पोखरा, पुस १२ गते । नेपाल शिक्षक महासङ्घ, कास्कीले शिक्षक तथा कर्मचारीलाई स्थानीय भत्ता दिने निर्णय कार्यान्वयनका लागि कास्कीका पाँचओटै स्थानीय तहलाई दबाब दिने भएको छ ।
शनिवार पोखरामा सम्पन्न महासङ्घको बैठकबाट दरबन्दी मिलान र
प्रधानाध्यापक छनोटलाई विधिसम्मत बनाउनसमेत आग्रह गर्ने निर्णय गरेको छ । उक्त
बैठकले शिक्षक आन्दोलन २०८१/ २०८२ को
समीक्षा गरी आय व्यय अनुमोदन गरेको छ । बैठकमा शिक्षक सरुवासम्बन्धी निर्देशिकाका
विषयमा पनि छलफल भएको बताइएको छ ।
जिल्ला समिति कास्कीका अध्यक्ष भोलानाथ पौडेलको अध्यक्षता भएको
बैठकमा नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय
समितका उपाध्यक्ष रामप्रसाद पोखरेलले पेसागत अधिकार स्थापित गर्नका लागि सम्पूर्ण
शिक्षक/कर्मचारी एक हुनुपर्नेमा जोड दिए । बैठकले आगामी पुस २७ गते पोखरामा जिल्ला परिषद बैठक आयोजना गर्नका लागि
सहअध्यक्ष डिल्लीराम बरालको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरेको छ । त्यसै गरी
दरबन्दी मिलान तथा समायोजनका लागि महासङ्घको आधिकारिक धारणा तय गर्ने र कास्की
जिल्लास्थित ५ ओटै पालिका तथा शिक्षा विकास तथा समन्वय इकाइ, कास्कीमा महासङ्घ कास्कीमा शिक्षकका आबद्ध तथा सम्बद्घ पेसागत
घटकहरूसमेतको आवश्यक राय सल्लाह र परामर्शमा आवाज तथा दृस्ठिकोणहरूलाई लागू गर्न
गराउन समन्वय गर्ने निर्णय गरेको छ । कास्की जिल्लाभित्र भएका विविध शैक्षिक
समस्याको सामूहिक रूपमा सामाना गर्दै समाधानको बाटामा लाग्ने निर्णय पनि गरिएको
सहअध्यक्ष डिल्लीराम बरालले जानकारी दिए ।
बैठकका नेपाल शिक्षक महासङ्घका पूर्वकेन्द्रीय सदस्य एवम् साहारा आधारभूत विद्यालयकी प्रधानाध्यापक लोचना अधिकारी, नेपाल शिक्षक सङ्घ, कास्कीका अध्यक्ष राजु क्षेत्री, शिक्षक महासङ्घ, कास्कीका पूर्वअध्यक्ष बोधराज पौडेल, नेपाल शिक्षक परिषद्, गण्डकी प्रदेशका अध्यक्ष रुद्रबहादुर कार्की ‘राजु’, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका कास्की जिल्ला अध्यक्ष तीर्थराज ढकाल, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका कास्की अध्यक्ष महेन्द्रमणि पौडेल,प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, कास्कीका अध्यक्ष कलाधर शर्मा, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका जिल्ला सचिव दामोदर तिमिल्सिनालगायतका शिक्षकका नेताहरूले आआफ्ना तर्फबाट धारणा राखेका थिए ।
शिक्षक महासङ्घ, कास्कीका
सचिव हर्कबहादुर लामिछानेले सञ्चालन गरेको बैठकमा स्वागत सहअध्यक्ष डिल्लीराम
बरालले गरेका थिए ।
