बागलुङमा रोग प्रतिरक्षा शक्तिको कमीसम्बन्धी सचेतनामूलक कार्यक्रम



बागलुङ, वैशाख १८ गते । बागलुङको ढोरपाटन नगरपालिकास्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा रोग प्रतिरक्षा शक्ति कमी भएका बिरामीहरूको पहिचान र उपचारसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल प्यासेन्ट इनिसिएटिभ फर प्राइमरी इम्युडिफिसिएन्सिज एन्ड इनबर्न एरर्स (NePOPII)  नामक संस्थाको आयोजनामा भएको कार्यक्रममा डा. धर्मागत भट्टराईले सहजीकरण गरेका थिए । कुन कुन लक्षण देखिएमा प्रतिरक्षा शक्तिको कमी भएको मान्ने भन्ने विषयमा उनले जानकारी दिएका थिए । रोगको लक्षण देखिएमा त्यसको गरिाइमा पुगेर कारण खोज्नेतर्फ ध्यान दिनुपर्ने डा. भट्टराईले बताए । भट्टराई नेपालका एक मात्र इम्युनोलोजिस्ट हुन् ।

संस्थाका अध्यक्ष सन्दिप पौडेलले रोग प्रतिरक्षा शक्ति कमी भएका कारण विभिन्न रोगहरू लाग्न सक्ने भएकाले त्यससम्बन्धी सचेतना अभियान सञ्चालन गरिएको बताए । उनले वैशाख १५ गते पोखराबाट सुरु भएको अभियानको दोस्रो कार्यक्रम बागलुङमा सञ्चालन गरिएको जानकारी दिए । देशभरि नै यो अभियान अघि बढाउने पौडेलले बताए । रोग प्रतिरक्षा शक्तिको कमीका कारण विभिन्न रोगबाट पीडितहरूको संस्थाका रूपमा NePOPII गठन गरी अघि बढिएको उनको भनाइ थियो । विश्व PI सप्ताहअन्तर्गत सचेतना अभियान जारी रहेको उनले बताए ।

कार्यक्रममा बिरामी, बिरामीका परिवारका सदस्यहरू, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, समाजसेवी र कर्मचारीहरूको सहभागिता रहेको थियो ।


Post a Comment

Previous Post Next Post