- सुरज लम्साल
रसुवा भोटेकाेसीमा आएको बाढी र अपूरणीय जनधनको क्षतिका बिच देखिएको उद्धार तथा राहत वितरण, सञ्चारमाध्यम र सामाजिक सञ्जालमा देखिएको व्यवहार तथा विचारहरूलाई हेर्दा वर्तमान समाज र मानवीय स्वभावलाई निम्न आधारमा विश्लेषण गर्न सकिन्छ :
 |
| AI Generated Photo |
१. निःस्वार्थ सेवाभाव :
- बाढी पीडितहरूका लागि राहत एवम् उद्धारका लागि स्वतःस्फूर्त रूपमा आर्थिक तथा उपभाेग्य वस्तुहरूको सहयोग गर्नेहरू
- आफू खाई नखाई उद्धारमा खटिने सुरक्षाकर्मी, युवावर्ग, समाजसेवी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू
- आर्थिक सहयोग गर्न तथा उद्धारमा खटिन असमर्थ रहे तापनि धेरैभन्दा धेरै बाँँचे हुन्थ्यो, सबैले छिटो राहत पाए हुन्थ्यो भनेर सोच्दै भगवान्को प्रार्थना गर्नेहरूदेखि मैले आर्थिक अभावका कारण सहयोग गर्न पाइनँ अनि उद्धारमा जान सकिनँ भनेर पछुतो मान्नेहरू २. स्वार्थी मानसिकता :
- यही मौकामा कमाउनुपर्छ भन्दै बगाएर ल्याएका सामान अनि रकम लुकाउनेदेखि सुन चोर्नेहरू
- हामी प्रभावित क्षेत्रमा जाँदै छौँ राहतका लागि सामानहरू लिएर, तपाईँहरूले पनि सकेको सहयोग गर्नुहोस् भन्दै सामानहरू सङ्कलन गर्ने, त्यहाँ गएर यसो बाँडे जस्तो गरेर एउटा दुईटा फोटो हाल्ने तर बिचैमा सामान बेच्नेहरू
- राज्य संयन्त्रबाट आएका राहतहरू थोरै समस्यामा परेर पनि आफैँलाई मात्र धेरै चाहिन्छ भन्दै धेरै ओगाट्न खोज्ने, मभन्दा पनि अर्को पीडित छ, उसलाई पनि सहयोग गरौं नभन्नेहरू
- न आर्थिक सहयोग, न उद्धारमा तत्परता, न घाइते बिरामीहरूको स्वास्थ्य लाभको कामना, न समवेदना देखाउने वा मनमा जागृत पनि नहुने तर सरकारले यसो गर्नुपर्छ भन्दै अर्ती उपदेश दिने, नकारात्मक कमेन्टहरू मात्र गर्ने, निकृष्ट भाषाशैलीमा गाली गलौज गर्नेहरू
- facebook, tiktok जस्ता सञ्जालहरूमा मनिटाइज हुने र धेरैभन्दा धेरै मनिटाइज होस् भनेर सत्य र तथ्य जाँच नगरी भ्रामक समाचारहरू सम्प्रेषण गर्नेहरू, यसैका लागि मात्र फोटो भिडियोहरू राखेको राख्यै गरेर समाजमा नकारात्मक चिन्तनको विकास गर्नेहरू
३. राजनैतिक दाउपेज : - हाम्रो दलले उद्धार र राहतमा यसो गर्यो उसो गर्यो भन्दै कामभन्दा पनि हल्ला बढी गर्नेहरू
- हिजोका नेताहरू यस्तो समस्यामा केही गर्थेनन्, अहिले यसो गरेका छन्, उसो गरेका छन्, हेर त देख्यौ झोलेहरू भन्दै अनावश्यक द्वन्द सिर्जना गर्नेहरू
- हिजोका नेताहरूले प्रत्यक्ष संवाद गरेर समाधान गरेका थिए, खै आज गरेको ? यत्रो दुई तिहाइको सरकारले पनि किन उद्धार र राहतमा ढिलासुस्ती ? भन्दै खाली आलोचना मात्रै गर्नेहरू
- स्थानीय र प्रदेश सरकार पुराना दलका झोलेहरूको उद्धारमा सहयोग गर्छन् र भनेर गरिरहेकाहरूलाई हतोत्साही गर्नेहरू
- यत्रो शक्तिशाली सरकारले खै त छिटोभन्दा छिटो काम गरेको भनेर प्रचारबाजी गर्नेहरू
- कुनै नेताले सकेको आर्थिक सहयोग गर्दा हिजो लुटेको पैसा सहयोग गरिस् भनेर नकारात्मक भावना फैलाउनेहरू
- तिम्रा सम्पत्ति विवरणमा देखिएका त्यत्रा सम्पत्तिको केही भाग सहयोग गरेर देखाउन नयाँ भनाउँदा भनेर आलोचना गर्नेहरू
- ग्यास झिक्ने, पैसा लुकाउने, सुन चोर्नेहरू फल्नाे फल्नाे पार्टीको हो भन्दै एक पार्टीमा आस्था हुनेले अर्को पार्टीको र अर्को पार्टीमा आस्था हुनेले अर्को पार्टीको एआई तस्बिर बनाएर भ्रामक समाचारहरू सम्प्रेषण गर्नेहरू
- प्रधानमन्त्री राहतकोषकाे qr लाई एआईबाट मिलाएर आफ्नो दलका खातामा पैसा पठाउन लगाउने (वास्तविक हो कि होइन प्रमाणित हुन बाँकी) वा ती दललाई फसाउनका लागि अन्य कुनैले बनाइदिएर भ्रामक समाचार छर्नेहरू
- उद्धार र राहतभन्दा पनि स्टन्ट, प्रचारबाजीका लागि प्रभावित क्षेत्रमा पुगेर फोटो र भिडियो खिच्नेहरू
- विभिन्न सञ्चार माध्यममा पीडितको वास्तविक पीडा, राज्यको तदारुकता, दलहरूको प्रतिबद्धता एवम् सहयोगको व्यवस्था गर्दै आफ्नो राजनीतिक आस्थाका आधारमा धारणा बनाएर बुद्धिजीवी टोपोलिएर अन्तर्वार्ता दिनेहरू
निष्कर्ष: माथि उल्लिखित सबै पक्षलाई विश्लेषण गर्दा प्राकृतिक विपत्ति अप्रत्यासित रूपमा हुने विपत्ति हो । यस्ता विपत्तिमा सहयोग गर्नेहरू भगवान् हुन् । उनीहरूमा कुनै प्रचारबाजी र सम्मानको जरुरत हुँदैन। त्यस्ता मानिसहरू तुलनात्मक रूपमा थोरै प्रतिशत मात्रै देखिएका छन्। अधिकांश मानिसहरू सामाजिक सञ्जालमा सकारात्मकताभन्दा पनि नकारात्मकता फैलाउने किसिमका सामग्रीहरू सम्प्रेषण गर्ने र यही मौकामा राजनीतिक रोटी सेक्न खोज्ने प्रवृत्ति देखिएको छ । यस्तो हुनुहुँदैन । समाजका बुद्धिजीवीहरूले यस्ता विषयमा कलम चलाउनुपर्छ । ठुला भनिएका सञ्चार माध्यमहरूले सकारात्मक सन्देश प्रवाह हुने किसिमका समाचारहरू सम्प्रेषणमा जोड दिनुपर्छ । विपत्ति आज कसैलाई परेको छ, भोलि हामीलाई पर्न सक्छ त्यसैले नि:स्वार्थ भावना लिई राजनैतिक स्वार्थबाट माथि उठी जो जसले राम्रो गरे पनि त्यसलाई ताली र जो जसबाट गल्ती र कमजोरी हुन्छ त्यसका लागि सुझाव दिनु नै आजको आवश्यकता हो। सबै मिलेर त्यसो गर्न सक्यौँ भने पक्कै पनि यो ठुलो आहातमा राहत मिल्न सक्छ ।(लेखक जनज्योति मावि, तनहुँका शिक्षक हुन् ।)
0 Comments