पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक पराजुलीलाई बिदाइ

 साधारण जीवन र शालिन व्यवहारका पर्याय पराजुली’


पोखरा
, साउन ११ गते । पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक वसन्तप्रसाद पराजुलीलाई बिदाई गरिएको छ । सेवा निवृत्त भएका इतिहास तथा संस्कृति विभागका सहप्राध्यापक पराजुलीलाई आइतबार विभागले एक समारोहका बीच बिदाई गरेको हो ।

विभाग सभाहलमा भएको कार्यक्रममा पराजुलीलाई ३० वर्ष सेवा अवधि पूरा गरेकोमा दोसल्ला ओढाएर सम्मान पनि गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि क्याम्पस प्रमुख प्रा.डा. हरिप्रसाद पाठक, इतिहासका पूर्व विभागीय प्रमुख प्रा.डा. ज्ञानबहादुर कार्की, सहायक क्याम्पस प्रमुख शंकरनाथ पौडेल, इतिहास विभाग प्रमुख नारायणप्रसाद ढकाल लगायतले पुष्पगुच्छा, दोसल्ला र मायाको चिनो प्रदान गरेका थिए ।

क्याम्पस प्रमुख पाठकले शिक्षण अवधिमा पराजुलीको योगदानको चर्चा गर्दै सुखद् निवृत्त जीवनको कामना गरे । ‘उहाँले शैक्षिक तथा प्रशासनिक नेतृत्वमा जिम्मेवार र कुशल ढंगले कार्यभार पूरा गर्नुभयो ।’ डा. पाठकले भने – ‘पराजुली सर सेवा निवृत्त हुनुभएपनि उत्तिकै सक्रिय र उर्जाशील हिसाबमा जीवन अघि बढाउनुहुनेछ भन्ने कामना गर्दछौँ ।

सहायक क्याम्पस प्रमुख शंकरनाथ पौडेलले सहप्राध्यापक पराजुलीसँगको सौहार्द सम्बन्धको स्मरण गर्दै सक्रिय र स्वस्थ जीवनको लागि शुभकामना व्यक्त गरे । इतिहास विभागका पूर्व प्रमुख प्रा.डा. ज्ञानबहादुर कार्कीले इतिहास विभागलाई आजको यो अवस्थामा ल्याउन सहप्राध्यापक पराजुलीको अग्रणी भूमिका रहेको उल्लेख गरे ।


कार्यक्रमको अध्यक्षता समेत गरेका इतिहास विभागका प्रमुख नारायण ढकालले सहप्राध्यापक पराजुलीले ३ वर्ष विभागको नेतृत्व गर्दा उल्लेख्य प्रगति गरेको बताउँदै इतिहास विषयमा विद्यार्थीहरुको रुची बढ्दै गएको उल्लेख गरे । ‘साधारण जीवन र शालिन व्यवहार बसन्त पराजुली सरको पर्याय हो । सबैसँग मिल्न सक्ने भएकै कारण मनमा, मुटुमा, आँखामा बसन्त सर रहिरहनुहुनेछ । सेवा निवृत्त भएपनि विभागलाई उहाँको सहयोग मिलिरहनेछ ।’ विभाग प्रमुख ढकालले भने सेवा निवृत्त सहप्राध्यापक पराजुलीले तीन दशक लामो शिक्षण पेशा नै पहिचानको आधार भएको उल्लेख गर्दै आफूले शिक्षा क्षेत्रका लागि सक्दो दिएको र सन्तुष्टि मिलेको बताए । उनले शुभकामना र सम्मानका लागि आभार पनि व्यक्त गरे ।

उपप्राध्यापक चन्द्रकान्त पौडेलले स्वागत तथा विभागका सदस्य तोयनारायण देवकोटाले सञ्चालन गरेको बिदाई कार्यक्रमा लेखा प्रमुख पुष्पराज पौडेल र विद्यार्थी विपिन आचार्यले पराजुलीले गरेको शैक्षिक योगदानको प्रशंसा गरेका थिए ।

इतिहास विभागको तर्फबाट सहप्राध्यापक डा. दीर्घमान गुरूङ, सहप्राध्यापक अर्जुन बहादुर भण्डारी, पूर्व विभागीय प्रमुख राधा भण्डारी लगायतले बरालसँगको लामो सहकार्यका अनुभव साझा गरे ।


Post a Comment

Previous Post Next Post