कास्कीका शिक्षकलाई प्रविधिको अभिमुखीकरण (फोटो फिचर)

पोखरा । प्रविधिमैत्री शिक्षक समाज, कास्कीले बिहिबार शिक्षण सिकाइमा प्रविधिको प्रयोगसम्बन्धी अभिमुखीकरण सम्पन्न गरेको छ ।

शिक्षण सिकाइमा मोबाइल एप्लिकेसनको प्रयोगसम्बन्धी अभिमुखीकरण प्रविधिमैत्री शिक्षक समाज, नेपालका केन्द्रीय अध्यक्ष भूपति बश्यालले र लेटर ग्रेडिङमा आधारित मूल्याङ्क पद्धतिसम्बन्धी अभिमुखीकरण प्रशिस, कास्कीका सदस्य रुपिन्द्र प्रभावीले गरेका थिए । राइट फर चिल्ड्रेनको सहआयोजना र शिक्षा विकास तथा समन्वय इकाइ, कास्कीको समन्वयमा भएको कार्यक्रममा कास्की र वरिपरिका शिक्षकहरूको सहभागिता रहेको थियो ।

प्रशिस, कास्कीकी अध्यक्ष सकुन्तला सोतीको अध्यक्षतामा भएको उद्‍घाटन सत्रका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाइ, कास्कीका प्रमुख लोकनाथ आचार्यले शिक्षकलाई प्रविधिको महत्त्वमाथि प्रकाश पार्दै दौडिन चाहने अहिलेका विद्यार्थीसँगै हिँड्न पनि नसक्ने शिक्षक अब टिक्न नसक्ने बताए । समयको मागलाई सम्बोधन गर्दै सिकाइ गर्नुपर्नेमा जोड दिँदै उनले सिक्नका लागि सबै तयार हुनुपर्ने धारणा राखे ।

प्रशिसका केन्द्रीय अध्यक्ष भूपति बश्यालले प्रविधिमैत्री शिक्षक समाजको अभियान सबै शिक्षकहरूलाई प्रविधिमैत्री बनाउने रहेको भन्दै यसमा सम्बन्धित निकायको सहयोग अपरिहार्य रहेको बताए । कार्यक्रममा केन्द्रीय महासचिव देवीप्रसाद शर्मा, गण्डकी प्रदेश अध्यक्ष श्रीकान्त पौडेल, नेपाल टेलिकम, गण्डकी प्रदेश बजार शाखाका प्रमुख महेन्द्र रिमाल, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, कास्कीका अध्यक्ष रोमहर्षण पौडेल, राइट फर चिल्ड्रेनका विष्णुप्रसाद अधिकारीलगायतले शुभकामना दिएका थिए ।

प्रशिस, कास्कीका सचिव भीम सुवेदीको सञ्चालन तथा सदस्य बृहस्पति लम्सालको स्वागतमा भएको कार्यक्रममा सहभागीहरूका तर्फबाट रमेश भट्टराई र इन्दिरा सापकोटाले प्रतिक्रिया दिएका थिए ।

 





















Post a Comment

Previous Post Next Post