पोखरा, ७ भदौ । रोटरी क्लब अफ पोखरा लेकसाइड र रोटरी क्लब अफ काठमाडौँको संयुक्त आयोजना, बेसिक एजुकेसन एण्ड लिटरेसी (RID) ३२९२ को सहकार्य तथा शिक्षा विकास तथा समन्वय एकाइ, कास्कीको सहयोगमा पोखरामा सामुदायिक विद्यालयका शिक्षकहरुका लागि २ दिने सूचना प्रविधि तालिम आइतबार सम्पन्न भएको छ ।
पोखरा महानगरपालिकाका विभिन्न १७ वटा सामुदायिक विद्यालयका १८ जना शिक्षकहरुको सहभागिता रहेको उक्त २ दिने तालिम कार्यक्रमको उद्घाटन गर्दै शिक्षा विकास तथा समन्वय एकाइ, कास्कीका प्रमुख लोकनाथ आचार्यले शिक्षण पेसा आफैमा अरुलाई सिकाउने पेसा भएकाले शिक्षकहरुले पनि निरन्तर सिक्न लागि पर्नुपर्ने कुरामा जोड दिए । उनले सक्ने इच्छा शक्ति भएमा त्यसलाई उमेर र अवसरले रोक्न नसक्ने बताए । उनले भने, “हामीले खाँदा जसरी स्वाद फेर्नुपर्छ त्यसरी नै हाम्रा विद्यार्थीहरुलाई सिक्दा पनि नयाँ स्वाद चाहिन्छ । त्यो नयाँ स्वाद दिने काम आइसिटीले गर्छ ।” पाठ्यक्रममा उल्लेखित विषयहरु नै पनि रोचक ढंगबाट पढाउँदा मात्रै विद्यार्थीले सिक्न सक्ने बताउँदै उनले कोभिड जस्तै महामारी भविष्यमा आइहाल्यो भने पनि सिकाई निरन्तर हुनुपर्ने र त्यसका लागि शिक्षणमा सुचना प्रविधिलाई एकिकृत गर्नु आजको आवश्यकता भएको बताए ।
शिक्षा तालिम केन्द्र गण्डकी प्रदेश तथा स्किल ब्रिज एकेडेमी, कास्कीका रोष्टर प्रशिक्षक केआर ढकालको सहजिकरणमा श्री विन्दवासिनी माध्यमिक विद्यालय, पोखरा २, बरपाटनमा सम्पन्न तालिममा बोल्दै बेसिक एजुकेसन एण्ड लिटरेसी (RID) ३२९२ का क्षेत्रीय निर्देशक बाबुराम बरालले शिक्षा क्षेत्रलाई रोटरी क्लबले आफ्नो प्रमुख सहयोगको क्षेत्र बनाएको बताए ।
कार्यक्रमको समापनका अवसरमा बोल्दै RI District 3292 का IPDG बिनोद कोइरालाले यो युग नै आइटीको युग भएकाले अब कम्प्युटर सिकाउन कम्प्युटर पढेको शिक्षक कक्षामा जाने नभई हरेक शिक्षकले आफ्नो विषयवस्तुलाई कम्प्युटरको सहयोगमा पढाउनुपर्ने बताए। उक्त अवसरमा प्रशिक्षार्थीहरुलाई तालिम सम्पन्नताको प्रमाणपत्र प्रदान गरिनुका साथै स्टेशनरी सहितको शिक्षक व्याग समेत मायाको चिनो स्वरुप प्रदान गरिएको थियो । कार्यक्रमको व्यवस्थापक श्री विन्दवासिनी माध्यमिक विद्यालयका प्रधानाध्यापक बसन्तराज पाण्डे, प्रशिक्षार्थी श्री नवप्रभात मा वि का शिक्षक शान्ताराम लामिछाने र श्री जनप्रिय माविकी शिक्षक सुशीला गिरी लगायतले तालिमको महत्व, उपलब्धी र शिक्षणमा यसको प्रभावका विषयमा आफ्ना भनाईहरु राखेका थिए ।
रोटरी क्लब अफ पोखरा लेकसाइडका प्रेसिडेन्ड तोप बहादुर थापाको अक्षध्यतामा सम्पन्न कार्यक्रममा क्लबका कोषाध्यक्ष कुल प्रसाद सुवेदीले स्वागत र क्लबका सचिब आमोद कोइरालाले सञ्चालन गरेका थिए ।


0 Comments