लघुकथा प्रतिष्ठानको ८७ औँ शृङ्खला सम्पन्न

 


पोखरा, साउन ९ गते । लघुकथा प्रतिष्ठान, पोखराको मासिक लघुकथा वाचनको ८७ औँ शृङ्खला शनिवार पोखरामा सम्पन्न भएको छ ।

प्रतिष्ठानका अध्यक्ष कल्याण पन्तको अध्यक्षतामा भएको कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका पूर्वप्रमुख गेहेन्द्रेश्वर कोइरालाले पोखरेली लघुकथाले नेपाली साहित्यिक क्षेत्रमा विशेष महत्त्व राख्ने गरी लघुकथाकारहरू लाग्नुपर्ने धारणा राखे । आफूले लेख्ने विषयवस्तुसम्बन्धी अध्ययन, अनुसन्धानको आवश्यकतामा जोड दिँदै उनले साधनाबाट मात्र असल साहित्य जन्मिने बताए ।

गीतकार प्रतिष्ठानका अध्यक्ष तथा गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य अनुराग अधिकारीले विभिन्न संस्थाहरूसँग मिलेर गतिविधि सञ्चालन गर्नका लागि प्रज्ञा प्रतिष्ठानले योजना बनाएको जानकारी दिए । कुराभन्दा काममा ध्यान दिएर सबै मिलेर गण्डकी प्रदेशका भाषा, साहित्य, कला, संस्कृति र सङ्गीतको उत्थानका लागि एकजुट हुनुपर्ने अधिकारीको जोड थियो ।

प्रतिष्ठानका अध्यक्ष पन्तले लघुकथाका सैद्धान्तिक तत्त्वहरू जोडेर मात्रै राम्रा लघुकथा नबन्ने बताउँदै लघुकथामा मारक क्षमता हुनुपर्नेमा जोड दिए । प्रतिष्ठानले २०७४ सालदेखि आफ्ना गतिविधि सञ्चालन गर्दै आएको बताउँदै उनले नेपालभरि नै नियमित रूपमा लघुकथा वाचन गर्ने एक मात्र संस्था लघुकथा प्रतिष्ठान, पोखरा नै भएको दाबी गरे ।

कार्यक्रममा प्रतिष्ठानकी उपाध्यक्ष गीता तिवारीले प्रतिष्ठानले लघुकथाको विधागत पहिचानका लागि काम गर्दै आएको भन्दै नयाँ पुस्ताका लेखकलाई लघुकथासम्बन्धी अझ जानकारी हुने गरी कार्यक्रम गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष अल्पविराम पोखरेली, पूर्वअध्यक्ष लक्ष्मण थापा, सङ्गम सांस्कृतिक मञ्चका अध्यक्ष काजी गाउँले, दिनेश बस्नेत, रति भट्टराई, लोचना अधिकारी, कृष्णप्रसाद बास्तोला, छविलाल आचार्य, जमुना कायस्थ, आकाश अधिकारी, ढाकामोहन बराल, लक्ष्मी थापा, मातृकाप्रसाद ढुङ्गाना, लीला आचार्यलगायतले आफ्ना लघुकथा वाचन गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव विष्णुप्रसाद बास्तोलाले गरेका थिए ।

प्रतिष्ठानले हरेक महिनाको दोस्रो शनिवार मासिक रूपमा लघुकथा वाचन कार्यक्रम सञ्चालन गर्दै आएको छ ।