समताको ३८५ औँ शृङ्खला सम्पन्न, कवितामा जेनजी आन्दोलन



पोखरा, असोज ४ गते । पोखरेली युवा सांस्कृतिक परिवारको मासिक काव्य शृङ्खलाको ३८५ औँ शृङ्खला शनिवार पोखरामा सम्पन्न भएको छ ।
परिवारकी अध्यक्ष रीता अधिकारी ‘ऋतु’ को अध्यक्षतामा भएको कार्यक्रममा स्रष्टाहरूले नेपालमा हालै भएको जेनजी आन्दोलनले सिर्जना गरेको नयाँ सन्देश र सोही नाममा भएको राष्ट्रिय सम्पदाको विनाशले दिएको पीडाका कविता, मुक्तक, गीत र गजल सुनाएका थिए । साहित्यकार सरुभक्तले हालै भएको जेनजी आन्दोलनका नाममा इतिहासमा कहिल्यै नभएको क्षति भएको औँल्याए । आन्दोलनले राजनीतिक नेतृत्वलाई नयाँ शिक्षा दिएको भए पनि आन्दोलनकै नाममा भएको ऐतिहासिक राष्ट्रिय सम्पदाहरू विनाश भएको देख्दा आफूलाई अत्यन्त पीडा भएको अनुभव उनले सुनाए । आँखैअगि यत्रो विनाश हुँदा पनि टुलुटुल हेरेर बस्नुपर्दाको पीडा असह्‍य हुने बताउँदै उनले साहित्यकारहरूले सिर्जनामार्फत राष्ट्र पुनःनिर्माणका लागि सन्देश दिनुपर्नेमा जोड दिए । उनले सोही सन्दर्भमा सरुभक्तले यस्तो सुनाएः

के अनुहार देखाउनु समस्याका डोजरले किचिएको छु
देशका साँध र सिमानाहरूझैँ चौतर्फीबाट मिचिएको छु
सानो धर्तीको सानो मान्छे भनेर कहाँ उम्किन पाइयो र
आफ्नै मन, शरीर, समाज, देश र विश्वव्यथाले थिचिएको छु ।

कार्यक्रममा साहित्यकार दीपक समीप, लक्ष्मण थापा, भूमिराज बस्ताकोटी, रेशम गिरी, जमुना कायस्थ, गायत्री पराजुली, मुनाल गोदार, वसन्त चालिसे, मिलन गिरी, डा. नवराज न्यौपाने, सुरज पौडेल, ढाकामोहन बराल, डा. चैतन्य अधिकारी, प्रदीप खनाल, शीतल गिरी, निकेश गिरीलगायतले आफ्ना रचना सुनाएका थिए । कार्यक्रममा अधिकांशले जेनजी आन्दोलनको कारण र प्रभावका बारेमा रचना प्रस्तुत गरेका थिए । उनीहरूले आन्दोलनले राखेका माग पूरा गर्नका लागि खबरदारी गर्नुपर्ने आवाज उठाएका थिए ।
साहित्यक संयोजक केशु शर्माको स्वागतमा भएको कार्यक्रमको सञ्चालन सचिव एमडी काफ्लेले गरेका थिए ।
परिवारले २०५० सालदेखि हरेक महिनाको पहिलो शनिवार समता काव्य सन्ध्या सञ्चालन गर्दै आएको छ ।

Post a Comment

0 Comments