पोखरा, पुस ५ गते । कवि गौरी तमूको दोस्रो कृति ‘सैँप्रोल’ शनिवार पोखरामा सार्वजनिक गरिएको छ ।
गुरुङ साहित्यिक
मञ्चद्वारा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका
पूर्वकुलपति सरुभक्तले कृति सार्वजनिक गरे । विशेष गरी तमू जातिभित्रका संस्कार र
संस्कृतिलाई नेपाली भाषाको साहित्यिक भण्डारमा प्रवेश गराउनका लागि गौरीको भूमिका
उल्लेखनीय रहेको भन्दै सरुभक्तले नेपालका आदिवासी जनजातिका जातीय विम्बहरूलाई आम
पाठकमाझ पुर्याउनुपर्नेमा जोड दिए । उनले किनारीकृत वर्गको अधिकार र उत्थानका
लागि सङ्घर्षरत स्रष्टाका रूपमा आफूले गौरीलाई चिनेको स्मरण गरे । गौरीको
प्राज्ञिक कर्मबाट मातृभाषी स्रष्टाहरूले प्रेरणा लिन सक्ने हो भने सिङ्गो नेपाली
साहित्य नै लाभान्वित हुने सरुभक्तको विचार थियो । सैँप्रोलले उठाएका विचारले
नेपाली समाजलाई असल मार्गदर्शन गर्नेमा उनले विश्वास व्यक्त गरे ।
कृतिकार
गौरीले आफूले ‘म को हुँ’ भन्ने प्रश्नको जबाफ खोज्दाखोज्दै कवितासँग नजिकिएको
अनुभव सुनाइन् । तमू जातिका सांस्कृतिक र धार्मिक ग्रन्थहरूमा प्रशस्त मिथकहरू
पाइने उल्लेख गर्दै केही मिथकलाई सैँप्रोलमा उठाउने प्रयास गरेको गौरीले बताइन् ।
महिला अस्तित्वसँगै गुरुङ जातिको उत्पत्ति र विकासका प्रक्रियाहरूलाई कविताका
रूपमा प्रस्तुत गरेको बताउँदै आदिवासी जनजातिको संस्कृति र भूगोलमाथि सत्ताले
गरेको आक्रमणविरुद्धको आक्रोश सैँप्रोलमा प्रस्तुत गरेको गौरीले बताइन् । आदिवासी
जनजातिको नैसर्गिकताका विरुद्ध कानुन निर्माण गरी उनीहरूको जीवनदर्शनलाई अपदस्थ
गर्ने राज्यसत्तामाथि कृतिमा प्रश्न उठाउने प्रयास आफूले गरेको उनको भनाइ थियो ।
गुरुङ साहित्यक मञ्चकी संस्थापक अध्यक्ष तथा र्यान्डम रिडर्स सोसाइटीकी उपाध्यक्षसमेत
रहेको तमूको यसअघि ‘समैँ दर्बानी’ नामक मुक्तक सङ्ग्रह प्रकाशित छ ।
कृतिको
समीक्षा गर्दै साहित्यकार गनेस पौडेलले पहिचानवादी साहित्यलेखनको एक मानक कृतिका
रूपमा सैँप्रोल आएको धारणा राखे । धेरै ‘पन्चलाइन’ हरू भएको कृतिमा भएका
कविताहरूलाई उनले ‘मन्त्रकविता’ संज्ञा दिए । गुरुङ समुदायको सौन्दर्यचेतको सरल तर
गहन प्रस्तुति रहेकाले कृति उत्कृष्ट बनेको भन्दै पौडेलले वैचारिकी दृष्टिले पनि
कृतिलाई अब्बल मान्न सकिने भनाइ राखे ।
अर्का
समीक्षक साहित्यकार तीर्थ गुरुङले गौरीको सिर्जनशील सक्रियता लोभलाग्दो रहेको
भन्दै यो कृतिले नेपाली कविताका क्षेत्रमा विशेष महत्त्व राख्ने बताए । संस्थागत
सक्रियता, प्राज्ञिक कर्म र सिर्जनशील कार्यलाई एकसाथ अगि बढाउन सफल गौरीबाट आम
गुरुङ समुदायले विशेष शिक्षा लिनुपर्नेमा गुरुङको जोड थियो ।
सो अवसरमा कृतिभित्रका कविता रुपिन्द्र प्रभावी र सङ्गीता आभासले वाचन गरेका थिए । मञ्चका अध्यक्ष तेजबहादुर गुरुङको अध्यक्षता र कोषाध्यक्ष जसु गुरुङको स्वागतमा भएको कार्यक्रमको सञ्चालन रोशनी गुरुङले गरेकी थिइन् ।
