प्रकट पगेनी ‘शिव’ को स्मृति दिवस - EDUCATION NEWS NEPAL

अपडेट

Friday, October 10, 2025

प्रकट पगेनी ‘शिव’ को स्मृति दिवस

 


पोखरा । साहित्यकार प्रकट पगेनी ‘शिव’ को स्मृति दिवसमा शुक्रवार रचना वाचन गरिएको छ । पगेनीको जन्मजयन्ती असोज २४ का अवसरमा कार्यक्रम आयोजना गरिएको हो ।

कास्कीको रूपा गाउँपालिकामा जन्मेका स्व. प्रकट पगेनी ‘शिव’ को जन्मस्थलमै उनीद्वारा नै सञ्चालित ‘यशश्‍वी कटेज’ मा रूपा वाङ्‍मय प्रतिष्ठान र प्रकट पगेनी ‘शिव’ स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा भएको कार्यक्रममा साहित्यकार तथा गजलप्रेमीहरूको उल्लेख्य उपस्थिति थियो ।

कार्यक्रमका प्रमुख अतिथि रूपा गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष राजन खनालले प्रकट पगेनी रूपाको मात्र नभई देशकै गहना भएको धारणा राखे । उनले पगेनको सम्मानमा रूपाली विशेष कार्यक्रम गर्नुपर्नेमा जोड दिए ।

रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष आदर्श पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रकट पगेनी ‘शिव’ स्मृति प्रतिष्ठानका सदस्य श्रीभद्र पगेनी, पगेनीकी धर्मपत्नी इन्दिरा पगेनी र छोरा प्रह्लाद पगेनीको उपस्थिति रहेको थियो ।

पगेनीको सम्झनामा साहित्यकार मदन मल्ल छाया, प्रशान्त श्रेष्ठ, सुशील गुरुङ र सन्तोष माइकलले गजल तथा कविता वाचन गरेका थिए । रूपा वाङ्मय प्रतिष्ठानका उपाध्यक्ष जितबहादुर थापाले स्वागत गरेका कार्यक्रमको सञ्चालन तीर्थराज लामिछानेले गरेका थिए ।

कार्यक्रममा रूपा वाङ्मय प्रतिष्ठानका पदाधिकारी र अन्य विभिन्न साहित्यिक संस्थाका प्रतिनिधिहरूको समेत सहभागिता थियो । स्व. प्रकट पगेनी 'शिव' को साहित्यिक विरासतलाई सम्मान गर्दै नयाँ पुस्ताका साहित्यकारहरूलाई प्रेरणा प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष आदर्श पोखरेलले जानकारी दिए ।

तगारो छेउ आएर पनि..., किन राख्यो चोखो मुटु तिखो चुलेसीमा... लगायत चर्चित गीतका गीतकार पगेनीको २०१३ असोज २४ गते कास्कीको रूपा गाउँपालिका-५, देउरालीमा जन्मेका थिए । पगेनीका यो मन कतै अल्झेको छ (गीत सङ्ग्रह), जूनको चिठी जुनालाई (गीत सङ्ग्रह), प्रणयवेदका ऋचाहरू (गजल सङ्ग्रह) र अक्षरभरि अक्षता (कविता सङ्ग्रह) प्रकाशित छन् । उनको २०८१ वैशाख ४ गते निधन भएको थियो ।