पोखरा, साउन १५ गते । पोखरामा पहिलो पटक आरयु फेस्ट हुने भएको छ । पोखरा महानगरपालिकासँगको सहकार्यमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को आर्थिक सहयोग तथा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) को प्राविधिक सहयोगमा पोखरामा सञ्चालित रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना (GCRU) अन्तरगत आरयु फेष्ट (RU FEST 2025 ) गर्न लागिएको हो ।
यही श्रावण १६ र १७ गते
बुलौदी स्थित पोखरा इभेन्ट सेन्टरमा फोहोरलाई खजना (मोहोर) बनाउने मुलमन्त्र सहित
यो फेस्टिभल आयोजना गरिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले
बताउनुभयो । बिहीबार आयोजित पत्रकार
भेटघाट कार्यक्रममा बोल्दै नगर प्रमुख आचार्यले पोखरा लगायत सिङ्गो मुलुकको हरित
विकासका लागि एक नवीनतम प्रयासका रूपमा फेस्टिभल स्थापित हुने अपेक्षा समेत व्यक्त
गर्नुभयो । फेस्टिभलले सृजनशीलता, नवप्रवर्तन र दिगोपनाका
लागि हातेमालो गर्दै वातावरणमैत्री र सुरक्षित भविष्य निर्माण गर्ने लक्ष्य राखेको
उहाँले बताउनुभयो ।
“दैनिक जीवनमा
प्रयोगहीन सामाग्रीहरू रिसाइक्लिङ र अपसाइक्लिङ गरी हरित रोजगारी सिर्जना सहित
चक्रीय अर्थतन्त्रको निर्माणमा फेस्टिभलले नयाँ ज्ञान, सीप र मार्गदर्शन प्रदान गर्नेछ, नगर प्रमुख
आचार्यले भन्नुभयो, यसले उद्यमशीलता र रोजगारी सिर्जनामा
महत्त्वपूर्ण योगदान गर्नेछ ।” फेस्टिभलमा
रिसाइक्लिङ र अपसाइक्लिङ सम्बन्धी नेपालको मौलिक सीप र दक्षिण कोरियाको चक्रीय
अर्थतन्त्रमा यसले पारेको सकारात्मक प्रभाव र प्रेरणादायी अनुभवहरू आदान प्रदान
गरिने उहाँले बताउनुभयो ।
फेस्टिभलमा देशभरिका
नवप्रर्तनयुक्त रिसाइक्लिङ र अपसाइक्लिङ उत्पादनहरूको प्रदर्शनी, फोहोरलाई उपयोगी वस्तुमा रूपान्तरण गर्ने प्रक्रियाको प्रत्यक्ष प्राविधिक
डेमो सो, जलवायु, दिगो पर्यटन विकास,
हरित उद्यमशीलता र प्लास्टिक टु रोड प्रविधि माथि संवाद, युवाहरूका लागि सिर्जनात्मक कार्यशाला, सार्वजनिक
कला प्रदर्शनी, सहभागितामूलक गतिविधिहरू प्रस्तुत, दक्षिण कोरियाको सफलता अनुभवमाथि विशेष संवाद सत्र, हरित
रोजगारी, बजार पहुँच र दिगो जीविकोपार्जनका उपायहरू लगायत
विषयहरू माथि चर्चा परिचर्चा हुनेछ ।
हाल रिसाइक्लिङ र
अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना अन्तरगत कोइकाको ९.८ मिलियन
अमेरिकी डलर र युएनडिपीले ०.८७ मिलियन अमेरिकी डलर आर्थिक सहयोगमा पोखरामा जिभिजेड
सेन्टर निर्माण भइसेको छ । नयाँ बजार स्थित प्रदर्शनी केन्द्रमा कोसेली घर
निर्माणको काम भइरहेको छ । पोखरा महानगरपालिका क्षेत्रमा १३६ वटा सामुदायिक
समूहहरू निर्माण गरी उनीहरूलाई आवश्यक तालिम तथा प्राविधिक प्रशिक्षण पनि प्रदान
गरिएको छ । “यस परियोजनाले युवाहरूलाई रोजगारीसँग जोड्ने छ भने, हरित अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण योगदान गर्नेछ ।” नगर प्रमुख
आचार्यले भन्नुभयो ।
फोहोरमैलाको उचित
व्यवस्थापन मार्फत हरित रोजगारी सृजना र चक्रीय अर्थतन्त्रको सृजनशील उपयोग आम
समुदायका लागि निकै महत्त्वपूर्ण हुने विश्वास गरिएको छ । हरित अर्थतन्त्रमा
योगदान पुर्याउने आरयू उद्यमहरूलाई बढवा दिन दिगो नीतिको सुनिश्चितता सहित
महानगरपालिकाले परियोजनाको स्वामित्वमा लिनेछ । परियोजना मार्फत आगामी २
वर्षमा ३
हजार रोजगारी सृजना गर्ने लक्ष्य राखिएको छ ।
फेस्टिभल उत्सुक
विद्यार्थीहरू, उद्देश्यमूलक उत्पादनहरू, दूरदर्शी नीतिनिर्माताहरु र जिज्ञासु नागरिकहरूका लागि यो फेस्टिभल
सहकार्य, सृजनशीलता र सकारात्मक कदमको साझा मञ्च बन्नेछ ।
पर्यटकीय राजधानी पोखरालाई हरित, दिगो र स्मार्ट बनाउने
यात्रामा हातेमालो गर्न पोखरा महानगरपालिकाले आम पोखरेलीहरूलाई सार्वजनिक आह्वान
समेत गरेको छ ।