रेडक्रसको संरक्षक गोष्ठी : १४ नयाँ कार्यक्रम गर्ने योजना

 


पोखरा, चैत १६ गते । नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा कास्कीअन्तर्गत जुनियर युवा समितिको आयोजनामा कास्की जिल्लास्तरीय ३०औँ प्रधानाध्यापक तथा संरक्षक गोष्ठी सोमवार पोखरामा सम्पन्न भएको छ ।

गत वर्ष निर्धारित कार्यक्रमहरूबारे समीक्षा गर्दै आगामी शैक्षिक सत्र २०८३ का लागि  जुनियर युवा समितिबाट  प्रस्ताव गरिएका कार्यक्रमको अनुमोदनसमेत गरिएको शाखाका उपमन्त्रीसमेत रहेका जुनियर युवा समितिका संयोजक डिल्लीराम बरालले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि शिक्षाविद् जोर्ज जोनले सामाजिक तथा मानवीय सेवामा लाग्न अभिप्रेरित गर्नका लागि रेडक्रसले खेलेको भूमिका महत्त्वपूर्ण रहेको चर्चा गरे । भविष्यका कर्णधारका रूपमा रहेका विद्यार्थीहरूमा निःस्वार्थ सेवाको भावना जागृत गर्ने अभियान रेडक्रसले सञ्चालन गर्दै आएको भन्दै शिक्षाविद् जोनले विद्यालयहरूको गतिविधि थप प्रभावकारी बनाउन सुझाव दिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, गण्डकी प्रदेशका अध्यक्ष सूर्यप्रसाद ढकाल, शिक्षा विकास तथा समन्वय एकाइ, कास्कीका प्रमुख लोकनाथ आचार्य, निवर्तमान जिल्ला सभापति डण्डराज शर्मा, नेपाल शिक्षक महासङ्घ, कास्कीका सचिव हर्कबहादुर लामिछाने, एन. प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी, शीतलादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक बाबुराम अधिकारीलगायतले रेडक्रस अभियानमा जुनियर तथा युवाहरूको गतिविधिले सकरात्मक सोच र नेतृत्व सिप विकास, सामाजिक तथा मानवीय सेवामा लाग्नका लागि स्वयम्‌सेवक उत्पादनमा गरेको योगदानको प्रशंसा गरे ।

गोष्ठीबाट तालिम, गोष्ठी, प्रशिक्षण र प्रतियोगितामूलक गरी १४ ओटा प्रस्तावित कार्यक्रमहरू पारित गरिएका छन् ।

जुनियर रेडक्रस सर्कलले गर्ने गतिविधिहरू, दर्ता प्रक्रिया, आबद्धता, नीति, योजना तथा कार्यक्रमहरूका बारेमा सहजीकरण जिल्ला शाखाका उपमन्त्री डिल्लीराम बरालले गरेका थिए । प्रस्तावित कार्यक्रमहरूको बाँडफाँटसम्बन्धी सहजीकरण जुनियर युवा समितिका सहसंयोजक श्रीकान्त पौडेलले गरेका थिए ।

जिल्ला शाखाकी सभापति उर्मिला खड्का भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मन्त्री सन्तोष अधिकारीले तथा स्वागत सञ्चार तथा मानवीय मूल्य प्रवर्धन समितिका संयोजक सुवास अधिकारीले गरेका थिए ।

गोष्ठीमा कास्कीका ११५ विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहेको बताइएको छ । सोही अवसरमा ४२ औँ कास्की जिल्लास्तरीय जुनियर तथा युवा गोष्ठी एवम् ३१ औँ शिक्षक नायक गोष्ठी आगामी जेठ महिनाभित्रै  पोखरा १२ स्थित शीतलादेवी माध्यमिक विद्यालयमा आयोजना गर्ने निर्णय भएको उपमन्त्री बरालले जानकारी दिए ।