पोखरामा जन्मप्रदत्त एवम् रोग प्रतिरक्षाको कमीसम्बन्धी सचेतनामूलक कार्यक्रम

 


पोखरा, वैशाख १५ गते । पोखरामा जन्मजात रोग प्रतिरक्षा कमी भएका बिरामीहरूको पहिचान र उपचारसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल प्यासेन्ट इनिसिएटिभ फर प्राइमरी इम्युडिफिसिएन्सिज एन्ड इनबर्न एरर्स (NePOPIIe) नामक संस्थाको आयोजनामा भएको कार्यक्रममा नेपालका एक मात्र इम्युनोलोजिस्ट डा. धर्मागत भट्टराईले सहजीकरण गरेका थिए । नेपालमा रोग प्रतिरक्षा शक्तिको कमी भएका बिरामीको पहिचान नै हुन नसकेकोतर्फ ध्यानाकर्षण गराउँदै डा. भट्टराईले नेपाल सरकारले यससम्बन्धी चासो बढाउनुपर्नेमा जोड दिए । विश्वका कतिपय मुलुकमा इम्युन कमी भएका बिरामीको निःशुल्क उपचार भइरहेको अवस्थामा नेपालमा भने स्वास्थ्यकर्मीमा समेत यससम्बन्धी जानकारी नहुनु दुःखद भएको उनको भनाइ थियो । “घरको कोठमा लागेको ढुसी हटाउँदैमा ढुसीको समस्या समधान हुँदैन, त्यसको कारणसम्म पुगेर निदान गर्नुपर्छ” डा. भट्टराईले भने, “ज्वरो आयो भने एन्टिबायोटिक वा सिटामोल दिएर केही बेर सञ्चो बनाउँदैमा रोग निको भएको मान्नुहुँदैन, कारण पत्ता लगाएर उपचार गर्नुपर्छ ।” एउटै समस्या पटक पटक देखियो भने इम्युनसम्बन्धी समस्या हो कि भनेर शङ्का गर्नुपर्ने उनले बताए । नेपाल सरकारले इम्युनोलोजिस्ट बढाउनेतर्फ ध्यान दिएर कैयौँ जनतालाई अकाल मृत्युबाट जोगाउनुपर्नेमा भट्टराईले जोड दिए । डा. भट्टराई काठमाडौँस्थित इम्युनोकेयर उच्च रोग–प्रतिरक्षा तथा बाथरोग केन्द्रमा कार्यरत छन् ।

संस्थाका अध्यक्ष सन्दिप पौडेलले आफूहरूले इम्युनको कमी भएका बिरामीहरूको अभिभावक मिलेर संस्था स्थापना गरी यस्तो समस्याको पहिचान गरी समाधानतर्फ लाग्नका लागि सचेतना फैलाउने अभियान सञ्चालन गरेको जानकारी दिए । उनले रोगबाट पीडित अरू पनि छन् र उपचार सम्भव छ भन्ने जानकारी आम मानिसमा पु¥याउन संस्थाले कार्यक्रम गर्ने बताए । पौडेलका ८ वर्षीय छोरा सुशान्त पौडेल इम्युन कमीसम्बन्धी विश्वकै एक दुर्लभ रोगका कारण हाल भारतको दिल्लीमा उपचाररत छन् । उनी त्यस्तो रोगले पीडित विश्वकै १८ औँ बच्चा हुन् । उपचारका लागि आवश्यक औषधिसमेत नेपालमा वैधानिक रूपमा प्रयोग गर्न नपाइने अवस्था रहेको अनुभव पौडेलले सुनाए । पीडितहरूको सङ्गठित आवाज नेपाल सरकारसम्म पु¥याएर सहज उपचारका लागि व्यवस्था होस् भन्ने पनि संस्थाको उद्देश्य रहेको उनले बताए ।


Post a Comment

Previous Post Next Post