सम्बोधिकाको दोस्रो संस्करण आउँदै

 


पोखरा । साहित्यकार ईश्वरमणि अधिकारीको चौथो साहित्यिक कृति ‘सम्बोधिका’को दोस्रो संस्करण माया पब्लिकेसन, काठमाडौँबाट आउने भएको छ ।

सार्वजनिक भएको केही समयमै निकै चर्चा पाएको उनको मुक्तक सङ्ग्रह ‘सम्बोधिका’लाई पाठकले निकै रुचाएका थिए । यसअघि कविता र गजलका कृति सार्वजनिक गरिसकेका डा. अधिकारी साहित्यको चोटिलो र प्रभावकारी विधा मानिने मुक्तकमा पनि उत्तिकै सशक्त छन् । विषयवस्तुको विविधता, भाव गाम्भीर्य, अनुभूतिको तीव्रता तथा काव्यिक सघनता उनका मुक्तकका विशेषता हुन् । वर्तमान समयको बिम्बलाई टपक्क टिपेर काव्यिक तथा सौन्दर्य चेतले भरिएका एक सय एघार मुक्तकहरूको सुन्दर सङ्ग्रहभित्र प्रेमिल मुक्तकका अतिरिक्त दार्शनिक, सामाजिक र राजनैतिक चेतले भरिएका मुक्तकहरू रहेका छन् । सम्बोधिकाको सार तत्त्व यथावत राखी केही प्राविधिक परिमार्जनसहित छिटै दोस्रो संस्करण माया पब्लिकेशनबाट प्रकाशन गर्ने गरी तयारी अघि बढेको अधिकारीले जानकारी दिए । कृतिको पहिलो संस्करणको प्रकाशन भने पोखरेली युवा सांस्कृतिक परिवारले गरेको थियो ।

ईश्वरमणि अधिकारी, नेपाली साहित्यमा स्थापित नाम हो । लमजुङको भारतेमा जन्मिएका अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट गणितमा विद्यावारिधि गरेका छन् । पेसाले गणितको अध्ययन-अनुसन्धान तथा प्राध्यापन कर्ममा क्रियाशील उनी नेपाली साहित्यमा कविता, गीत, गजल, मुक्तक, हाइकु, आख्यानका अतिरिक्त समालोचनाका क्षेत्रमा पनि त्यत्तिकै क्रियाशील भेटिन्छन् । उनका रचनामा भावनाको गम्भीरता, हृदयको भाषा र समयको तस्बिर पाइन्छ । झिनो तथा सामान्य लाग्ने विषयमा पनि मर्मस्पर्शी साहित्य रचना गर्नु उनको कलमको अर्को विशेषता हो ।

मुलुककै अग्रणी संस्था पोखरेली युवा सांस्कृतिक परिवारको अध्यक्ष बनेर कुशल कार्यसम्पादन गरिसकेका डा. अधिकारीका समयको तस्बिर (कविता सञ्चयन २०६१) तथा हृदयको आलाप (गजल सञ्चयन २०६६) प्रकाशित भइसकेका छन् । ‘सगरमाथा आरोही अरविन’ उनको पहिलो प्रकाशित कृति हो । नेपाली लेखक सङ्घ, लघुकथा प्रतिष्ठान तथा अन्य थुप्रै वाङ्मयिक संस्थाहरूमा आबद्ध डा अधिकारी एकताका विभिन्न एफ.एम. हरूमा साहित्यिक कार्यक्रम सञ्चालन गरेर साहित्य अनुरागीका घर घरमा गुन्जिन्थे ।

समता काव्य सम्मान, शिवपुरी साहित्य सम्मान, गजल प्रतिभा सम्मान, पत्थर गजल प्रतिभा सम्मान, झलक-पुष्पा साहित्य सम्मान, नेपाल विद्याभुषण (क) तथा थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान तथा पुरस्कारद्वारा सम्मानित डा. अधिकारीका गणितका केही पाठ्यपुस्तक तथा अनुसन्धान पत्रहरू पनि प्रकाशित छन् । साहित्यका अन्य विधाका केही कृतिहरू प्रकाशनको तयारीमा रहेको उनको भनाइ छ ।

Post a Comment

Previous Post Next Post