साहित्य शृङ्खलाको २२ औँ अङ्क सिर्जना आलोक लोकार्पण - EDUCATION NEWS NEPAL

अपडेट

Monday, May 18, 2026

साहित्य शृङ्खलाको २२ औँ अङ्क सिर्जना आलोक लोकार्पण

 


पोखरा । साहित्य शृङ्खला पोखराद्वारा प्रकाशित पत्रिकार सिर्जना आलोकको २२ औँ अङ्क सार्वजनिक भएको छ । शृङ्खलाले नियमित रचना वाचनको २८४ औँ शृङ्खलासँगै आफ्नो नियमित प्रकाशन सिर्जना आलोकको नयाँ अङ्क सार्वजनिक गरेको हो ।

पृथ्वीनारायण क्याम्पसका पूर्वप्रमुख गेहेन्द्रेश्वर कोरालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कोइरालाले नियमित आकस्मिकताको दर्शनबारे चर्चा पार्दै आकस्मिकता गुणात्मक हुने  धारणा राखे । उनले शृङ्खलाका गतिविधिहरू निरन्तर हुनु खुसीको कुरा भएको बताए ।

शृङ्खलाका सल्लाहकार डा. कृष्णराज अधिकारीले डिजिटल लतमा लाग्नेहरूलाई पठन संस्कृतिलाई अगि बढ्न सुझाव दिए । साहित्यिक सामग्रीहरू लक्षित  वर्गसम्म पुग्नुपर्ने, युवा केन्द्रित रचना सिर्जना गर्नुपर्ने  र उनीहरूलाई आकषर्ण गर्दै नाराका रूपमा मात्र नभई कलालाई अघग सार्नुपर्नेमा जोड दिए ।

साहित्यकार नारायण मरासिनीले जेठ महिनालाई क्रान्तिको कविता लेख्ने कवि शिद्धिचरण श्रेष्ठ, काव्य लेखन प्रगतिशील कविता लेख्ने मानक कवि गोकुल जोशी र पत्रकारितासँगै प्रगति फाँटका कवि कृष्ण सेन इच्छुकलाई सम्झना गर्नुपर्ने महिनाका रूपमा चर्चा गरे ।

संस्थाका सल्लाहाकार एवम् दर्शनशास्त्री रामराज रेग्मी, पूर्वअध्यक्ष लोकनाथ पुडासैनी, शृङ्खलाका परिकल्पनाकार धनप्रसाद तामाङ, वामबुद्धिजीवी रामजी थापा, मार्क्सवादी स्रोत अध्ययन केन्द्रका अध्यक्ष झलकपाणि तिवारी, गण्डकी साहित्य सङ्गमका अध्यक्ष भीमरानाभाट, नियात्रा समाजका केन्द्रीय सदस्य एवम् कलाकार तिलक पुन पुर्जालगायतले संस्थाको गतिशीलताका बारेमा चर्चा गर्दै शुभकामना मन्तव्य दिएका थिए ।

सिर्जना आलोकको समीक्षा सहप्राध्यापक डा. पुण्यप्रसाद शर्माले गरेका थिए । उपप्राध्यापक एवम् आलोक शृङ्खलाका सम्पादक परशुराम कोइरालाले सम्पादकीय भनाइ राखेका थिए भने अर्का सम्पादक उपप्राध्यापक निर्मल सापकोटाले कार्यक्रमको दौरानमा वाचित रचनाहरुको मिहिन समीक्षा गरेका थिए ।

सो अवसरमा सङ्गम सांस्कृतिक मञ्च,नेपालका विकास लुङ्गेली, खेम लामा, डिबी बान्तवालगायतले साङ्गीतिक प्रस्तुति राखेका थिए ।

लघुकथा प्रतिष्ठान, पोखराका अध्यक्ष  कल्याण पन्त, सचिव विष्णुप्रसाद बास्तोला, सदस्य ढाकामोहन बराल, पोखरेली युवा सांस्कृतिक परिवारका उपाध्यक्ष लक्ष्मण थापा, प्रगतिवादी कवि नुमराज बराल, साहित्यकार विद्याविमल बराल, जमुना कायस्थ, सिर्जना साहित्य सदन, घाचोकका पूर्वअध्यक्ष टेकनाथ पिडित, पूर्वप्रधानाध्यापक हृषिकेश बराल, शोभाकान्त गौडेल, कथाकार आरसी आचार्यलगायतका स्रष्टाहरूले आफ्ना रचना सुनाएका थिए ।

विभिन्न साहित्यिक सङ्घ संस्थाहरूको उल्लेख्य उपस्थितिमा सम्पन्न कार्यक्रमको अध्यक्ष लक्ष्मण गौतम ‘हिमाली’ ले गरेका थिए । उपस्थित महानुभावहरूलाई शृङ्खलाकी सदस्य लोचना अधिकारीको स्वागतमा भएको कार्यक्रमको संस्थाका सचिव काजी गाउँलेले कार्यक्रम सञ्चालन  गरेका  थिए ।