समता काव्य सन्ध्याको ३९७औं शृङ्खला प्राज्ञको सम्मान गर्दै सम्पन्न



पोखरा, भदौ ६ गते । साहित्य, सङ्गीत र कलाको त्रिवेणीका रुपमा वि. सं. २०३४ सालदेखि अविच्छिन्न रुपमा सेवारत पोखराको अग्रणी वाङ्मयिक संस्था “पोखरेली युवा सांस्कृतिक परिवार”ले आँफुले नियमित रुपमा गर्दै आएको मासिक काव्य वाचन कार्यक्रम-“समता काव्य सन्ध्या ”को ३९७औं शृङ्खला परिवारका सल्लाहकार तथा विभागीय सल्लाहकारहरु क्रमशः साहित्यकार दीपक समीप, सङ्गीत विभागका सलाहकार लोकप्रिय गायक विनोद बानिया र कला विभागका सल्लाहकार डि. बी. गुरुङ क्रमशः नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभासदमा नियुक्त भएकोमा सम्मान गर्दै शनिवार पोखरामा सम्पन्न भएको छ ।

कार्यक्रमका विशेष उपस्थिति जनाउँदै संस्थाका पूर्व अध्यक्ष एवं सल्लाहकार सुप्रसिद्ध कलाकार तथा बिम्बकवि रमेश श्रेष्ठले सम्पूर्ण नेपाली दिदीबहिनीहरुलाई तीजको शुभकामना दिंदै ‘ म सानो हुँदा आमा बिरामी हुनुहुन्थ्यो र रुनु हुन्थ्यो, आमा रोएको देखेर म पनि रुन्थें र त्यही रुवाईलाई म कविता ठान्थें । अलि ठूलो मैले पेन्टिंग गर्दागर्दै राती अबेर घर पुग्थें । बजै मलाई कुरेर बस्नुहुन्थ्यो । बजै किन नसुतेको भनि सोध्दा तँ नआई म कसरी सुत्नसक्छु ! भन्नुहुन्थ्यो । मैले त्यसैलाई कविता सम्झें । ती कविताका मुख्य तत्व त रहेछन् । तर कविता रहेनछन् । ईट्टा, सीमेन्ट, छड़ थुपार्दैमा घर बन्दैन । घर बनाउँने निश्चित विधि भए झैं कविता बन्ने पनि विधि हुन्छ । जीवनमा सपना नदेखेको मानिसले जात र धर्मका नाममा विवाद गर्छन् र भाइरल बनेको भ्रम पाल्छन् । हामी त्यस्तासंग सतर्क भै तुरुन्तै प्रतिक्रिया दिनुपर्दो रहेछ, ताकि ती विषालु काँडाहरु नफैलुन् ‘भन्दै आफ्नो कविता वाचन गर्नु भयो ।

कार्यक्रममा संस्थाका सल्लाहकार डा. ईश्वरमणि अधिकारी, प्राडा नवराज न्यौपाने, लक्ष्मी थापा,ढाकामोहन बराल, नारायण बास्तोला,माधव खतिवडा , गीता तिवारी, शान्ति कँडेल, तेजनारायण अधिकारी, आशीष रेग्मी, मुक्तिनाथ अधिकारी, विद्याविमल बराल, कौशलचन्द्र जिसी, रेशम गिरी, चन्द्रावती वाग्ले,गीता तिवारी,देवेन्द्र चिनार, वसन्त चालिसे, नवराज बराल, कृष्ण सुवेदी, शान्ति कँडेल, मनोज गौतम, केशु शर्मा, बिमला अधिकारी, मुनाल गोदार, मुक्तिराम अधिकारी, अक्षता पाण्डे, अम्बिका भण्डारी, रश्मि पाठक, लगायत कविहरुले गर्दै आफ्ना कविता वाचन गर्नुभयो । प्राज्ञ विनोद बानियाले पनि आफ्ना धारणा राख्दै गजल गायन गर्नुभयो ।

परिवारका अध्यक्ष रीता अधिकारी ‘ऋतु ‘को सभाध्यक्षमा भएको कार्यक्रममा उपाध्यक्ष लक्ष्मण थापाले स्वागत र सचिव एमडी काफ्लेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

Post a Comment

0 Comments