बेनी,
म्याग्दी । ६१ औं राष्ट्रिय बाल दिवसको अवसरमा म्याग्दी जिल्लाको
बेनी–१०, वाखेतस्थित श्री विद्योदय आधारभूत विद्यालयले ‘किन खस्कियो सामुदायिक शिक्षा : दोषी को ?
समाधान के ?’ भन्ने विषयमा प्यानल डिस्कसन आयोजना गर्दै छ ।
कार्यक्रममा
शिक्षा, समाज र शिक्षक सरोकारवालाहरू सहभागी हुनेछन् । प्यानलमा नगर प्रमुख सुरत केसी, सामाजिक
विकास समिति प्रमुख चक्र केसी, म्याग्दी बहुमुखी क्याम्पसका सहप्रध्यापक रेखाकौशल
रेग्मी, र जमुनाखर्क नमूना माविका प्रधानाध्यापक सोमनाथ ढुङ्गाना
र शिक्षक महासङ्घ म्याग्दीका निवर्तमान अध्यक्ष जयराम सुवेदी सहभागी हुनेछन्।
कार्यक्रमको मोडेरेटरको भूमिका प्रकाश अधिकारीले सम्हाल्ने छन् ।
प्यानल
डिस्कसनले सामुदायिक शिक्षा खस्किनुको कारण पहिचान, समाधानका
सम्भावित उपायहरू, र शिक्षक, अभिभावक र समुदायसँग साझा कार्ययोजना तयार गर्ने
उद्देश्य राखेको छ ।
बाल
दिवसको अवसरमा आयोजना गरिएको यस कार्यक्रमले सामुदायिक शिक्षाको वर्तमान अवस्था
उजागर गर्ने छ र सुधारका ठोस सुझाव प्रस्तुत गर्ने विद्यालयका सूचना अधिकारी अमृता
जिसी रोकाले जानकारी दिनुभयो ।
साथै
बेनी नगरपालिकाको आयोजना तथा विद्यालयको व्यवस्थापनमा नगरपालिका स्तरीय ‘बालविवाह
न्यूनीकरणमा स्थानीय सरकारको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगिता पनि सन्चालन
हुने विद्यालय इन्चार्ज शोभाकान्त लामिछानेले जानकारी दिनुभयो । लामिछानेका अनुसार
वक्तृत्वकला प्रतियोगितामा बेनी नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक तथा
संस्थागत विद्यालयमा कक्षा १ देखि ८ सम्म अध्ययनरत विद्यार्थीले
सहभागिता जनाउन सक्नेछन् ।
त्यस्तै
गरी यही भाद्र २७, २८ र २९ गते तीनदिन सम्म विद्यार्थीको चौतर्फी विकासको
लागि वृहत् खेलकुद सप्ताह पनि आयोजना गर्न लागिएको अतिरिक्त विभाग प्रमुख सुजन पुनले
जानकारी दिनुभयो । २९ गते प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा विष्लेश्ण
समेत गरिने विद्यालयले जनाएको छ । कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी
र स्थानीय सरोकारवालाहरूलाई सक्रिय सहभागिता जनाउन आमन्त्रण गरिएको छ ।