७८ औँ लघुकथा वाचन - EDUCATION NEWS NEPAL

अपडेट

Saturday, October 25, 2025

७८ औँ लघुकथा वाचन

 


पोखरा, कार्तिक ८ गते । लघुकथा प्रतिष्ठान, पोखराले आफ्नो नियमित लघुकथा वाचनको ७८ औँ शृङ्खला शनिवार सम्पन्न गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष कल्याण पन्तको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार तथा प्रतिष्ठानका सल्लाहकार सरुभक्तले लघुकथा लेखनमा निकै चनाखो हुनुपर्नेमा जोड दिए । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपतिसमेत रहेका सरुभक्तले नेपाली साहित्यमा लघुकथाको इतिहास त्यति लामो नभए पनि यसले पाएको लोकप्रियता लोभलाग्दो भएको भनाइ राखे । उनले लघुकथामा अनावश्यक गफ लगाउन नहुने बताए ।

कार्यक्रममा वाचित लघुकथाहरूको समीक्षा गर्दै प्रा. डा. कुसुमाकर न्यौपानेले लघुकथा समाचारभन्दा माथि उठ्नुपर्ने धारणा राखे । कथाकारले नै आफैँ आगन्तुक शब्दको प्रयोग नगरी त्यस्ता शब्द प्रयोग गर्नुपर्दा पात्रका माध्यमबाट प्रस्तुत गर्नुपर्ने उनको तर्क थियो । पोखराको लघुकथाले क्रमशः आफ्नो स्तर उकासेको बताउँदै उनले लघुकथा प्रतिष्ठानले लघुकथा लेखनका क्षेत्रमा पाठशालाको भूमिका खेलेकामा प्रशंसा गरे ।

कार्यक्रममा गीता तिवारी, लोचना अधिकारी, शोभा लामिछाने, ढाकामोहन बराल, काजी गाउँले, जमुना कायस्थ, कृष्णप्रसाद बाँस्तोला, स्ट्रगल राना, लक्ष्मण गौतम, छवि सुवेदी, लक्ष्मण थापा, अल्पविराम पोखरेली, रुपिन्द्र प्रभावीलगायतले आफ्ना लघुकथा वाचन गरेका थिए ।

सचिव विष्णु बाँस्तोलाले सञ्चालन गरेका कार्यक्रममा गुरुङ चलचित्रका नायक ताराबहादुर गुरुङले शुभकामना दिएका थिए ।