बदलिँदो जीवनशैली र खस्कँदो शैक्षिक अनुशासन
-
वसन्त पराजुली
नेपाली समाजमा शिक्षाको महत्त्व र यसप्रतिको बुझाइमा व्यापक परिवर्तन आएको छ । विद्यालयहरूमा नैतिकता, अनुशासन र सदाचारका कुराहरू सिकाइए तापनि बालबालिकाको
पहिलो पाठशाला घर नै हो यद्यपि आजको बदलिँदो जीवनशैलीमा घरको वातावरण र अभिभावकीय दायित्वमा
केही गम्भीर विचलनहरू देखा परेका छन् ।
सामुदायिक विद्यालयहरूमा अध्ययनरत बालबालिकाका कतिपय अभिभावकहरू आफ्नो पेसा
वा रोजगारीमा अत्यधिक व्यस्त रहँदा छोराछोरीको सिकाइमा पर्याप्त ध्यान दिन सकिरहेका
छैनन् । विद्यालयमा भर्ना गरिदिएपछि आफ्नो सम्पूर्ण दायित्व पूरा भएको
ठान्ने प्रवृत्ति केही अभिभावकहरूमा व्याप्त छ । घरमा शान्त र
अध्ययनमैत्री वातावरण नहुनु तथा सामान्य कुरामा पनि अभिभावकहरूबिच झैझगडा हुनु जस्ता कारणले बालबालिकामा मानसिक तनाव सिर्जना हुने गरेको छ । शिक्षकहरूले कक्षाकोठामा जतिसुकै आदर्श र नैतिकताका कुरा सिकाए पनि घरमा अभिभावकहरू
आफैँ धूम्रपान वा मद्यपानमा संलग्न हुनु र साना बालबालिकालाई तिनै सरसामान
किन्न पठाउनुले उनीहरूमा नकारात्मक संस्कार बसालिरहेको छ । अभिभावकको कुलतको
सिको गर्दै ‘भेप’ जस्ता आधुनिक
हानिकारक वस्तुहरूको प्रयोग बालबालिकामा देखिनु र त्यसबाट उनीहरूमा रिसाउने, झगडा गर्ने
वा शिक्षकसँगै प्रतिवाद गर्न खोज्ने जस्ता व्यवहारहरू बढ्नुले शिक्षा क्षेत्रमा गम्भीर
चुनौती खडा गरेको छ ।
अहिले सामुदायिक तथा निजी दुवै किसिमका विद्यालयहरूमा तल्ला कक्षादेखि नै सामाजिक सञ्जालका माध्यमबाट प्रेम सम्बन्धमा रहने र परिपक्व नहुँदै विवाह गर्ने प्रवृत्ति बढ्दो छ । कतिपय स्थानीय तहहरूले बालविवाह निषेधित क्षेत्र घोषणा गरे तापनि उमेर नपुग्दै आपसी सहमतिमा भागी विवाह गर्ने र पछि उमेर पुगेपछि मात्र विवाह दर्ता गराउने व्यावहारिक परिपाटीले गर्दा यो समस्या पूर्ण रूपमा नियन्त्रण हुन सकेको छैन ।
कमजोर आर्थिक अवस्था भएका परिवारका अभिभावकहरू जीविकोपार्जनमै व्यस्त रहँदा
बालबालिकाका दैनिक गतिविधिमा पर्याप्त निगरानी गर्न सक्दैनन्, जसले उनीहरूलाई अनलाइन गेमको लत तथा अन्य कुलतमा धकेल्न मदत पुर्याइरहेको छ । यस्तै, आधुनिक युगको प्रभावसँगै केही अभिभावकहरू
आफैँ मोबाइल, टिकटक र सामाजिक सञ्जालमा घण्टौँ व्यस्त रहने तर बालबालिकालाई भने मोबाइल
नहेर्न सल्लाह दिने दोहोरो चरित्र प्रस्तुत गर्छन् । अर्कातर्फ, कमजोर विद्यार्थीका लागि थप अध्ययन वा अतिरिक्त कक्षाको पहल गर्दा घरायसी
काममा सघाउनुपर्ने बहानामा असहमति जनाउने परिपाटीले गर्दा कतिपय बालबालिकाहरू बिचैमा पढाइ छाड्न बाध्य छन् ।
निजी विद्यालयहरूको स्थिति पनि यसभन्दा फरक छैन । उनीहरू मुख्यतया
नतिजा प्रदर्शन र अभिभावकको आर्थिक सामर्थ्यलाई बढी जोड दिने गर्छन् । नतिजा राम्रो आउँदा त्यसको जस लिने तर नतिजा बिग्रिएमा शिक्षकहरूले कक्षामा
सिकाएको कुरा घरमा अभ्यास नभएको तर्क गर्दै त्यसको दोष अभिभावकतिर नै तेर्स्याउने प्रवृत्ति
उत्तिकै देखिन्छ । यस अवस्थामा, स्थानीय तहले निजी र सामुदायिक दुवै किसिमका
विद्यालयहरूको नियमित अनुगमन र नियमन गर्नु अपरिहार्य बनेको छ, जसले गर्दा विद्यालयको
वास्तविक अवस्था उजागर भई शिक्षाको समग्र गुणस्तर कायम राख्न मदत पुग्छ ।
यसै गरी, अहिले सामुदायिक तथा निजी दुवै किसिमका विद्यालयहरूमा तल्ला
कक्षादेखि नै सामाजिक सञ्जालका
माध्यमबाट प्रेम सम्बन्धमा रहने र परिपक्व नहुँदै विवाह गर्ने प्रवृत्ति बढ्दो छ । कतिपय स्थानीय तहहरूले बालविवाह निषेधित क्षेत्र घोषणा गरे तापनि उमेर नपुग्दै
आपसी सहमतिमा भागी विवाह गर्ने र पछि उमेर पुगेपछि मात्र विवाह दर्ता गराउने व्यावहारिक
परिपाटीले गर्दा यो समस्या पूर्ण रूपमा नियन्त्रण हुन सकेको छैन । चेतनाको कमीका कारण कतिपय अभिभावकहरूले पनि यसलाई सामान्य रूपमा लिँदै सहजै
स्विकार्ने वा मान्यता दिने गरेको कता कता पाइन्छ । कतिपय अवस्थामा जोडी नै विद्यालय आएर अध्ययन गरे तापनि विवाहपछिका पारिवारिक,
सामाजिक र आर्थिक जिम्मेवारीका कारण उनीहरूको ध्यान पढाइमा पूर्ण रूपमा केन्द्रित हुन
सक्दैन । यस्ता विद्यार्थीहरूले विवाहपश्चात् उत्कृष्ट वा राम्रो शिक्षा
हासिल गरेका उदाहरणहरू कमै
भेटिन्छन् । फलस्वरूप उमेर नपुगी विवाह
गरेका विद्यार्थीहरूको शैक्षिक स्तर र नतिजा अपेक्षाभन्दा निकै कमजोर रहने गरेको छ,
जसले उनीहरूको उज्ज्वल भविष्यमा नै प्रश्नचिह्न खडा गरिदिएको छ ।
अन्ततः अभिभावकको नियमित चासो, सकारात्मक उत्प्रेरणा, भावनात्मक समर्थन तथा
शैक्षिक क्रियाकलापमा सहकार्यले नै विद्यार्थीहरूको सिकाइ उपलब्धि, आत्मविश्वास र विद्यालयप्रतिको
प्रतिबद्धतालाई सुदृढ बनाउन सक्छ । यस प्रकारको सकारात्मक अभिभावकीय अभ्यासले विद्यार्थीहरूको
विद्यालय छाड्ने दर घटाउने, नियमित उपस्थिति सुनिश्चित गर्ने, असामाजिक व्यवहारमा सकारात्मक
परिवर्तन ल्याउने, कुलत तथा दुर्व्यसनको रोकथाम गर्ने र प्रविधिको अति प्रयोगबाट सिर्जित
समस्याहरू न्यूनीकरण गर्न मदत गर्दछ । साथै, घरमा पठन
संस्कृतिको विकास गर्दै अभिभावक र विद्यार्थी दुवैलाई अध्ययनप्रति जिम्मेवार बनाउन
र बालबालिकामा विद्यालय, शिक्षक तथा अभिभावकहरूप्रति सकारात्मक मनोविज्ञानको विकास
गर्न यसले महत्त्वपूर्ण योगदान पुर्याउने छ ।
(लेखक जनता माध्यमिक विद्यालय, सहिदनगर, डण्डा, नवलपुरमा अर्थशास्त्र
विषयशिक्षकका रूपमा कार्यरत हुनुहुन्छ
।- सम्पादक)

