काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास), नेपाल शाखाको दोस्रो अधिवेशन काठमाडौँमा सम्पन्न भएको छ । अधिवक्ता सेमन्तमणि खेराल प्रमुख निर्वाचन आयुक्त रहेको अधिवेशनले चलचित्र निर्देशक ऋषि लामिछानेको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा क्रमशः रमेश उप्रेती, रेजिना उप्रेती र युवराज चौलागाईँ निर्वाचित भएका छन् भने शंकर पाण्डे र राजिन पनेरू महासचिव र सचिव पदमा निर्वाचित भएका छन् । यसैगरी कोषाध्यक्षमा रत्न श्रेष्ठ एवम् सदस्यमा क्रमशः खुमन अधिकारी, एलिना चौहान, पूर्णबहादुर लामा, दिनेश काफ्ले, प्रियङ्का प्रसाईँ, गौतम मानन्धर, सहारा पाण्डे, दीपा रेग्मी पन्त, ऋतु कँडेल र शिवम अधिकारी निर्विरोध निर्वाचित भएका छन् । यसैगरी ग्लोबल सञ्चार प्रतिनिधिका रूपमा सञ्चारकर्मी विष्णु शर्मा चयन भएका छन् ।
निवर्तमान अध्यक्ष एवम् हाल एसिया संयोजकका रूपमा रहेका
दयाराम पाण्डेयको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्यता इनास ग्लोबल
अध्यक्ष अर्जुनप्रसाद काफ्लेले गरेका थिए । काफ्लेले इनासले विश्वभर छरिएर रहेका
नेपालीहरूका कला, साहित्य, संस्कृति, भाषा, खेलकुद जस्ता बहुविध विधालाई समेट्दै
सोको प्रबर्धनमा विशेष भूमिका निर्वाह गर्ने र आफ्नो कार्यकालले त्यसका लागि
आवश्यक पहल गर्ने जानकारी दिए । काफ्लेले इनासले एनआरएनका दोस्रो-तेस्रो पुस्तालाई
नेपाली भाषा सिकाउने गरी नेपाली पाठशालाको स्थापना गर्दै कार्य अगाडि बढाएको समेत
जानकारी दिए । यसैगरी सन् २०२५-२०२७ कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित
लामिछानेले आफू र आफ्नो कार्यसमितिले इनासको विधानको मर्मअनुसार कर्म गर्दै
विश्वभर रहेका नेपाली कलाकारको भावनालाई कदर गर्ने गरी आगामी कार्ययोजना तय गर्ने
प्रतिबद्धता व्यक्त गरे ।
इनास नेपाल शाखाको वर्तमान कार्यसमितिभित्र चलचित्र,
गीत-सङ्गीत, भाषासाहित्य, खेलकुद, कलाकारिता, पत्रकारितालगायत बहुविध विधाका
विशेषज्ञहरूको प्रतिनिधित्व रहेको र यसलाई आवश्कताअनुसार थप परिष्कृत एवम्
परिमार्जित गर्दै लैजान आफूहरू प्रतिबद्ध रहेको जानकारी एसिया संयोजक एवम् नेपाल
शाखाका संस्थापक दयाराम पाण्डेयले दिए । कार्यक्रममा इनासका संरक्षक नीता श्रेष्ठ,
ग्लोबल कोषाध्यक्ष रूपा न्यौपानेलगायतले शुभकामना मन्तव्य दिएका थिए ।
इनास विश्वभर छरिएका नेपाली कलाकारको हकहितका पक्षमा काम
गर्ने र संसारभरि नेपाली संस्कृति, भाषा, साहित्य, कलाकारिता आदिलाई पुर्याउने
गरी सन् २०१२ मा पोल्याण्डमा स्थापना भएको सामाजिक संस्था हो । यसको हालसम्म झण्डै
७३ देशमा आफ्नो शाखा स्थापना भइसकेको छ ।
०००
