छन्दमणिलाई युवावर्ष मोती पुरस्कार २०८२

 


काठमाडौँ । राष्ट्रिय युवा सेवा कोषले वि.सं. २०८२ को ‘युवा वर्ष मोती पुरस्कार’ युवा साहित्यकार शङ्करमणि त्रिपाठी (छन्दमणि) लाई प्रदान  गरेको छ।

प्रा.डा. माधवप्रसाद पोखरेलको संयोजकत्वमा गठित मूल्याङ्कन समितिको सिफारिसमा  विविध साहित्यिक कृतिहरूको अध्ययन,साहित्यिक ग​तिविधिह​रूको मूल्याङ्कन र समीक्षा पश्चात त्रिपाठीलाई योग्य ठहर गर्दै पुरस्कार प्र​दान ग​रेको  हो । 

पिता कमलमणि त्रिपाठी र माता लक्ष्मी त्रिपाठीका कोखबाट पोखरा - २५ हेमजामा जन्मेका छन्दमणि हेमजा साहित्य प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष हुन्। उनी विभिन्न संघसंस्थामा आबद्ध छन्। उनी ज्ञानसागर एकेडेमीका प्राचार्य पनि हुन्।

अनुशासन (२०५३, आदर्श समाज) कविताबाट लेखनयात्रामा लागेका उनका नयाँ नेपाल (महाकाव्य), छन्द बहरका शब्दलहर (शास्त्रीय गजलसंग्रह), तरङ्गका अभिव्यक्ति (कवितासंग्रह) र देशको अनुसूची (कवितासंग्रह) प्रकाशित छन्। जीवनकाे यथार्थता, समकालीन चेतना र सामाजिक दायित्वबोध उनको सिर्जनागत विशेषता हुन् ।

शान्तिदूत त्रैमासिक पत्रिका (शान्तिदूत स्कूल, पोखरा), हिमशिखर अंक २२-२६ (हेमजा साहित्य प्रतिष्ठान नेपाल, पोखरा), माधव वियोगी अभिनन्दन ग्रन्थ (माधव वियोगी वाङ्मय प्रतिष्ठान नेपाल), छन्द सरोवर (माधव वियोगी वाङ्मय प्रतिष्ठान नेपाल) लगायत विभिन्न अभिनन्दन ग्रन्थ, स्मारिका र विशेषाङ्कको समेत उनले सम्पादन गरेका छन्।

राष्ट्रिय युवा सेवा कोष २०४२ मा स्थापना भएको हो। यसले बर्सेनि पुरस्कार प्रदान गर्दै आएको छ।

उक्त अवसरमा बाक्लो उप​स्थितिमा स्रष्टाहरूले  य​स​प​ट​क “फर्कन्छु आफ्नै घर”  को स​म​स्यापूर्ति कविता वाचन गरेका थिए । कार्यक्रममा प्रा. डा. माधवप्रसाद पोखरेलले मोतीरामीय गुण सम्पन्न स्रष्टाहरू नै निरन्तर रूपमा यस पुरस्कारका लागि छनोट हुँदै आएको उल्लेख गर्नुभयो। स​दाझैँ मोतीराम​ भ​ट्ट​को स्म​र​ण ग​रेप​छि व​र्ष​भ​रिमा  दिव​ङ्ग​त स्र​ष्टाह​रूमा श्र​द्धा- सुम​न व्य​क्त​  ग​र्दै माल्यार्प​ण ग​रियो।

प्रमुख अतिथि मुकुन्दशरण उपाध्यायले लेखन, साहित्य र पुरस्कारको महत्त्वबारे आफ्ना विचार प्रकट गरे । त्यस्तै, डा. विष्णुबहादुर भण्डारीले पुरस्कारको इतिहास र यसपटक पुरस्कृत कविबारे प्रकाश पारे । रमा शर्माले मोतीराम​ र  मोती पुरस्कारको सूक्ष्म अवलोकन गर्दै कार्यक्रमको समापन गरिन् ।

Post a Comment

Previous Post Next Post