डेङ्गु सचेतना खोज र नष्ट गर कार्यक्रम सम्पन्न

 


पोखरा, भाद्र १३ गते । नेपाल रेडक्रस सोसाइटी कास्की जिल्लाको आयोजना तथा माछापुच्छ्रे ४ लाहाचोक उपशाखाको व्यवस्थापनमा डेङ्गु सङ्क्रमण कारण, लक्षण र रोकथामसम्बन्धी सचेतनाका साथै डेङ्गु लामखुट्टे खोज र नष्ट गर कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी लाहाचोक उपशाखाका सभापति विष्णुप्रसाद पौडेलको समापतित्वमा सम्पन्न कार्यक्रममा रेडक्रस कास्कीका वरिष्ठ प्रशिक्षक नवराज भण्डारीले डेङ्गु रोगको परिचय, यसको लक्षण र डेङ्गु लामखुट्टेबाट बच्ने उपायबारे सहजीकरण गरेका थिए । प्रमुख अतिथि माछापुछ्रे ४ लाहाचोकका वडाअध्यक्ष मधुसुदन अधिकारीले विविध समयमा स्वास्थ्यसम्बन्धी गरिने यस्ता कार्यक्रमहरूमा सबैले चासो दिई दैनिक रूपमा सचेत भएर आफ्नो र समुदायको स्वास्थ्यमा जतिसक्दो सचेतना फैलाउनुपर्ने रेडक्रसको मात्र नभई सबैको दायित्व भएको बताएका थिए ।

अर्का वक्ता वडा सदस्य अर्जुन अधिकारीले रेडक्रसले गरेका विविध कार्यक्रम हाम्रो दैनिकी र स्वास्थ्यसँग जोडिने भएको हुनाले आफूले पनि फाइदा लिएको र सबैले सबैलाई चेतना जगाउने भूमिका खेल्नुपर्ने बताएका थिए । नेपाल रेडक्रस सोसाइटी कास्की का प्रशिक्षकहरू सुनिता पाैडेल, मनिला कुँवर, हेममाया तामाङ, रूपा केसी र अवतार रोक्का मगरले सार्वजनिक स्थानहरूमा डेङ्गु खोज र नष्ट तथा पानी जम्ने ठाउँहरू र डेङ्गु उत्पादन हुने सम्भावित स्थानहरूमा डेङ्गुका जिवाणुहरू पहिचान गराई नष्टसमेत गरेका थिए ।

कार्यक्रममा लाहाचोका सबै बस्तीहरूमा डेङ्गु रोगसम्बन्धी सचेतना सन्देश माइकिङ गर्दै सुनाइएको थियो । स्थानीय रेडक्रस आजीवन सदस्य बालकृष्ण अधिकारीले स्वागत गरेको उक्त कार्यक्रम नेपाल रेडक्रस जिल्ला समिति कास्कीका सदस्य श्रीकान्त पाैडेलले सञ्चालन गरेका थिए ।



Post a Comment

0 Comments