काठमाडौँ ड्रिमसिटी लायन्सद्वारा शैक्षिक एवम् खेलकुद सामग्री वितरण

 


गोरखा । लायन्स क्लब अफ काठमाडौँ ड्रिमसिटीले बारपाक-सुलिकोट गाउँपालिका-४, सौरपानीस्थित हिमालय माध्यमिक विद्यालयमा डेढ लाखको शैक्षिक एवम् खेलकुद सामग्री वितरण गरेको छ ।  विद्यालयमा अध्ययनरत ३२० छात्रछात्रामध्ये निवेदन आह्वान गरी १२६ जना जेहेनदार एवम् आर्थिक रूपमा विपन्न छात्रछात्राहरूलाई स्टेसनरी एवम् खेलकुद सामग्री वितरण गरेको विद्यालयका प्रधानाध्यापक ठाकुरप्रसाद पनेरूले जानकारी दिए । 'भूकम्पपछि धेरै दाताहरू केन्द्रबिन्दुतर्फ केन्द्रित हुँदा भौतिक एवम् मानवीय रूपमा क्षति बेहोरेको सौरपानीमा यस किसिमको सहयोगले हामीहरू पनि दाताका नजरमा रहेछौँ भन्ने लागेको छ’ पनेरूले भने, ‘यसले हाम्रा कलिला भाइबहिनीको भविष्य निर्माणमा सहयोग पुगेको छ ।’

लायन्स इन्टरनेसनल डिस्ट्रिक ३२५ केअन्तर्गत रहेको काठमाडौँ ड्रिमसिटीले डिस्ट्रिक र नेतृत्वले लिएको 'लिड टु चेन्ज' सङ्कल्पलाई टेवा पुर्‍याउने उद्देश्यका साथ  सामग्री वितरण गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि एवम् क्लस्टर चिफ लायन यज्ञराज पौडेलले लायन्समा लागेर यस किसिमको कर्म गर्न पाउँदा गौरव अनुभूति हुने भन्दै 'बचेको धन र बचेको समय' लाई लायन्सले राम्रोसँग सम्बोधन गर्ने बताए । कार्यक्रम संयोजक एवम् क्लबका प्रथम उपाध्यक्ष राजिन पनेरूले हिमालय माध्यमिक विद्यालय जस्ता आवश्यकतामा आधारित ठाउँमा सेवा गर्नु लायनवादको धर्म र कर्म रहेको भन्दै यसमा काठमाडौँ ड्रिमसिटी यसरी नै सेवा-कर्ममा निरन्तर लागिरहने बताए । जोन चियर पर्सन देविरमण तिवारी तथा निवर्तमान अध्यक्ष लायन राजगोपाल सापकोटाले हिमालय माविमा गर्न पाएको सेवालाई आगामी दिनमा अन्य स्थानमा पनि जोड्दै लैजाने प्रतिबद्धता व्यक्त गरे । क्लबका सचिव लायन दुर्गादत्त (डिडी) अधिकारीले गोरखा जिल्लाको ऐतिहासिक महत्त्व र त्यसमा पनि हिमालय माविको भौगोलिक स्वरूपले आफूहरूलाई काठमाडौँदेखि तानेको अनुभव सुनाउँदै मानव सेवाभन्दा ठुलो कुरा संसारमा अरू केही नभएको धारणा राखे ।

क्लबका अध्यक्ष पदमलाल तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक रमेश कोइराला, शिक्षक हरिराम ढकाल, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि एवम् वडा सदस्य सुनिता नेपालीलगायतले कार्यक्रमको औचित्य र लायनवादबारे चर्चा गरे । अध्यक्ष तिमिल्सिनाले कार्यक्रममा प्रत्यक्ष/परोक्ष संलग्न सबैमा धन्यवाद ज्ञापन गर्दै संस्थाले सेवामूलक काममा आफूलाई सदैव क्रियाशील राख्ने र आगामी दिनमा हिमालय माविमा जस्तै काम गर्ने वचनबद्धता पनि प्रकट गरे । कार्यक्रम क्लबका सचिव लायन डिडी अधिकारी र विद्यालयका नेपाली शिक्षक हरिराम ढकालले संयुक्त रूपमा सञ्चालन गरेका थिए ।

 

Post a Comment

Previous Post Next Post