मुडुला कार्कीको साधारण सभा


पोखरा, असोज १९ गते ।  खहरे मुडुला कार्की कुल पूजा मन्दिर समितिको वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष सु. राम बहादुर कार्कीको अध्यक्षता र ज्येष्ठ नागरिक ह. मान बहादुर कार्कीको विशेष  उपस्थितिमा सम्पन्न भएको उक्त साधारणसभाले विभिन्न प्रतिवेदनहरु पारित गरेको छ।

हाल संस्थाले फेदीखोला-२, खहरेमा पुरानो मन्दिर रहेकै स्थानमा करिब ७५ लाखको लगानीमा कुल मन्दिर र सभाहल निर्माण कार्य गरिरहेको छ। 

 कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष सु. राम बहादुर कार्कीले कुल मन्दिर निर्माण जस्तो पवित्र, धार्मिक र ऐतिहासिक यो अभियानमा जोडिनको निम्ति समस्त बन्धुहरुलाई आव्हान गर्नुभएको थियो। कार्यक्रममा बोल्दै संस्थाका सल्लाहकार कृष्ण बहादुर कार्कीले समय सापेक्ष हिसाबले अब बन्न लागेको मन्दिर अत्यन्तै सुन्दर र महत्त्वपूर्ण हुनुपर्ने बताउँदै, त्यसको लागि आफूले हरकोणबाट सहयोग गर्न तत्पर रहेको बताउनुभएको थियो। समाजसेवी नरेन्द्रजंग कार्कीले मन्दिर निर्माणमा सम्पूर्ण बन्धुहरुको साथ समर्थनले मात्र हामी आफ्नो लक्ष्यमा पुग्न सकिने कुरामा जोड दिनुभएको थियो। युवा व्यवसायी मनोज कार्कीले हाम्रा अग्रजहरुले देखाएको बाटोमा एकजुट भएर हिंड्न हरेक युवाहरुलाई अभिप्रेरित गर्दै आफ्नो तर्फबाट मन्दिर निर्माणको लागि जुनसुकै सहयोग रहने प्रतिबद्धता राख्नुभएको थियो। संस्थाका वरिष्ठ उपाध्यक्ष मोहन बहादुर कार्कीले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा कोषाध्यक्ष केशव बहादुर कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने लेखा समिति संयोजक राजकुमार कार्कीले संस्थाका आर्थिक गतिविधिहरुको बारेमा केही सुझावसहित प्रकाश पार्नुभएको थियो। सचिव जीतजंग कार्कीले सञ्चालन गरेको उक्त कार्यक्रममा उपाध्यक्ष बिजय कुमार कार्कीले निर्माणको क्रममा रहेको मन्दिरको अवस्थाबारे जानकारी गराउनुभएको थियो।

 साधारणसभाको अवसरमा उपस्थित विभिन्न कार्की बन्धुहरुले मन्दिर निर्माणको लागि आफ्नो तर्फबाट सहयोग रकम घोषणा गर्नुभएको थियो।

आगामी बैशाखसम्ममा सभाहल र कम्पाउण्डसहित सम्पूर्ण मन्दिर निर्माणकार्य सम्पन्न गरिसक्ने लक्ष्य लिएको संस्थाका सूचना अधिकारी लाल कार्की अन्जानले जानकारी दिनुभयो।

Post a Comment

0 Comments