ताजा

6/recent/ticker-posts

Top News


'दि भ्वाइस अफ विद्योदय' को १० औँ अङ्क प्रकाशन, वडा अध्यक्ष रोकाद्वारा विमोचन

 


वाखेत, म्याग्दी । विद्योदय आधारभूत विद्यालयको बाल क्लबद्वारा नियमित रूपमा प्रकाशित हुँदै आएको बाल म्यागेजिन 'दि भ्वाइस अफ विद्योदय' को १० औँ अङ्क एक विशेष समारोहका बिच सार्वजनिक गरिएको छ।

विद्यालय प्राङ्गणमा आयोजित विमोचन कार्यक्रममा बेनी नगरपालिका , वडा नं १० का  वडा अध्यक्ष मस्विर रोकाले उक्त अङ्कको सामूहिक रूपमा लोकार्पण गर्नुभयो। विगत १० अङ्कदेखि विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनको सशक्त माध्यम बन्दै आएको यस म्यागेजिनमा विद्यार्थीहरूले नै तयार पारेका सिर्जनात्मक सामग्रीहरू समावेश गरिएका छन्। विमोचन पश्चात् कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष रोकाले बालबालिकाको सिर्जनात्मक क्षमताको उच्च प्रशंसा गर्नुभयो। उहाँले भन्नुभयो, "पाठ्यपुस्तकको ज्ञानसँगै बालबालिकामा लुकेको लेखन र कलाको कौशललाई बाहिर ल्याउन यस म्यागेजिनले सेतुको काम गरेको छ। यस्ता रचनात्मक कार्यले विद्यार्थीको व्यक्तित्व विकासमा ठुलो मद्दत पुग्ने भएकाले वडा कार्यालयले आगामी दिनमा पनि यस्ता शैक्षिक गतिविधिमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछ।"

विमोचित १० औँ अङ्कमा विद्यालयका विद्यार्थीहरूले तयार पारेका मौलिक कविता, कथा, निबन्ध, र आकर्षक चित्रकलाहरूलाई प्राथमिकताका साथ समेटिएको छ। साथै, म्यागेजिनमा विद्यालयका प्रमुख गतिविधि, समाचार, जानकारीमूलक लेखहरू र विद्यार्थीहरूको बौद्धिक स्तर मापन गर्ने  क्विज खण्ड समेत समावेश गरिएको बाल क्लबले जनाएको छ।

विद्यालयका सूचना अधिकारी एबम पत्रिका संयोजक अमृता जिसि रोकाले बाल क्लबको सक्रियता र विद्यार्थीहरूको मेहनतको सराहना गर्दै म्यागेजिन प्रकाशनमा मार्गदर्शन गर्ने शिक्षकहरू र रचना उपलब्ध गराउने विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। बालबालिकाहरू आफैँले सामग्री सङ्कलन, छनोट र व्यवस्थापन गरेको यस म्यागेजिनले उनीहरूमा नेतृत्व, सम्पादन र जिम्मेवारी वहन गर्ने कलाको समेत विकास गराएको विद्यालयको ठहर छ।

उक्त विमोचन समारोहमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक तथा बाल क्लबका सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो। म्यागेजिनले विद्यालयको साहित्यिक र प्राज्ञिक वातावरणलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरिएको थियो।