शिक्षक महासङ्घ, कास्कीको जिल्ला परिषद्को तयारी तीव्र - EDUCATION NEWS NEPAL

अपडेट

Wednesday, January 7, 2026

शिक्षक महासङ्घ, कास्कीको जिल्ला परिषद्को तयारी तीव्र

 


पोखरा, पुस २३ गते । नेपाल शिक्षक महासङ्घ, कास्कीले प्रथम जिल्ला परिषद्को तयारी तीव्र बनाएको छ । पुस २७ गते गोल्डेन हाउस पार्टी प्यालेस, जिरो किमि, पोखरामा हुने परिषद्‌मा शिक्षक सम्मान र अन्तर्क्रियासँगै शिक्षकका हकहितका विषयमा व्यापक छलफल हुने महासङ्घका सहअध्यक्ष तथा परिषद् व्यवस्थापन समितिका संयोजक डिल्लीराम बरालले जानकारी दिए ।

सोही अवसरमा ‘सङ्घीय शासन प्रणालीमा विद्यालय शिक्षा र स्थानीय तहको भूमिका’ विषयक अन्तर्क्रियासमेत हुने छ । महासङ्घले शिक्षक तथा कर्मचारीलाई स्थानीय भत्ता दिने निर्णय कार्यान्वयनका लागि कास्कीका पाँचओटै स्थानीय तहलाई दबाब दिने निर्णय यसअगि नै गरेको थियो । परिषद्‌का अवसरमा स्थानीय भत्ता दिलाउन थप पहल गर्नका लागि छलफल हुने सहअध्यक्ष बरालले बताए ।

जिल्ला समिति कास्कीका अध्यक्ष भोलानाथ पौडेलले शिक्षक आन्दोलनका सन्दर्भमा महत्त्वपूर्ण योगदान पुर्‍याएका शिक्षकहरूलाई विशेष सम्मान गरिने जानकारी दिए । कास्की जिल्लाभरका शिक्षकहरूलाई कार्यक्रममा सक्रियतापूर्वक सहभागी हुन शिक्षक महासङ्घकास्कीका सचिव हर्कबहादुर लामिछानेले आग्रह गरेका छन् ।