काठमाडौँ । कवि अल्पज्ञानीद्वारा लिखित कवितासङ्ग्रह 'उज्यालो पर्खिरहेको मानिस' एक समारोहबिच लोकार्पण गरिएको छ ।
शुक्रबार
काठमाडौँ मोडेल कलेजको सभाहल, बागबजार, काठमाडौँमा पुस्तकको लोकार्पण गर्नुहुँदै
कार्यक्रमका प्रमुख अतिथि मदन पुरस्कार बिजेता वरिष्ठ साहित्यकार एवम् सञ्चारकर्मी
डा. नवराज लम्सालले उज्यालो पर्खिरहेको मानिस पूर्वीय दर्शन र समाजको गहिरो छाप
रहेको र यसले कविलाई थप परिष्कृत गरेको बताए । लम्सालले भने –"कवितामा रहस्य
र प्रश्न छन् । अल्पज्ञानीका कवितामा वस्तुगत चेतनामाथि आत्मगत चेतनाको हावी भएको
छ । उनले आफ्ना कवितामा प्रश्न छाडी उत्तरको खोजीका लागि पाठकलाई जिम्मेवारी दिएका
छन् । वास्तवमा उज्यालो यात्रा व्यक्ति मात्र नभई सिङ्गो सृष्टिकै उज्यालो पर्खाइ
हो ।"
कृतिमाथि
आफ्ना समीक्षात्मक टिप्पणी राख्दै समालोचक तथा त्रि.वि.का उपप्राध्यापक डा. अशोक
थापाले अल्पज्ञानीका कविताले जीवनको उज्यालो आशा देखाएको र मान्छेको वर्तमानका
विसङ्गतिमाथि व्यङ्ग्य प्रहार गरेको बताए । उनले भने, "अल्पज्ञानीका कवितामा उज्यालोलाई
सकारात्मकता र अँध्यारोलाई नकारात्मकताबिचको द्वन्द्वका रूपमा उभ्याएका छन् ।" त्यसैगरी अर्का समीक्षक उपप्रा. डा.
गीता त्रिपाठीले अल्पज्ञानीका कवितामा प्रकृति र समाजको सुन्दर अन्तर्घुलन रहेको
बताइन् । त्रिपाठीले भनिन् –"कविता लेख्नु कष्टप्रद छ । पर्यावरणीय सन्तुलन कविताको
सशक्त पक्ष हो । कविताले विपर्यासका बिचमा जीवनको सन्तुलन खोजेको छ ।"
साठीको
दशकको उत्तरार्धबाट काव्य यात्रामा लागेको कवि अल्पज्ञानी समकालीन नेपाली कवितामा
परिचित नाम हो । कास्कीको बेगनासमा जन्मिएका देवीरमण तिवारी 'अल्पज्ञानी' का नामले
नेपाली साहित्यमा कलम चलाउँदै आएका छन् । आफूलाई उज्यालो पर्खिरहेको मानिसका रूपमा
चिनाउन चाहने अल्पज्ञानी भन्छन् –"अरूलाई नदुखाउनु भनेर आफैँ दुखेको कविता
लेख्न लगायो ।"
कार्यक्रममा
लोकार्पित कवितासङ्ग्रहबाट क्रमशः कविहरू डा. वसन्त गौतम, सञ्जीव पौडेल, अमृत
क्षेत्री र लक्ष्मीदेवी गौडेलले एक एक थान कविता वाचन गरेका थिए भने स्रष्टा परिचय
डा. राजेन्द्र चापागाईँ आहातले दिएका थिए । साहित्यकार भुवनहरि सिग्देलको
अध्यक्षता तथा साहित्यकार डिडी अधिकारीद्वारा सञ्चालित कार्यक्रममा कविलाई
काठमाडौँ मोडेल माध्यमिक विद्यालयका प्राचार्य डा. नगेद्र अर्यालले शुभकामना दिएका
थिए ।
पेज टर्नरद्वारा प्रकाशित प्रस्तुत कविता सङ्ग्रहमा ६ भागमा ४७ कविता सङ्गृहीत छन् । पोखरामा एकल शास्त्रीय छन्द कविता वाचन गरिसकेका कवि अल्पज्ञानीको प्रस्तुत कृति मुक्त लयमा लेखिएको पहिलो कृति हो ।