पाठ्यक्रम विकास केन्द्रद्वारा पाठ्यक्रम र पाठ्यपुस्तक सुधारका लागि अन्तरक्रिया - EDUCATION NEWS NEPAL

अपडेट

Friday, May 29, 2026

पाठ्यक्रम विकास केन्द्रद्वारा पाठ्यक्रम र पाठ्यपुस्तक सुधारका लागि अन्तरक्रिया

 


पोखरा, जेठ १५ गते । पाठ्यक्रम विकास केन्द्र, सानोठिमी, भक्तपुरले विद्यालय तहका पाठ्यक्रम तथा पाठ्यपुस्तकको गुणस्तर सुधारका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम पोखरामा सम्पन्न गरेको छ ।

जेठ १४ र १५ गते गरी दुई दिनसम्म भएको अन्तरक्रियामा कास्कीका विभिन्न विषयगत शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, शिक्षा विकास तथा समन्वय एकाइका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका निर्देशक नवीनकुमार खड्काले पाठ्यक्रम र पाठ्यपुस्तकको हालको अवस्था र तिनलाई निर्देशित गर्ने दर्शनहरूबारे प्रकाश पारेका थिए । उनले पाठ्यक्रम र पाठ्यपुस्तक परिमार्जनका लागि पाठ्यक्रम विकास केन्द्रले सरोकारवालाबाट वस्तुगत सुझावको अपेक्षा गरेको जानकारी दिए ।

केन्द्रका अर्का निर्देशक पुरुषोत्तम घिमिरेले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ माथि प्रकाश पार्दै यसको परिमार्जनको प्रक्रियामा केन्द्र रहेको जानकारी दिए । उनले प्रारूपको समयसापेक्ष परिमार्जनका लागि कार्यान्वयन तहबाटै सुझाव सङ्कलन गरिरहेको बताए ।

पाठ्यक्रम अधिकृत विजयकुमार रानाभाटले पाठ्यक्रम निर्माण, विकास र परिमार्जनको प्रक्रियाबारे प्रकाश पारेका थिए । उनले शिक्षकहरूले विषयगत रूपमा दिएका जुनसुकै सुझावलाई केन्द्रले सधैँ सम्बोधन गर्ने प्रतिबद्धतासमेत जनाए । पाठ्यक्रम तथा पाठ्यपुस्तक समयानुकूल परिवर्तन र परिमार्जन गरिने बताउँदै रानाभाटले समय समयमा यो कार्य केन्द्रले गर्दै आएको बताए । अर्का पाठ्यक्रम अधिकृत कुमार घिमिरेले सहभागीबाट प्राप्त सुझावबारे अन्तरक्रिया सञ्चालन गरेका थिए ।

सो अवसरमा सहभागीहरूले व्यक्तिगत तथा सामूहिक रूपमा नीतिगत व्यवस्था, समन्वय, व्यवस्थापन, तहगत पाठ्यक्रम र पाठ्यपुस्तक, सिर्जना/परियोजना कार्य, सूचना तथा सञ्चार प्रविधिलगायतका विषयमा सुझाव प्रस्तुत गरेका थिए । सामूहिक प्रस्तुतिमा रामबाबु पौडेल, खगेन्द्र बराल, माया थापा र मणिराज परियारले आआफ्नो समूहको प्रस्तुति राखेका थिए । समग्र कार्यक्रमबारे रुपिन्द्र प्रभावीले समीक्षा गरेका थिए ।