ताजा

6/recent/ticker-posts

Top News


लेखनाथ जयन्तीको कविता प्रतियोगितामा रामलाल प्रथम

 


पोखरा, पुस १३ गते । १४२ ‍औँ लेखनाथ जयन्तीका अवसरमा आयोजित राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगितामा छन्दतर्फ रामलाल कुमाल प्रथम भएका छन् । प्रतियोगितामा प्रेमनारायण ढकाल द्वितीय तथा श्रीधर पाण्डेय र कृष्णप्रसाद पौडेलले तृतीय स्थान हासिल गरेका थिए । त्यसै गरी गद्यतर्फ केनिका गिरी प्रथम, उमाकान्त पोखरेल द्वितीय र सुदिना पौडेलले तृतीय स्थान हासिल गरे ।

आइतबारदेखि सुरु भएको त्रिदिवसीय कविशिरोमणि जन्मजयन्तीका कार्यक्रमअन्तर्गत आइतबार लेखनाथ काव्य परिचर्चा, खुल्ला कविता प्रतियोगिता तथा विद्यालयस्तरीय स्थलगत कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न  भएका हुन् ।

लेखनाथ लायन्स क्लबका अघ्यक्ष लायन बोधराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ साहित्य प्रतिष्ठानका  अध्यक्ष पद्मराज ढकालले कार्यक्रममा स्वागत गर्दै लेखनाथका कविता सुनाए ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति साहित्यकार  सरुभक्तले कवि लेखनाथका काव्यको परिचर्चा गरेका थिए । कार्यक्रममा ‘लेखनाथका काव्यमा अद्वैत वेदान्त दर्शन’ शीर्षकमा विद्यावारिधी गरेका डाक्टर बोधराज ढकाल, संस्कृत क्याम्पस पोखराका पूर्व क्याम्पस प्रमुख डाक्टर जगन्नाथ रेग्मी, साहित्यकार नारायण मरासिनीलगायतले लेखनाथका काव्यका चर्चा गरेका थिए ।

त्रिदिवसीय कार्यक्रम अन्तर्गत पुस १४ गते कविशिरोमणि जन्मस्थल सरसफाइ, पुस १५ गते अर्चलेमा मूल समारोह हुने छ । कार्यक्रमको लेखनाथ उद्योग वाणिज्य सङ्घ, लेखनाथ पत्रकार मञ्च, लेखनाथ लायन्स, आमा समूहहरू, युवा क्लब, बेगनास ताल बस सञ्चालक समिति सहआयोजक रहेका छन् 

विद्यालयस्तरीय स्थलगत कविता लेखन तथा वाचन प्रतियोगितामा लक्ष्मी आदर्श माविकी मनिषा खनाल प्रथम,    रिलायन्स पब्लिक स्कुलकी निष्ठा भट्टराई द्वितीय, लिटल फ्लावरकी सुदिक्षा पौडेल र जेसिएकी सुरक्षा बरालले तृतीय स्थान हासिल गरेका थिए ।