायी र करदाताको कर परिपालना अभिवृद्धि गर्न र कर चुहावट नियन्त्रण गर्न             प्रभावकारी उपायहरू अवलम्बन गरिनेछ ।

११५.    सबै करदाताको विवरण डिजिटल प्रणालीमा आबद्ध गरी Integrated Tax Portal अन्तर्गत           Individual Tax Id को लागू गरिनेछ । करदाताले घरमै बसी मोबाइल एपबाट कर/राजश्व तिर्ने व्यवस्था अर्थात् ई– पेमेन्ट व्यवस्था गरी कार्यान्वयनमा ल्याइने छ ।

११६.    महानगरपालिकाको राजश्व सुधार योजना बनाई राजश्व प्रशासन क्षेत्रको संस्थागत क्षमता अभिवृद्धि             गरिनेछ । महानगर क्षेत्रभित्रका भवन संरचनाको नक्सापास दस्तुर, सम्पत्ति कर, व्यवसाय कर,             बहाल कर तथा अन्य सेवा शुलक सङ्कलन तथा घरजग्गा मूल्याङ्कन प्रणालीलाई यथार्थपरक बनाउन GPS व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याइनेछ ।

११७.    राजश्व असुली र परिपालनालाई विकास निर्माण र आयोजना सञ्चालनसँग आबद्ध गरिनेछ । कर             निर्धारणलाई प्रविधिमा आधारित बनाई सुदृढ र व्यवस्थित गरिनेछ ।

खर्च प्रणालीः

११८.    खर्च प्रणालीलाई सरल, सहज र व्यवस्थित गर्न आगामी आ.व.देखि सबै खर्च केन्द्रहरूमा विद्युतीय            भुक्तानी प्रणाली पूर्ण रूपमा लागु गरिने छ । आम्दानी र खर्चको विवरण दैनिक रूपमा डिजिटल            माध्यमबाट प्रकाशन गरिनेछ ।

अन्त्यमा,

            प्रस्तुत बजेट तर्जुमा गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने, स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति, बजेट तथा कार्यक्रम तर्जुमा समिति, राजश्व परामर्श समिति, विषयगत समिति, नेपाल सरकार, गण्डकी प्रदेश सरकार, महानगरपालिकाका महाशाखा, शाखा र एकाइहरू, नगरसभा सदस्यज्यूहरू र सम्पूर्ण कर्मचारीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । बजेट तर्जुमा जति महत्वपूर्ण छ, यसको कार्यान्वयनबाट यसको सार्थकता झल्किन्छ । यसर्थ, बजेट कार्यान्वयनमा नगरसभासदज्यूहरु, कर्मचारी संयन्त्र, नागरिक समाज, सञ्चार माध्यम, विकास साझेदार एवं सम्बद्ध सबै सरोकार बालाहरूबाट रचनात्मक सहयोगको अपेक्षा गर्दै समृद्ध पोखरा निर्माणमा सबैले आ आफ्नो क्षेत्रबाट योगदान गर्ने आशा एवं विश्वास व्यक्त गर्दछु ।

जय पोखरा, जय पोखरावासी ।

धन्यवाद ।

 

मन्जुदेवी गुरुङ

नगर उपप्रमुख, पोखरा महानगरपालिका

मिति : २०८२।०३।०८ गते आइतबार




No comments:

Post a Comment