पोखरा, असोज ११ गते । नेपालीहरूको महान् पर्व बडा दसैँ, तिहार, छठ तथा नेपाल संवत्को पावन सन्दर्भमा ज्ञानसागर एकेडेमी, पोखरा-२५, हेमजाले आफ्ना शिक्षक–शिक्षिकाबिच शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
सो अवसरमा पर्व बिदाका
अवसरमा अध्ययन गर्नका लागि उनीहरूलाई विभिन्न पुस्तक वितरण गरिएको थियो ।
विद्यालयले यसलाई ‘शिक्षकको गृहकार्य’ भनेको छ । विद्यालयका प्रिन्सिपल शङ्करमणि
त्रिपाठीले शिक्षकहरू नपढी विद्यार्थीलाई पढाउन नसकिने भन्दै विद्यार्थीलाई
गृहकार्य दिइन्छ भने शिक्षकले पनि आफूलाई अद्यावधिक गर्नका लागि पढ्ने गृहकार्य
गर्नुपर्छ मान्यताअनुसार विद्यालयले यस्तो कार्यक्रम गरेको जानकारी दिए । वितरित
पुस्तकहरू उपन्यास, संस्मरण, निबन्ध,
कथा, इतिहास, राजनीति,
भूगोललगायत विभिन्न विधाका थिए ।
कार्यक्रममा विद्यालयका
करिब चालिस जना शिक्षक–शिक्षिकाहरू सहभागी थिए ।
कार्यक्रमलाई सम्बोधन
गर्दै संस्थापक प्राचार्य शङ्करमणि त्रिपाठी (छन्दमणि) ले भने, "अध्ययन गर्ने कार्यलाई हामीले संस्कृति बनाउनुपर्छ । ज्ञानमा
आधारित समाज निर्माण गर्न यसले ठूलो मद्दत पुर्याउँछ । उपभोक्तावादी संस्कृतिले
हामीलाई औपचारिक पढाइमा मात्रै सीमित पारेको छ । आउनुहोस्, शिक्षक
हुनुमा गर्व गरौँ र अध्ययन संस्कृतिलाई बढावा दिऔँ ।"
त्यसैगरी, प्रबन्ध निर्देशक भरतराज अधिकारीले आफूलाई वर्तमान प्रधानमन्त्री सुशीला
कार्कीको कृति “न्याय” परेको जानकारी दिँदै भने, "ज्ञानसागर
एकेडेमी नवीन सोच, भिजन र पद्धति लिएर अघि बढेको एउटा उदाहरण
हो।"
विद्यालयका अध्यक्ष
टोलप्रसाद अर्यालले भने, " मलाई वरिष्ठ साहित्यकार
सरुभक्तद्वारा रचिच ‘तरुनी खेती’ उपन्यास परेको छ । हामीले पढ्नूस् मात्रै भनेका
छैनौं। विदा सकेर विद्यालय आएपछि आफूले पढेको कृतिबारे समीक्षा वा पाठकीय
प्रतिक्रिया समेत प्रस्तुत गर्नुपर्नेछ।"
सुपर भाइजर नारायण
भण्डारीले भने, " मलाई मेरै मित्र तीर्थ गुरुङद्वारा
लिखित "हिउँको गीत" परेका छ । यस्तो पुस्तक वितरणको योजना ल्याउनुहुने
प्राचार्यज्यूलाई हार्दिक धन्यवाद दिन्छु । अब हरेक लामो बिदामा यस्ता
कार्यक्रमलाई निरन्तरता दिनुपर्छ ।"
शुभकामना आदान–प्रदानका
क्रममा हरेक शिक्षकले छोटो मन्तव्यसमेत राखेका थिए । साथै, पर्व बिदाअगाडि विद्यार्थीहरूलाई पनि
अध्ययन गर्ने, सिर्जना गर्ने , चित्र
कोर्ने जस्ता सिर्जनात्मक गृहकार्य दिइएको विद्यालयले जनाएको छ ।
स्मरण रहोस्, गत वर्ष
ज्ञानसागर एकेडेमीले साहित्यकार सरुभक्त, छन्दनायक माधव
वियोगी , डा. तुलसीराम खनाल लगायतका अतिथि वक्ता रहेका र पोखराबाट
राष्ट्रिय रूपमा चर्चामा रहेकामध्येका दश जना कविहरूको कविता वाचन हुने गरी एक
दिवसीय ज्ञानसागर साहित्य महोत्सव सम्पन्न गरेको थियो ।