माछापुच्छ्रे माविका प्रधानाध्यापक आचार्यलाई ५० हजार नगदसहित सम्मान - EDUCATION NEWS NEPAL

अपडेट

Sunday, December 28, 2025

माछापुच्छ्रे माविका प्रधानाध्यापक आचार्यलाई ५० हजार नगदसहित सम्मान

 


पोखरा । माछापुच्छ्रे गाउँपालिका–२, भुर्जुङखोला, कास्कीस्थित सार्दीखोला विद्यार्थी सहयोग समिति (Sardikhola Students Welfare Committee) ले आफ्नो ३० औँ वार्षिकोत्सवका अवसरमा शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका शिक्षकहरूलाई सम्मान गरेको छ ।

वि.सं. २०५३ साल (सन् १९९६) मा स्थापित उक्त समितिले विद्यार्थीहरूको शैक्षिक उत्थान, प्रतिभा विकास तथा शिक्षा क्षेत्रप्रतिको चेतना र लगाव अभिवृद्धि गर्ने उद्देश्यसहित निरन्तर रूपमा विभिन्न शैक्षिक, सामाजिक तथा प्रेरणादायी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । सोही अभियानको निरन्तरतामा समितिले ३० औँ वार्षिकोत्सव विशेष समारोहअन्तर्गत शिक्षक सम्मान कार्यक्रम आयोजना गरेको हो ।

समितिले माछापुच्छ्रे गाउँपालिका–२, भुर्जुङखोला निवासी तथा माछापुच्छ्रे माध्यमिक विद्यालय, भुर्जुङखोलाका प्रधानाध्यापक सन्तोष आचार्यलाई शिक्षा क्षेत्रमा रही विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा पुर्‍याएको अतुलनीय, दीर्घकालीन र नेतृत्वदायी योगदानको उच्च कदर गर्दै सम्मान गरेको छ । प्रमाणपत्रमा उल्लेख भएअनुसार उनलाई समितिको ३० औँ वार्षिकोत्सवको अवसरमा रु. ५०,००० (अक्षरेपि पचास हजार रुपियाँ) नगद पुरस्कारसहित प्रशंसापत्र प्रदान गरिएको हो । समितिले भविष्यमा पनि शिक्षा क्षेत्रमा आचार्यबाट निरन्तर उच्च योगदानको अपेक्षा गर्दै सुस्वास्थ्य र दीर्घायुको कामना गरेको छ ।

समारोहमा समितिले माछापुच्छ्रे माध्यमिक विद्यालय, भुर्जुङखोलामा कार्यरत शिक्षक सङ्गीता गुरुङ र एलिसा भण्डारीलाई उत्कृष्ट शिक्षकका रूपमा सम्मान गरेको छ । त्यसै गरी मेघराज आधारभूत विद्यालयमा कार्यरत शिक्षक सपना मिजार र अन्नपूर्ण आधारभूत विद्यालयमा कार्यरत शिक्षक तिलकुमारी गुरुङलाई पनि उत्कृष्ट शिक्षकको रूपमा सम्मान गरेको हो । विद्यार्थीमाथि गरेको समर्पण, शैक्षिक नतिजामा पारेको सकारात्मक प्रभाव, नियमितता, सिर्जनात्मक शिक्षण अभ्यास तथा अनुशासित र प्रेरणादायी शैक्षिक वातावरण निर्माणमा पुर्‍याएको योगदानका आधारमा उत्कृष्ट शिक्षक घोषणा गरिएको समितिले जनाएको छ । शिक्षक छनोट विद्यालय, समुदाय र अभिभावकको सिफारिसका आधारमा गरिएको हो ।

सम्मानित शिक्षकहरूलाई जनही नगद ६ हजार रुपियाँ, दोसल्ला र सम्मानपत्र प्रदान गरिएको छ ।

कार्यक्रममा माछापुच्छ्रे गापा वडा नम्बर १,, ३ का विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्नुका साथै गणित दौड, मिठाई दौड,  कविता र नृत्य प्रतियोगिता पनि सम्पन्न भएको थियो । सार्दीखोला विद्यार्थी सहयोग समितिका अध्यक्ष हर्कबहादुर घर्तीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव बेगनाथ पौडेलले गरेका थिए ।

माछापुच्छ्रे माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालय परिवार, अभिभावक, पूर्वविद्यार्थी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरूले उत्कृष्ट शिक्षकहरू समुदायका साझा सम्पत्ति भएको उल्लेख गर्दै यस्ता सम्मान कार्यक्रमले शिक्षाप्रति समर्पित शिक्षकहरूलाई थप हौसला प्रदान गर्ने तथा नयाँ पुस्तालाई शिक्षण पेसाप्रति आकर्षित गर्ने विश्वास व्यक्त गरेका थिए ।