मिलन समीर,
गल्याङ (स्याङ्जा) । नेपाली साहित्यिक जगतका नाट्यसम्राट् बालकृष्ण समको १२४ औँ जन्मजयन्ती तथा कविशिरोमणि लेखनाथ पौड्यालको ६०औँ स्मृति दिवसको सन्दर्भमा जगत्रदेवी साहित्य सङ्गम, गल्याङ, स्याङ्जाद्वारा आयोजित ‘गल्याङ काव्य उत्सव तथा स्रष्टा सम्मान समारोह- २०८२’ गल्याङमा सम्पन्न भएको छ ।
पल्लव साहित्य
प्रतिष्ठान, भरतपुर, चितवनका
संस्थापक अध्यक्ष ऋषिप्रसाद लामिछाने (गोर्खे साइँलो) को प्रमुख आतिथ्यमा सम्पन्न
भएको कार्यक्रम सङ्गमका अध्यक्ष चण्डिकाप्रसाद भट्टराईको अध्यक्षतामा भएको थियो ।
सभाध्यक्ष भट्टराईले
सहयोगी र उदार मन भएका पूर्व विद्यार्थीको विशेष सहयोगले गल्याङमा यसरी गल्याङ
काव्य उत्सवको आयोजना गर्न पाएकामा खुसी व्यक्त गर्दै सम्बन्धित स्थानीय तहको
लगानीमा हुनुपर्ने कार्यक्रम देश विदेशमा रही श्रम गर्नेहरूको सहायताले गरिएको
जानकारी गराए ।
जगत्रदेवी साहित्य
सङ्गमका अध्यक्ष चण्डिकाप्रसाद भट्टराईका पूर्व विद्यार्थी (हाल- अमेरिका निवासी)
डा. विश्व विके खड्काद्वारा प्रायोजन गरिएको गल्याङ काव्य उत्सव समारोहमा प्रमुख
अतिथि लामिछानेलाई "जगत्रदेवी साहित्य सम्मान- २०८२" र प्रायोजक विश्व
विके खड्कालाई दोसल्ला र कदरपत्रद्वारा सम्मान गरिएको थियो । प्रायोजकको सम्मान
डा. विश्व विके खड्काका दाजु पितम खड्कालाई हस्तान्तरण गरिएको थियो ।
सङ्गमका उपाध्यक्ष
लिलाबल्लौ अर्यालले बालकृष्ण सम र लेखनाथ पौड्यालको साहित्यिक परिचय दिएका थिए ।
कार्यक्रममा पाल्पा
साहित्य समाजका अध्यक्ष पुष्कर अथक रेग्मी, पोखराथोक
साहित्य सङ्गमका अध्यक्ष गोविन्द खनाल, पल्लव साहित्य
प्रतिष्ठानका सदस्य लोकनाथ खराल, गल्याङ नगरपालिका वडा नं. ७
का अध्यक्ष झविलाल पाण्डे विशिष्ट अतिथि रहेका थिए । वडाअध्यक्ष झविलाल पाण्डेले
साहित्यिक संस्थालाई सशक्त बनाउन कार्यपालिकाको बैठकमा आवाज उठाउने र आफ्नो वडाको
तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा दुर्गा
राना,
दिलीप मगर, गीता थापा, पितम
खड्का, प्रेमबन्धु सुवेदी, झवनाथ
बस्याल, नारायणप्रसाद न्यौपाने, गुरुप्रसाद
ढकाल, पार्वती थापा, भोजकुमारी पाण्डे,
ढालबहादुर के.सी., सनतकुमार गैरे, लोकहरि पाण्डे क्षितिज, वसन्त खनाल, सूर्यप्रसाद डुम्रे, छविलाल अधिकारी, शोभाखर भट्टराई, नोलराज भण्डारी, लोकनाथ खराल, मित्रलाल गौतम, पुष्कर
अथक रेग्मी, गोविन्द खनाल, डिल्लीराम
भण्डारीलगायतले राष्ट्रिय परिवेशमा आधारित कविता वाचन गरेका थिए ।
सङ्गमका कोषाध्यक्ष
पार्वती थापाद्वारा स्वागत मन्तव्य प्रस्तुत गरिएको कार्यक्रमको सहजीकरण सचिव
डिल्लीराम भण्डारीले गरेका थिए ।
