पोखरा, भदौ ५ गते। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्की, जुनियर युवा समितिको आयोजनामा तथा नेपाल जुनियर रेडक्रस सर्कल भद्रकाली माध्यमिक विद्यालयको व्यवस्थापनमा आयोजित कास्की जिल्लास्तरीय निबन्ध लेखन प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।

कास्की जिल्लास्थित पाँचवटै स्थानीय तहका विभिन्न ३५ वटा विद्यालयबाट जुनियर युवा रेडक्रसका ३५ जना छात्रछात्राको सहभागिता रहेको प्रतियोगिता भद्रकाली माध्यमिक विद्यालयमा सम्पन्न भएको हो। प्रतियोगिताले विद्यार्थीहरूमा सिर्जनात्मक लेखन क्षमता, मानवीय सेवा, स्वयंसेवी भावना, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनसम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको थियो।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १३ का अध्यक्ष किरण बरालले जुनियर युवा रेडक्रस अभियानले विद्यार्थीहरूमा सकारात्मक चिन्तन, अनुशासन, नेतृत्व क्षमता र स्वयंसेवी भावनाको विकास गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो। उहाँले विपद्का समयमा समुदायस्तरमा प्रभावकारी प्रतिकार्य तथा व्यवस्थापनका लागि युवाको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै आफ्नो वडामा जिल्लास्तरीय प्रतियोगितामा सहभागी हुन आएका विद्यार्थी, शिक्षक तथा आयोजकलाई स्वागत तथा धन्यवाद व्यक्त गर्नुभयो। उहाँले यस्ता प्रतियोगिताले विद्यार्थीको प्रतिभा प्रस्फुटनसँगै सामाजिक उत्तरदायित्व र मानवीय सेवाप्रतिको भावना विकास गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका उपमन्त्री एवं जुनियर युवा संयोजक डिल्लीराम बरालले प्रतियोगिताको उद्देश्य, औचित्य तथा निबन्ध लेखनका आवश्यक पक्षबारे सहभागी विद्यार्थीलाई जानकारी गराउनुभयो। उहाँले मानवीय सेवा, वातावरण संरक्षण र जनचेतना अभिवृद्धिका अभियानमा जुनियर युवा रेडक्रसको भूमिका महत्वपूर्ण रहेको बताउँदै जलवायु परिवर्तन, जैविक विविधतामा परेको असर तथा विपद् न्यूनीकरणका क्षेत्रमा विद्यार्थी तथा युवाहरूले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले निबन्ध लेखनलाई केवल प्रतिस्पर्धाको माध्यम नभई सामाजिक तथा वातावरणीय विषयमा विद्यार्थीको सोच, दृष्टिकोण र सिर्जनशीलता अभिव्यक्त गर्ने प्रभावकारी माध्यमका रूपमा लिनुपर्ने बताउनुभयो।

भद्रकाली माध्यमिक विद्यालयका प्रधानाध्यापक यदुराज पंगेनीले स्वागत मन्तव्य व्यक्त गर्दै विद्यालयमा जिल्लास्तरीय कार्यक्रम आयोजना गर्ने अवसर प्राप्त हुनु गौरवको विषय भएको बताउनुभयो। उहाँले जुनियर युवा रेडक्रसले विद्यार्थीमा सेवा, सहयोग, अनुशासन र नेतृत्वको भावना विकास गर्न पुर्‍याएको योगदानको प्रशंसा गर्दै सहभागी सबै विद्यार्थीलाई सफलताको शुभकामना दिनुभयो। उहाँले विद्यालयले आगामी दिनमा पनि मानवीय सेवा तथा सामाजिक उत्तरदायित्वसँग सम्बन्धित कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी नेपाल जुनियर रेडक्रस सर्कल भद्रकाली माध्यमिक विद्यालयकी सचिव सपना लामिछानेले रेडक्रसका सात सिद्धान्तका बारेमा संक्षिप्त जानकारी दिँदै ती सिद्धान्तलाई विद्यार्थी जीवनमा व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो। जिल्ला शाखा कास्कीकी सदस्य बबिता सुवेदीले शुभकामना मन्तव्य व्यक्त गर्दै प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थीलाई शुभकामना दिँदै जुनियर युवा रेडक्रसको माध्यमबाट समाजसेवा र मानवीय सेवामा सक्रिय हुन आग्रह गर्नुभयो।

कार्यक्रमको अध्यक्षता नेपाल जुनियर रेडक्रस सर्कल भद्रकाली माध्यमिक विद्यालयकी अध्यक्ष अमिका राईले गर्नुभएको थियो। कार्यक्रममा विद्यालयका शिक्षक नायक लक्ष्मीप्रसाद अर्यालले जुनियर युवा रेडक्रसका गतिविधि, विद्यार्थीको नेतृत्व विकास तथा मानवीय सेवामा युवाको सहभागिताका विषयमा संक्षिप्त मन्तव्य राख्नुभयो। उहाँले यस्ता जिल्लास्तरीय प्रतियोगिताले विद्यार्थीको प्रतिभा पहिचान गर्नुका साथै उनीहरूमा आत्मविश्वास, अनुशासन र सामाजिक जिम्मेवारीको भावना विकास गर्ने बताउनुभयो।

कार्यक्रमको सञ्चालन सहशिक्षकनायक उमेश आचार्यले गर्नुभएको थियो। पाँचवटै पालिकाबाट आएका ३५ जना विद्यार्थीको सक्रिय सहभागिताले प्रतियोगिता उत्साहपूर्ण र प्रभावकारी बनेको थियो। प्रतियोगितामा सहभागी विद्यार्थीहरूले जलवायु परिवर्तन, जैविक विविधता संरक्षण, वातावरणीय चुनौती, विपद् न्यूनीकरण तथा मानवीय सेवामा जुनियर युवा रेडक्रसको भूमिकालगायतका समसामयिक विषयमा आफ्ना विचार तथा दृष्टिकोण प्रस्तुत गरेका थिए।

जिल्लास्तरीय यस प्रतियोगिताले विद्यार्थीहरूमा लेखन प्रतिभाको विकास गर्नुका साथै मानवीय सेवा, वातावरण संरक्षण, जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, जैविक विविधता संरक्षण र विपद् प्रतिकार्यमा युवा सहभागिता बढाउन महत्वपूर्ण सन्देश दिएको छ। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीको जुनियर युवा समिति तथा भद्रकाली माध्यमिक विद्यालयको संयुक्त पहलमा सम्पन्न कार्यक्रमले जिल्लाभरका विद्यालयमा रेडक्रसका मानवीय तथा सामाजिक अभियानलाई थप प्रभावकारी रूपमा विस्तार गर्न योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतियोगितामा जलबायु परिबर्तन ,जैबिक बिबिधता र बपिद न्युनीकरणमा जुनियर युबा रेडक्रसको भुमिका शीर्षकमा आयोजित उक्त प्रतियोगितामा प्रथम ,द्दिति्य तृतीय र सान्त्वना स्थान प्राप्त गनेँ बिधालयका बिद्याथीँहरुलाई जनही नगद रु ७ हजार ५ हजार ,३ हजार र २ हजार सहित प्रमाणपत्रले समेत आगामी भदौ १९ गते नेपाल रेडक्रस सोसाइटीको स्थापना दिबसको अबसरमा बितरण गरिने जनाईएको छ।